आत्महत्या गर्नुअघि आफूलाई बाँच्न मन नलागेको कसै न कसैलाई भनेका हुन्छन् (भिडियो अन्तर्वार्ता)

-


     जनहित न्युज    
     असाेज २३ गते २०७८


प्रत्येक वर्ष संसारभर झण्डै आठ लाख मानिसको मृत्युको कारण हो, आत्महत्या । यसको अर्थ प्रत्येक ४० सेकेण्डमा संसारमा एक जनाको मृत्यु आत्महत्याको कारण भइरहेको छ । त्यसमा पनि !५ देखि २४ वर्षको उमेर समूहको मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मनोविद् करुणा कुँवरसँग सविना देवकोटाले गरेको कुराकानी :

के कारण मान्छेले आत्महत्या गर्छ ? 

‘ह्याँ  मर्न पाएपनि हुन्थ्यो !’

यसो विचार गर्दा जीवन के रहेछ र ? ब्यर्थै रहेछ । मर्न पाए पनि हुन्थ्यो भनेर कहिलेकाहीँ मनमा आउनु त्यति अस्वाभाविक भने होइन । तर यही सोच  बारम्बार लामो समयसम्म आइरह्यो अनि कुन बेला मर्न पाएँ हुन्थ्यो भन्ने सोच्दै उसले योजना पनि बनाउन थाल्यो भने चाहिँ समस्या बनिदिन्छ । रोग बनिदिन्छ । 

त्यसैले छोटो समयका लागि यो दिक्दारी आइरहेको छ कि लामो समयसम्म बारबार यो सोच आइरहेको छ, यो बुझ्न अत्यन्तै जरुरी छ । 

आत्महत्या गर्ने जोखिम भएकाहरूमा के कस्ता लक्षणहरू देखिन्छन् ?

विशेषगरी आत्महत्या गर्ने मानिसहरूमा दिक्दारीको लक्षण नै बढी देखिन्छ । दिक्क मान्नु, दैनिक गरिरहेको काममा रुचि नहुनु, आफ्नो सरसफाइ, खानपिनमा पनि ध्यान नपुग्नु, लथालिङ्ग हुनु, झर्को लाग्नु, रिस उठ्नु, निद्रामा गडबडी हुनु लगायतका लक्षण देखिन्छन्। यी लक्षणहरू चाहिँ जुनसुकै उमेर समूहमा पनि देखिन्छ । चाहे त्यो बालबालिकामा नै किन नहोस् ! युवायुवती होस् या वृद्धवृद्धा नै किन नहोऊन् । त्यसकारण आत्महत्या गर्नेहरूमा जति पनि लक्षण देखिन्छन्, कुनै पनि उमेर समूह, समय र आर्थिक स्थिति कमजोर भएको व्यक्तिमा देख्न सकिन्छ । 

हुन त आत्महत्या भन्ने जुन समस्या छ, यो समस्या मान्छेको उत्पत्तिदेखि नै देखिँदै आएको रोग हो । यद्यपि अहिले आएर आत्महत्या गर्ने क्रम बढ्दो छ । बढ्दो क्रममा देखिनुको कारण किन पनि हो भन्दा एकातिर मानसिक स्वास्थ्यबारे जनचेतना एकदमै कम हुनु, अर्कोतिर लागू पदार्थलगायत रक्सी सेवनको दुर्व्यसनी बढ्नु, बालबालिकामा हुने यौन हिंसाका कारण पनि आत्महत्या बढेको पाइन्छ । तर मुख्यतः आत्महत्याको कारण भनेको डिप्रेसन नै हो । 

आत्महत्याको संख्या प्रत्येक वर्ष बढ्दै गरेको देखिन्छ । विश्वमा मात्रै होइन नेपालमै पनि विगतको आर्थिक वर्षमा हेर्ने हो भने ६ हजार मानिसले आत्महत्याबाट ज्यान गुमाएका थिए । हाल आएर सो संख्या ७ हजार पुगेको छ । विश्वमा पनि यो तथ्यांक बढेको देखिन्छ । यसले मानसिक स्वास्थ्यप्रति हाम्रो बेपर्वाह देखाउँछ ।

आत्महत्या गर्ने जोखिम समूह कुन उमेर समूह, लिङ्ग वा परिस्थति हो ? 

