काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले ओलीको सासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको बताएका छन् ।
१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए ।
‘म प्रधानमन्त्री भएका दिन जनताले मुक्ति पाए। ओलीको शासनबाट मुक्ति पाए’, उनले भने, ‘हाम्रा अगाडि अब जुन मुक्ति पाएका छौँ, बचाउने कि नबचाउने भन्ने छ।’
देउवाले कांग्रेसको महाधिवेशनबाट आफूले जितेपछि डर त्रासमुक्त समाज बन्ने पनि बताए।
‘यो महाधिवेशनले नेपाललाई डर त्रासबाट मुक्त समाज बनाउनेछ’, उनले भने, ‘तानाशाही सरकार नआओस् भन्न यो महाधिवेशनले निर्णय गर्नुपर्छ।’
उनले आउँदो चुनावमा गाउँदेखि केन्द्रसम्म बहुमत ल्याउने जिम्मा पनि आफ्नो भएको बताए। ‘आउँदो सरकार गाउँदेखि माथिसम्म बहुमत ल्याउने जिम्मा मेरो भयो’, उनले भने, ‘कांग्रेसको सरकार रहिरहे राष्ट्रिय सरकार र स्थानीय सरकार रहनेछ। कुनै हालतमा डर त्रासमुक्त शासन ल्याएर छाडिन्छ।’
उनले आफूलाई जिताएमा ओली जस्ताको तानाशाही शासनबाट देशले मुक्ति पाउने पनि बताए। ‘मलाई जिताउनुस्, ओली जस्ता तानाशाही शासनबाट देशलाई मुक्त गरिन्छ। कांग्रेसको सरकार बनाइन्छ, बनाइन्छ, बनाइन्छ।’
उनले निकट भविश्यमा हुन लागेका तीनवटै तहको निर्वाचनमा बिजयी बन्न पनि कांग्रेस मिलेर जानुपर्ने बताए ।
उनले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफूलाई जिताउन आग्रह गरे ।
‘कांग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ त्यसकारण मलाई जिताइदिनुस् साथीहरु’, देउवाले संक्षिप्त मन्तव्यका क्रममा भने ।