
कोभिड-१९ को महामारीका कारण संकटमा परेका साना व्यवसायहरूका लागि जापान सरकारद्वारा प्रदान गरिएको ठूलो मात्राको आर्थिक अनुदान सहायता रकम ठगी गरेर फरार रहेका एक जापानी अभियुक्त पक्राउ परेका छन ।
अनुदान सहायता रकम प्राप्तिका लागि गलत कागजात(रसिद) बनाउने मध्यका मुख्य नाइके ४७ वर्षीय मित्सुहिरो तानिगुचीलाई मङ्गलबार राति मध्य इन्डोनेसियाको सुमात्रा टापुको दक्षिणी छेउमा रहेको लाम्पुङ जिल्लाको कालिरेजो गाउँबाट अध्यागमन अधिकारी र स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरिएको राष्ट्रिय प्रहरीका प्रवक्ता देदी प्रसेत्योले जानकारी दिए ।

उनको पहिचान पुष्टि हुने बित्तिकै टोकियो प्रहरीले उनलाई जापान स्थानान्तरणको तयारी गर्ने योजना बनाएको छ ।
तानिगुचीलाई जापानी प्रहरीले महामारीको अनुदान सहायता रकममा गलत कागजात(रसिद) तयार पारी सरकारी निकायमा २०२० अक्टोबरमा पेश गरि आर्थिक सहायता लिइ जापान छाडेर इन्डोनेसिया गएको प्रहरी प्रवक्ता प्रसेतोले बताए ।
तानिगुची र उनको नजिकको चिनजानको समूहले गलत काग़ज़ात तयार गरि कोभिड-१९ को संकटमा परेका साना व्यवसायहरूका लागि जापान सरकारद्वारा प्रदान गरिएको राहत कोषका लागि लगभग १ हजार ७ सय झूटा आवेदनहरू बुझाइ करिब ९ सय ६० मिलियन येन भन्दा बढि अनुदान प्राप्त गरेको विश्वास टोकियो महानगरीय प्रहरी विभागले गरेको छ ।

प्रहरीका अनुसार तानिगुचीको पक्राऊको लागि कुनै रेड नोटिस जारी नभएको तर इन्डोनेसियाली इलाकामा प्रवेश गरेदेखि उनको अवस्था पत्ता लगाउन अध्यागमनसँग समन्वय गरेर सूक्ष्म रूपमा निगरानी राखेर सक्रियपूर्वक कदम चालेकोले पक्राऊ गर्न सफल भएको बताए।
“जापानी अधिकारीहरूले उनको राहदानी खारेज गरेपछि इन्डोनेसियामा उनको उपस्थिति अवैध भयो,” प्रसेतोले भने- तानिगुचीलाई अध्यागमन निर्देशनालयको सुपरिवेक्षण र प्रवर्तन विभागलाई सुम्पिएको छ र अधिकारीहरूले जापानी कूटनीतिज्ञहरूसँग निर्वासन प्रक्रियाको लागि समन्वय गरिरहेका छन्।मुद्दाको विवरण इन्टरनेशनल क्रिमिनल पुलिस अर्गनाइजेसन (आईसीपीओ) मा पठाइँदै थियो।

टोकियो प्रहरीले प्रहरीले ४७ वर्षीय मित्सुहिरो तानिगुचीका पूर्व श्रीमती ४५ वर्षीया री तानिगुची, कम्पनीका कार्यकारी अधिकृत (जसको पेशा अज्ञात छ) उनका जेठो छोरा २२ वर्षीय डाईकी, र दोस्रो छोरा २१ वर्षीयलाई मे ३० मा ठगीको आशंकामा गिरफ्तार गरेको थियो र टोकियोको MPD ले उनलाई अन्तर्राष्ट्रिय वान्टेड सूचीमा राखेको जापानी अखबार द माइनिची शिम्बुनले जनाएको छ।ती तीन जनाले जुन देखि अगस्ट २०२० सम्ममा कोभिड-१९ को अनुदानमा सरकारलाई ३० लाख येन ($ 22,500) ठगी गरेको आशंका गरिएको छ।

अगस्ट २०२० मा अनुदान प्रस्तावका लागि आवेदन प्राप्त गरेपछि सरकारी कार्यालयले टोकियो प्रहरीसँग परामर्श गरेपछि यो गलत धन्दाको योजनाको पर्दाफास भएको थियो । मित्सुहिरो तानिगुची अक्टोबर महिनामा जापानबाट इन्डोनेसियाको लागि प्रस्थान गरेको प्रहरीले जनाएको छ ।
सामूहिक रूपमा गलत कागजात तयार गरि अनुदान ठगीको सबैभन्दा ठूलो घटना हुनसक्ने प्रहरीले आशंका गरेको छ।
यो पनि हेर्नुहोस



