
जापानका प्रधानमन्त्री फुमिओ किशिदाले देशको प्रतिक्षाका लागि सैन्य क्षमता बढाउने प्रतिज्ञा गरेका छन्। चीन र उत्तर कोरियासँग अनपेक्षित खतरा रहेको भन्दै उनले देशको रक्षा क्षमता बढाउने प्रतिज्ञा गरेका हुन्।
‘जापानका जनताको जीवन र जीविकोपार्जनको रक्षाका निम्ति हामीले दुस्मनविरुद्ध आक्रमण गर्ने क्षमतासहितका हातहतियार र उपकरण, हाम्रो प्रतिरक्षा क्षमताको लागि सैनिकको क्षमता बढाउने छौं,’ स्थानीय मिडियासमक्ष उनले भनेका छन्।
दोस्रो विश्व युद्धपछिको शान्तिवादी संविधानले रक्षा र सैन्य क्षमता वृद्धि गराउनमा रोक लगाएको थियो। जापानको रक्षा क्षमता बढाउन अमेरिकाले सघाउन सक्ने र प्रधानमन्त्रीको सो उद्घोषले जापानको सैन्य आकारमा परिवर्तन ल्याउनसक्ने बताइएको छ।
देशमा रक्षा र सैन्य क्षमता बढाउन जापान सरकारले तीनवटा मुख्य राष्ट्रिय रक्षा नीतिमा भर पर्ने र फेरबदल ल्याउन एक वर्षभित्रमै गृहकार्य गर्नुपर्ने किशिदाले बताएका छन्।