काठमाडौँ । २१ वर्षको लक्का जवान उमेर। शंकरदेव क्याम्पसमा स्नातक पढ्दै गर्दाको जोस। त्यही जोस र सपना बोकेर ३८ वर्षअघि रोबिन शेरचन जापान उडेका थिए।
त्यतिबेला जापानमा नेपालीहरूको उपस्थिति बाक्लो थिएन, न त अहिले जस्तो सजिलो नै थियो। तर, आज तीनै रोबिन शेरचन जापानमा एक सफल व्यवसायीको रूपमा चिनिन्छन्। २७ वटा रेस्टुरेन्ट तथा बारहरूमा लगानी, होटल व्यवसाय र एनआरएनएको नेतृत्वदायी भूमिका– रोबिनको यो सफलताको कथा जति लोभलाग्दो छ, त्यति नै संघर्षपूर्ण पनि।
कल्चर स्कुलबाट सुरु भएको यात्रा
जापान पुगेपछि रोबिनले सुरुमा भाषा पढे र विभिन्न ठाउँमा काम गरे। सन् १९९५ उनका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो। उनले बेलायतबाट फर्किएकी एक जापानी युवतीसँग मिलेर ‘कल्चर स्कुल’ सुरु गरे। त्यतिबेला जापानीहरू विदेश घुम्न जाने र विदेशीहरू जापान आउने क्रम बढ्दो थियो।
“हामीले सीपमूलक तालिमसहितको स्कुल राम्रोसँग चलायौं,” रोबिन सम्झिन्छन्। उनीहरूले अंग्रेजी भाषामा १०–१२ पानाको साप्ताहिक बुलेटिन पनि निकाल्थे, जसले उनलाई पर्यटन क्षेत्र बुझ्ने मौका दियो। यही सहकार्यका बीच व्यावसायिक साझेदार ती जापानी युवतीसँग रोबिनको विवाह भयो।

श्रीमतीको वियोग र व्यवसाय विस्तार
जीवन सधैं सोचेजस्तो सरल रेखामा हिँड्दैन। सन् २००७ मा क्यान्सरका कारण उनकी श्रीमतीको निधन भयो। श्रीमतीको वियोगपछि उनले कल्चर स्कुल बेचे, तर हिम्मत हारेनन्।
पहिलो रेस्टुरेन्ट टोकियोको आकासाकामा खोलेका रोबिनले त्यसपछि सिन्जुकुमा ‘फुडकोर्ट’ शैलीको रेस्टुरेन्ट सञ्चालनमा ल्याए। जहाँ थाई, सिंगापुरियन, टर्किस, मलेसियन, जापानी र नेपाली लगायतका परिकार पाइन्थ्यो।
“त्यो रेस्टुरेन्ट राम्रोसँग चलेपछि थप ऊर्जा आयो,” उनी भन्छन्। त्यसपछि उनले इटालियन रेस्टुरेन्ट, बार र जापानी भट्टी ‘इजाकाया’ खोल्ने क्रम रोकेनन्। १०८ देशका बियर पाइने बारदेखि स्न्याक्स रेस्टुरेन्टसम्म गरी हाल उनको एकल तथा साझेदारीमा २७ वटा आउटलेट सञ्चालनमा छन्।
नेपालमा ‘हिडेन इन्भेस्टमेन्ट’ र घरको याद
मुस्ताङमा जन्मिएर पोखराको गण्डकी बोर्डिङ स्कुलबाट २०४० सालमा एसएलसी दिएका रोबिनको परिवार नै व्यवसायमा थियो। उनका बुबाले भैरहवा हुँदै काठमाडौँको ठमेलमा होटल र हङकङमा व्यवसाय गरेका थिए।
जापानमा जमेका रोबिनले नेपाललाई भने बिर्सेका छैनन्। “नेपालमा मैले नदेखिने गरी (साइलेन्ट) रेस्टुरेन्ट, हाइड्रो र रियल–इस्टेटमा लगानी गरेको छु,” उनी खुलाउँछन्। आमा काठमाडौँमा भएको र बुबाको देहावसान भइसकेकाले अब उनी नेपालमै केही गर्ने सोचमा छन्। “अब नेपाल आउन मन लागिरहेको छ, यहाँ के गर्ने भनेर अनुसन्धान गरिरहेको छु,” उनले भने।

सामाजिक सेवा र एनआरएनए
व्यवसायसँगै समाजसेवामा उत्तिकै सक्रिय रोबिन गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष हुन्। विगत १५ वर्षदेखि सामाजिक काममा सक्रिय उनी विभिन्न च्यारिटी कार्यक्रमहरूमा सहयोग गर्छन्। जापानमा नेपालीको संख्या बढेसँगै समस्या पनि बढेको उनको बुझाइ छ।
नयाँ पुस्तालाई सुझाव: ‘नबुझी हाम नफालौं’
जापान आउन चाहने नेपाली युवाहरूलाई रोबिनको विशेष सुझाव छ– “धेरै नेपालीहरू नबुझी हाम फाल्छन्। जापान आउनुअघि भाषा, सीप र यहाँको अनुशासन बुझ्न एकदमै जरुरी छ।”
उनका अनुसार जापान सरकारले पछिल्लो समय नियम कडा बनाएको छ। कर छली गर्ने वा अनुशासनमा नरहनेहरूलाई यहाँ टिक्न गाह्रो छ। १२ कक्षा पास गरेर भन्दा स्नातक सकेर आउँदा अवसर र स्थायित्व दुवै राम्रो हुने उनको अनुभव छ।
“जापानीहरू चर्को स्वरमा, रुखो र अभद्र बोलेको मन पराउँदैनन्,” सफल व्यवसायी रोबिनको मन्त्र छ, “सीप र अनुशासन नै जापानमा सफलताको चाबी हो।”



