नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा

-


     जनहित न्युज    
     असाेज २७ गते २०७८


बङ्ग्लादेशसँग १-१ को बराबरी खेल्दै नेपाल दक्षिण एशियाली साफ फुटबलको फाइनलमा पुगेको छ। नेपाल साफ फुटबल च्याम्पियनशीपको फाइनलमा पुगेको यो पहिलो पटक हो।

सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पटक हो । फाइनलमा स्थान निश्चित गर्न जित वा बराबरी चाहिएको नेपालले नवौँ मिनेटमै गोल खाएको थियो। सुमन राजाले हेडरमार्फत गरेको गोलपछि नेपालले बराबरी गोल फर्काउन ८६औँ मिनेट कुर्नुपरेको थियो।

पेनाल्टी एरिया बाहिर आएर फल गरेपछि बंगलादेशका गोलकिपर रहमान जिकोले रातो कार्ड पाएका थिए। त्यससँगै १० जनामा सीमित भएको बंगलादेशका खेलाडीविरुद्ध नेपालले पेनाल्टी पाएको थियो। त्यसलाई अञ्जनले गोलमा परिणत गरेका हुन्।

अब फाइनलमा नेपालले भारत र माल्दिभ्समध्ये एक टिमसँग असोज ३० गते खेल्नेछ। भारत र माल्दिभ्सबीच आज पौने १० बजे प्रतिस्पर्धा हुँदैछ। यो खेलमा भारतलाई जितको विकल्प छैन भने माल्दिभ्स बराबरीले पनि फाइनलमा पुग्नेछ।

नेपाली खेलाडीले गरेका एकपछि अर्को प्रयास विफल भएपछि कतै नेपालले पुरानै इतिहास त दोहोर्‍याउँदैन भन्ने भान हुन लागेका बेला अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई हारबाट जोगाए। यो गोल नेपाललाई हारबाट जोगाउने मात्र होइन, फाइनल पुग्ने महत्वपूर्ण कडी पनि बन्यो।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको पहिलो हाफ र दोस्रो हाफको मध्यसम्म पनि नेपालका प्रयासहरू दुर्भाग्यशाली भइरहेका थिए। अघिल्ला खेलको तुलनामा आजको खेलमा खेलाडीहरूमा तालमेलको पनि कमी देखिएको थियो। नेपाल फाइनलमा पुग्नका लागि बराबरीमा रोकिनुपर्ने थियो। नेपालले पाएका थुप्रै अवसरहरू सदुपयोग गर्न सकेन।

बंलादेशले खेलको ९ मिनेटमै गोल गरेपछि नेपाल दबावमा परेको थियो भने बंगलादेशले रक्षात्मक खेलेको थियो। बंगलादेशका गोलकिपर रहमान जिकोले डिबक्स बाहिर आएर बल क्लियर गर्ने क्रममा हातमा बल ठोक्किएपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए। त्यससँगै बंगलादेश १० जनामा सीमित भएको थियो। प्रतियोगितामा नेपाल ४ खेलमा ७ अंक जोडेर पहिलो स्थानमा उक्लिएको छ।

६ अंक भएको माल्दिभ्स दोस्रो स्थानमा छ। ५ अंक जोडेको भारत तेस्रो तथा ४ अंक जोडेको बंगलादेश चौथो स्थानमा छ। नेपालले सुरुवाती दुई खेलमा लगातार जित निकालेको थियो। माल्दिभ्सलाई १-० ले हराएको नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो। तेस्रो खेलमा गत आइतबार नेपाल भारतसँग १-० ले पराजित भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?