नेपाल समाज र एनआरएनए कोष्टाब्लाङ्काद्वारा भूकम्प पिडितलाई राहत दिन सहयोग अभियान संचालन

-


     घनश्याम गौतम     
     कार्तिक २२ गते २०८०


स्पेनको कोष्टाब्लाङ्कामा स्थापित प्रवासी नेपालीहरुको संस्था नेपाल समाज एसोसिएसन र गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति कोष्टाब्लाङ्काले भूकम्प पिडितको राहत र उद्धारका लागि राहत सहयोग संकलन अभियान संचालन गरेको छ।
पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार गत राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि आर्थिक सहयोग संकलन गर्न लागेको नेपाल समाज एसोसिएसनका अध्यक्ष नवराज दुवाडिले जानकारी दिनुभयो ।
“यस दुःखद् घडीमा भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत दिने उद्धेश्यले सहयोग अभियान संचालन गरिएको अध्यक्ष दुवाडिले बताउनुभयो ।
त्यस्तै तत्कालै यो अभियानबाट संकलित रकम नेपाल सरकारसँगको समन्वय र सहयोगमा वास्तविक पीडित परिवारका लागि उपलब्ध गराइने एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लाङ्काका अध्यक्ष सुरेश बज्राचार्यले बताउनुभयो ।
प्रवासमा रहेका हामी नेपालीलाई नेपालमा परेको दैविप्रकोप लगायतका घटनाले दुखित बनाएको बताउदै दुखको क्षणमा आफूले सक्दो सहयोग गर्नु कर्तव्य सम्झिएर अभियान संचालन गरेको बज्राचार्यले बताउनुभयो । नेपाल समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लाङ्काले सयुक्त रुपमा सहयोग अभियान संचालन गरि प्रभावितलाई सहयोग गरिने मंगलबार प्रकाशित एक बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ मलमपट्टी लगाउन र उहाँहरुको दुःखमा हामीहरू समेत साथमा छौ भन्नका लागि भूकम्प पीडित राहत सहयोग संकलन अभियान सञ्चालन गरिएको समाजले जनाएको छ । उक्त अभियानमा सक्रियतापूर्वक सहभागिता जनाउन स्पेनस्थित संघ संस्था, व्यवसायी, नेपाली नागरिक सम्पूर्णमा विषेश अग्रह गर्दछौं उल्लेख गरिएको छ ।
कार्तिक १७ गतेका दिन राति ११ बजेर ४७ बजे कर्णाली प्रदेश जाजरकोट जिल्लाको बारेकोट गाँउपालिका वडा नं. १ रामीडाँडा केन्द्रविन्दु बनाई आएको ६ दशमलव ४ रेक्टर स्केलको विनासकारी भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम र सल्यान लगायतका जिल्लामा सयौंको ज्यान जानुका साथै हजारौ घाइते भई ठूलो मात्रामा भौतिक क्षति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?