८८ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्दै देउवा

-


     जनहित न्युज    
     असाेज २२ गते २०७८


८८ दिनपछि बल्ल प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पूर्ण आकारको मन्त्रिपरिषद् विस्तार आज गर्दैछ ।

गठबन्धनमा बिहीबार बनेको सहमतिअनुसार आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । मन्त्रीको शपथ अपराह्न ४ बजे गर्ने तयारी छ । त्यसअघि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले मन्त्री हुनेको नाम टुंग्याउँदैछन् ।

मन्त्रिपरिषदमा गठबन्धनको पाँच घटकमध्ये चार घटक समेटिने छन् । सत्ता नेतृत्व दल कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित मन्त्रिपरिषद् विस्तार हुने भएको हो । राष्ट्रिय जनमोर्चाको समर्थन मात्रै रहने छ ।

प्रमुख विपक्षी दलले मात्रै होइन, सत्ता गठबन्धनभित्रै मन्त्रिपरिषद् विस्तार हुन नसकेकोप्रति आलोचना हुँदै आएको थियो । 

बालुवाटारमा बिहीबार भएको सहमितअनुसार कांग्रेसले ८, माओवादी केन्द्रले ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश निस्क्रीय कि फिर्ता भन्ने विवादले शुरुवातमा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएकोमा पछिल्लो पटक मन्त्रालय भागवण्डाले गठबन्धनमा सकस भएको थियो ।

मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाएको नेकपा एकीकृत समाजवादीले दुई राज्यमन्त्रीसहित ४ मन्त्रालय र २ मुख्यमन्त्री पाउने भएपछि उसको असन्तुष्टि हटेको छ । समाजवादीलाई शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय दिइएको छ ।

जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा वातावरण पाउने भएको छ ।

कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधिसहितका मन्त्रालय पाएको छ ।

नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ ।

असार २९ गते गठबन्धनबाट प्रधानमन्त्री बनेका देउवाले ८८ दिनसम्म पाँच मन्त्री र एक राज्यमन्त्रीका भरमा सरकार चलाउदै आएका थिए ।

यी सांसदहरू बन्दैछन् मन्त्री 

    २० असोजमा माओवादीबाट मन्त्रीका लागि देबेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराध र बोधमाया यादव छनोट । पौडेलले शिक्षा, शशीले भूमि सुधार, महेश्वरजंगले खानेपानी मन्त्रालय सम्हाल्ने चर्चा । बोधमायाको टुंगिन बाँकी 

    नेपाली कांग्रेसबाट डा. मिनेन्द्र रिजाल रक्षा, दिलेन्द्रप्रसाद बढु कानुनमन्त्री बन्ने निश्चित, उमाकान्त चौधरीको टुंगिन बाँकी 

    नेकपा (एस) बाट रामकुमारी झाँक्री स्वास्थ्य, विरोध खतिवडा सहरी विकास, किसान श्रेष्ठ श्रम तथा रोजगार, प्रेम आले पर्यटन र भवानी खापुङ राज्यमन्त्री बन्ने 

    जसपामन्त्री बन्नेहरूमा राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने भएका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?