प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीबाट निर्देशन भएको छ अब एक/ दुई दिनमा प्रक्रिया शुरू हुन्छ ।
मंगलबार ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवालाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेकी थिइन् । त्यसपछि देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्तिको प्रक्रिया थाल्न निर्देशन दिएका थिए ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन् ।
विगतमा लोडसेडिङ्ग हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरी चर्चामा आउनु भएका घिसिङ एक वर्ष अघि चार वर्षे कार्यकाल पूरा गरी प्रमुख कार्यकारीबाट अवकाश भएका थिए ।