
कालीकोटमा पहिरोमा परेर एक जना प्रहरी जवानसहित २२ जना बेपता भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ४ राँचुलीका १३ जना मलामीबाट घर फर्किँदै गर्दा पहिरोमा पुरिएका बेपता भएका हुन् भने एक जना प्रहरी जवान खोला तर्ने क्रममा बगेर बेपता भएका हुन् ।
नगरपालिकाका एक हेमराज शाहीको निधनपछि तिला नदीमा अन्तिम दाससंस्कारका लागि गएका एकै गाउँका १३ जनालाई पहिरोले छोपेको स्थानीयलाई उदृत गदै प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डिएसपी जयस्वर रिमालका अनुसार प्रहरी घटनास्थलमा पुग्न नसकेकाले यकिन भन्न नसकिएको तर स्थानीयले १३ जना घर नफर्केकाले सबै बेपता भएको जानकारी आएको बताए ।

यस्तै, आइतबार बिहान १० बजे तिलागुफा नगरपालिका वडा नं ७ का धुर्वराज बिष्टको घर पहिरो पुरिँदा उहाँसहित श्रीमती, छोरा बुहारी र छोरी गरी पाँच जना बेपता भएको कालिकोट स्थित गोरखापत्र कर्मी प्रेमराज सिम्खडाले आफ़नो समाचारमा उल्लेख गरेका छन ।
बेपता हुनेहरुमा धुर्वराज बिष्ट, उहाँकी श्रीमती वर्ष ३५ की ममता बिष्ट, १५ वर्षका छोरा भरत बिष्ट, १३ वर्षीया छोरा कृपेश बिष्ट र ११ वर्र्षीया छोरी ज्यानी बिष्ट बेपता भएका छन् ।
यस्तै, वडा नं ६ को भैँसीगौडामा जोरा सिहं शाहीको घर पहिरोले पुरिँदा उहाँको ८० वर्षीया आमा लालकला शाही बेपता भएका हुन ।
सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका वडा नं ८ मा वर्ष १४ का केवल केसी र पचालझरना वडा नं ७ का वर्ष ४७ पुरीलाल बोहोरा पनि बेपता भएका छन् ।
पानी नरोकिएका कारणले प्रहरी घटनास्थलमा जान नसकेको र आज हल्का पानी रोकिएकाले दुवै तर्फबाट प्रहरी परिचालन गरिएको भए पनि घटनास्थल पुग्न अझै नसकेको बताए ।

यस्तै, जुम्ला घर बिदावाट फर्किँदै गरेका प्रहरी जवान पदम रावत टाकुल्ला खोलामा बगेर बेपता भएका छन । दशैँ मनाउन घर बिदा जानुभएका रावतसहित तीन जना प्रहरी पैदल जुम्लाबाट सुर्खेत तर्फ फर्किँदै गरेका र खाँडाचक्र नगरपालिका वडा नं ८ को एक खोला तर्ने क्रममा बेपता भएका हुन ।
यस्तै जिल्ला सदरमुकाम मान्म बजारका २५ घर पहिरोको जोखिममा छन् भने रास्कोट नगरपालिका वडा नं ३ को साँगाटिया गाउँका १५ घर परिवार बिस्थापित भएका छन् ।