यही उमेर समूहमा भन्ने नै हुँदैन । सबैमा जोखिम देखिन्छ । बालबालिकामा पनि देखिन्छ । 

आफ्नो मान्छे, घरपरिवार र साथीभाइ कोही आत्महत्या गर्ने जोखिममा छ छैन कसरी थाहा पाउने  ? 

सर्वप्रथम त उसले गर्दै आएको दैनिक क्रियाकलापमा रुचि ह्वात्तै घटेको देखिन्छ । कहिलेकाहीँ कार्यक्षमतामा कमी आएको हुनसक्छ । अथवा उसको उपलब्धि नभएको हुनसक्छ । खानपिन, निद्रामा गडबडी अवश्य पनि आएको हुन्छ । दिक्क मानेर बस्ने र रमाइलो गर्न मन नलागेको जस्तो गरी बस्ने परेको हुनसक्छ । र, सबैभन्दा महत्त्वपूर्ण कुरा आत्महत्या गर्ने अधिकांशले कुनै न कुनै बेला आफू मर्ने कुरा कसै न कसैसँग गरेको पाइन्छ । त्यसैले यस्ता लक्षण र अभिव्यक्ति देखिएको खण्डमा चाहिँ घरपरिवार र साथी विशेष सचेत र गम्भीर हुनुपर्छ । 

हाम्रो संस्कार, संस्कृति अनि सामाजिक परिवेशमा चाहिँ गलत धारणा व्याप्त छन् । जसले आत्महत्याको अभिव्यक्ति गर्छ, त्यो व्यक्तिले चाहिँ आत्महत्या गर्दैन भन्ने खालको गलत बुझाइ भएर पनि हामीले धेरै मानिस आत्महत्याका कारण गुमाएका छौँ । आत्महत्याका घटना भएका परिवारका सदस्यसँग कुरा गर्दा अधिकांशले भन्ने गर्छन्, ‘हामीलाई पहिला भन्नु पनि भएको हो । तर हामीलाई विश्वास ने लागेन ।’ 

त्यसैले आत्महत्या गर्नेहरूले कहीँ न कहीँ आफूलाई बाँच्न मन नलागेको कुरा व्यक्त गरेको पाइन्छ । 

उनीहरूलाई कसरी सहयोग गर्न ?

सर्वप्रथम त आत्महत्या भन्ने बित्तिकै मान्छेले केही गम्भीर समस्या भएर नै गरेको हो भन्ने बुझ्न आवश्यक छ । यदि कसैलाई बारम्बार आत्महत्या गर्ने सोच आइरहन्छ, योजना बनाइरहन्छ र आत्महत्या गर्ने प्रयास गर्ने गरेको छ भने उसलाई तुरुन्त उपचारको जरुरी हुन्छ ।  उसले उपचार पद्धति नै अपनाउनुपर्ने हुन्छ । उपचार पद्धतिमा औषधि सेवन पनि पर्न सक्छ, परामर्श पनि पर्न सक्छ । छिटोभन्दा छिटो विशेषज्ञहरूको सहयोग लिन जरुरी हुन्छ । शारीरिक चोट स्पष्ट देखिन्छ । तर मानसिक स्वास्थ्य त देखिँदैन । त्यसैले, मानसिक स्वास्थ्यबारे चर्चा गर्न जरुरी छ । 

मानसिक स्वास्थ्यको विषयलाई सामान्यकरण गर्न एकदमै जरुरी छ । बालबालिकाको मानसिक स्वास्थ्यबारे बेलैमा सचेत हुने हो भने मात्रै ऊ भोलिका दिनमा उपलब्धिमुलक जीवन बाँच्न सक्छ । उनीहरूलाई दिनुपर्ने समय, हेरचाहमा कमी हुनुहुँदैन । बालबालिकामा पनि डिप्रेसनको समस्या छ । 

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणले पनि ६.५ प्रतिशत मानिस आत्महत्याको जोखिममा रहेको देखाएको छ । यो निकै नै गम्भीर तथ्यांक हो । त्यसैले सरकारले पनि यसलाई नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने हुन्छ । यसमा चाहिने जत्ति बजेट छुट्टयाउनु पर्छ ।

हेर्नुस् भिडियो :

https://youtu.be/wulTL4_WD6Q

शिलापत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?