
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज पद्मा अर्यालले सरकार निर्वाचनबाट पन्छिन नमिल्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्रको खिलापमा हुने उल्लेख गर्नुभयो । उहाँले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गर्नुभयो ।
“संविधान, कानूनले तोके अनुसार बेलैमा निर्वाचन हुनुपर्छ, स्थानीय तह पदाधिकारीविहीन स्थितिमा रहन सक्दैन, अर्को कुनै संरचनाले स्थानीय तहको अधिकार प्रयोग गर्न सक्ने परिकल्पना संविधानले गरेको छैन”, नेतृ अर्यालले भन्नुभयो ।
उहाँले समयमा निर्वाचन नहुँदा देशमा सङ्कट उत्पन्न हुने र लोकतन्त्र खतरामा पर्ने धारणा राख्नुभयो । सचिव अर्यालले संविधानको कार्यान्वयनमा कुनैपनि पक्षबाट आलटाल गरिए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने बताउनुभयो । “संविधानअनुसार देश चल्ने हो, हामीले संविधानलाई चलाउने होइन”, उहाँले भन्नुभयो ।



