गठबन्धनका उम्मेदवारलाई विजयी गराई समाजवादको आधार तयार गर्नु श्रमजीवीको मुख्य कार्यभार : प्रचण्ड

-


     जनहित न्युज    
     वैशाख १८ गते २०७९


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली श्रमजीवीको हक, अधिकारको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका स्थानीय तह निर्वाचनको सँघारमा रहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, “आगामी निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी उत्पीडित जनसमुदायको आजको मुख्य कार्यभार हो ।”

प्रतिगमनविरुद्ध नयाँ सङ्कल्प लिने दिनको रूपमा लिन पनि उनले श्रमजीवी, कम्युनिस्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरलाई आग्रह गरेका छन् । 

“संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवी वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् भन्दै पुनः नेपाल र विश्वका मजदुरहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दछु,” उनले भनेका छन् ।

प्रचण्डले नेपालमा कम्युनिस्ट क्रान्तिकारी एवं श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त सङ्घर्ष र बलिदानका अनेकौँ कीर्तिमान कायम गरेको बताएका छन् । 

“जनयुद्ध र विभिन्न मुक्ति कामी आन्दोलनहरूमा ग्रामीण क्षेत्रका किसान र मजदुरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको सङ्घर्ष र बलिदानका कीर्तिमानकै कारण आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो” उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?