घन, छिनो र साबेलले ठूला-ठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आँङ नै सिरिंङ हुने भीर, त्यो भन्दा तल रिंगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी । माथि उस्तै अजंगको चट्टानी पहरो । यो अवस्था हिमालपारीको जिल्ला मनाङ जाने सडकको हो ।
उतिबेला अहिले जस्तो डोजर र एस्काभेटर चलाएर सडक बनाइँदैनथ्यो । साँघुरो कच्ची सडक, हरेकपटक जोखिम मोल्नुपर्ने अवस्था । ठाउँठाउँमा बगेको पहिराका कारण थप जोखिमपूर्ण यात्रा । अहिले वर्षाको समयमा यही जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्रु यात्रा गर्न बाध्य छन् । यही सडक भएर दैनिक दर्जनौँ सवारीसाधन लमजुङ मनाङ आवतजावत गर्दछन् ।
मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै बेँसीसहर–चामे सडक हो । भिरैभिर र मस्र्याङ्दी नदी माथिमाथि हुँदै ढुंगैढुंगाको सडक व्यवस्थित नहुँदा बेँसीसहर–चामे सडकमा ज्यानको बाजी राख्दै भगवान्को भरोसामा यात्रा गर्न यात्रु बाध्य छन् ।
यात्रुले यस सडक पार गरे मनाङ पुग्छन्, सडकबाट तल झरे सिधै मर्स्याङ्दी नदीमा पुग्छन् । यस्तो जोखिम मोल्नुको विकल्प छैन, मनाङवासीलाई ।
जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप ०५१ देखि सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो । जनयुद्ध र अन्य विभिन्न कारणले उक्त सडक निर्माणको जिम्मेवारी ०५७ देखि तत्कालीन नेपाली सेनाले पायो । तत्कालीन सेनाले शान्ति प्रक्रिया पछि मात्रै सडक निर्माण कार्यलाई निरन्तरता दिएको थियो ।
सेनाले उक्त जोखिमपूर्ण भिरमा ज्यानको बाजी राखेर सडक निर्माण गर्न सफल भयो । सरर मटर चढेर मनाङ आवतजावत गर्ने मनाङवासीको सपना पूरा भयो । नेपाली सेना कार्यगणले ०६९ मा सडक निर्माण कार्यसम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । गणका इञ्जिनियर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङको नेतृत्वमा सडक निर्माण गरी हस्तान्तरण गरिएको थियो ।
बेँसीसहर–चामे सडक ६५ किलोमिटर रहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । उक्त सडक लमजुङतर्फ ३५ किलोमिटरसम्म र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।
सडक निर्माण भए पनि भौगोलिक कारणले यहाँको यात्रा जोखिमपूर्ण रहँदै आएको छ । सडकको स्तरोन्नति हुन नसक्दा यहाँका स्थानीय निराश बनेका छन् । मनाङवासीसँगै, लमजुङवासी, आन्तरिक तथा बाह्य पर्यटक समेत चिन्तित छन् । यात्राका क्रममा सबैको चाहना सडक गुणस्तरीय होस् र दुर्घटना र जोखिम न्यून रहोस् भन्ने हुन्छ ।
बेँसीसहर–चामे सडक पार गर्न झन्डै छ घन्टा समय लाग्ने सवारी चालक सोम मगारातीले बताए । ‘ठूलाठूला चट्टान ढुंगाको बीचैबीच । मस्र्याङ्दी नदीबाट तीन सयदेखि एक हजार फिटभन्दा माथिमाथि हुँदै सवारीसाधन चल्छन्,’ उनले भने । यात्रा नसकिञ्जेलसम्म डराइडराइ यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।
विभिन्न कामलगायत घरायसी समान लिनका लागि जोखिमको यात्रा गर्न बाध्य भएको मनाङकावासी बताउँछन् ।
भौगोलिक संरचनाले जोखिमपूर्ण बनेको सडक बर्खायाममा बाढीले खोतलिदिने र पहिरो आउने भएकाले थप जोखि बनेको चालक मगारातीले बताए । समय–समयमा सडक स्तरोन्नति गरे सडक गुणस्तरीय हुने र जोखिम कम हुनेमा उनले जोड दिए ।
‘बेलाबेला ठाउँ–ठाउँमा अवरुद्ध सडकले सवारीसाधन रोकेर बस्दा सडक भासिने हो कि ? माथिबाट पहिरो आएर ज्यानै लैजाने हो कि ? भन्ने जोखिम छ,’ यस सडकखण्डका चालक रामबहादुर तामाङले भने । उनले यात्राका क्रममा माथिबाट पहिरो आउने सम्भावना बढी भएको भन्दै सडक भासिए मस्र्याङ्दीमा पुग्ने खतरा पनि उत्तिकै रहेको बताए ।
‘हामीले दैनिक जोखिमपूर्ण यात्रा गरिरहेका छौँ । पहिरो, बाढीको जोखिमका साथै सडक भासिने सम्भावना पनि छ,’ तामाङले भने । यात्राका क्रममा बाटोमा घाइते भए वा बिरामी परेमा थप समस्या हुने गरेको उनको भनाइ छ । विगतको तुलनामा केही ठाउँमा सडक स्तरोन्नति भए पनि अधिकांश ठाउँमा सडक जीर्ण हुँदै जाँदा यात्रु दिनहुँ त्रसित हुँदै यात्रा गर्न बाध्य भएका उनले बताए ।