जापानमा विदेशी चालक अनुमति पत्र परिवर्तन प्रक्रियामा कडाइ: उत्तीर्ण दर ४० प्रतिशतमा खुम्चियो

-


     जनहित न्युज    
     फागुन २० गते २०८२


जापानमा विदेशी चालक अनुमति पत्रलाई जापानी अनुमति पत्रमा परिवर्तन गर्न लिइने ट्राफिक नियम सम्बन्धी लिखित परीक्षाको उत्तीर्ण दरमा उल्लेख्य गिरावट आएको छ।

नेशनल पुलिस एजेन्सीले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत अक्टोबरदेखि परीक्षा प्रणालीमा गरिएको कडाइका कारण उत्तीर्ण दर करिब ९० प्रतिशतबाट घटेर ४२.८ प्रतिशतमा झरेको छ। नयाँ व्यवस्था लागू भएपछि लिखित परीक्षामा प्रश्नहरूको सङ्ख्या १० बाट बढाएर ५० पुर्‍याइएको छ भने उत्तीर्ण हुनका लागि ल्याउनुपर्ने न्यूनतम अङ्क ७० प्रतिशतबाट बढाएर ९० प्रतिशत कायम गरिएको छ।

लिखित परीक्षासँगै प्रयोगात्मक अर्थात् ‘ट्रायल’ परीक्षामा पनि कडाइ गरिएको छ जसका कारण सन् २०२४ मा ३०.४ प्रतिशत रहेको उत्तीर्ण दर अहिले १३.१ प्रतिशतमा झरेको छ। विशेष गरी मोडहरूमा गरिने गल्तीहरूमा कडाइका साथ अङ्क काट्ने नियम बनाइएको छ। एजेन्सीका अनुसार गत अक्टोबरदेखि डिसेम्बरसम्म कुल २७ हजार ३ सय ५४ जनाले लिखित परीक्षा दिएकोमा ११ हजार ७ सय १६ जना मात्र सफल भएका छन्।

जापानमा विदेशी चालकहरू संलग्न रहेका गम्भीर र घातक सडक दुर्घटनाहरूको सङ्ख्या लगातार तेस्रो वर्ष बढेर गत वर्ष ५८७ पुगेपछि सरकारले यो कठोर कदम चालेको हो।

तथ्याङ्क अनुसार यी दुर्घटनाहरूमध्ये करिब ३० प्रतिशत दुर्घटना विदेशी अनुमति पत्र परिवर्तन गरी जापानी अनुमति पत्र प्राप्त गरेका चालकहरूबाट भएको पाइएको छ। सडक सुरक्षालाई थप मजबुत बनाउन र दुर्घटना न्यूनीकरण गर्नका लागि नै परीक्षा प्रणालीलाई परिमार्जन गरी कडा बनाइएको जापानी अधिकारीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?