
माउन्ट फुजी र सगरमाथालाई जोड्ने परियोजनाअन्तर्गत जापानको फुजिनोमिया सहरमा सगरमाथा हिमाल र त्यस क्षेत्रका जातीय अल्पसंख्यकहरूको जीवनशैली झल्कने खालको फोटो प्रदर्शनी गरिएको छ ।

सो प्रदर्शनी फोटोग्राफर तथा परियोजनाका प्रतिनिधि तोशिहिको कावागुचीले संकलन गरेका तस्विरहरू माउन्ट फुजी र सगरमाथाको फेदमा बसोबास गर्ने मानिसहरूबीचको अन्तरसम्बन्ध झल्काउने र सो क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको हो ।

नेपाली राजदूतावास, टोकियो र फुजिनोमिया सिटीद्वारा संयुक्त रुपमा आयोजित सगरमाथा फोटो प्रदर्शनीमा कावागुचीले ६ महिना नेपाल बसाईको अवधिमा संकलन र खिचेका सगरमाथाको राजमार्ग भनिने हिमालको फेदमा रहेको क्षेत्रका ७४ वटा तस्बिरहरू प्रदर्शनमा राखिएका थिए ।

जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी र फुजिनोमिया सिटीका मेयर हिदेतादा सुदोद्वारा संयुक्त रूपमा उद्घाटन भै गत शानिवार अर्थात् अक्टोवर ८ तारिक प्रदर्शनीमा राखिएका सगरमाथा सम्बन्धी फोटोहरू मध्ये सगरमाथाको शिखरको क्लोज-अप फोटोले स्पष्ट रूपमा पहेंलो ब्यान्ड भनिने स्ट्र्याटमलाई कैद गरि विभिन्न रंगहरूमा राखिएको थियो ।

साथै चिसो पहाडमा पानी लिन गएकी ४ वर्षकी शेर्पा बालिकाको तस्बिरले बालकले पनि पानी ल्याउने काम कसरी गरिरहेको छ भन्ने त्यहाको जीवनशैलीलाई पनि सजीव रूपमा देखाउने प्रयास गरिएको छ।

सो प्रदर्शनीमा जापानी भाषा अध्ययनरत जापानका विभिन्न विद्यालयका नेपाली विद्यार्थीहरुद्वारा प्रस्तुत मौलिक नेपाली नृत्य जस्ता गतिविधिहरु प्रस्तुत गरेपछि नेपालको भ्रमण गर्नका लागि र सांस्कृतिक अनुभवहरू आदानप्रदान गर्न नेपाल भ्रमण गर्नका लागि राजदूत डा. सुवेदी जापानी नागरिकहरूलाई आग्रह गरेका थिए ।

फोटो ग्राफ़र कावागुचीले भने”भविष्यमा म एकअर्काको संस्कृति फैलाउने आधार सिर्जना गर्न चाहन्छु र विद्यालयहरूलाई एकअर्कासँग अन्तरक्रिया गर्न अनुमति दिने गतिविधिहरू सञ्चालन गर्न चाहन्छु।”


यो फोटो प्रदर्शनी अक्टोबर १५ सम्म माउन्ट फुजी इन्भाइरोमेन्टल एक्सचेन्ज प्लाजामा समेत आयोजना गरिने बताईएको छ ।







