
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन र नेकपा एमालेले ६ वटै महानगरमा उम्मेदवार टुंगो लगाएका छन् । उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिनमात्र कतिपय स्थानमा उम्मेदवारको टुंगो लागेको हो ।
काठमाडौं महानगरको मेयरका लागि नेपाली कांग्रेसको तर्फबाट सिर्जना सिंह र नेकपा एमालेको तर्फबाट केशव स्थापित आमनेसामने हुने भएका छन् ।
पूर्व मेयर समेत रहेका स्थापितलाई एमालेले मेयरको उम्मेदवार बनाउने निर्णय शनिवार नै गरेको थियो । कांग्रेसले सोमवार मात्र सिंहको नाममा सहमति जुटाएको हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौंमा एमालेले मेयर र कांग्रेसले उपमेयर जितेका थिए । काठमाडौंमा एमालेले सुनिता डंगोललाई उपमेयरको उम्मेदवार बनाएको छ भने गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उम्मेदवार बन्दैछन् ।
ललितपुर उपमहानगरपालिकामा कांग्रेसले मेयर चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एमालेले हरिकृष्ण व्यञ्जकारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७४ सालको निर्वाचनमा यी दुवै उम्मेदवार बनेका थिए । झिनो मतान्तरले चिरिबाबु विजयी भएका थिए । ललितपुरमा माओवादी केन्द्रले उपमेयरको टिकट पाएको छ ।
पोखरा महानगरपालिकामा नेकपा एमालेले कृष्ण थापालाई मेयरको उम्मेदवार बनाएको छ । शनिवार दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय भएपनि उनको नाममा विवाद भएपछि सोमवार थापालाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
सत्ता गठबन्धनको तर्फबाट पोखराको मेयरमा नेकपा नेकपा एसका धनराज आचार्य मेयरको उम्मेदवार बन्दैछन् । उपमेयरमा नेकपा एमालेले मञ्जु गुरुङलाई उठाउँदै छ भने गठबन्धनका तर्फबाट कांग्रेसले टिकट पाएको छ ।
विराटनगरमा कांग्रेसले नागेश कोइरालालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । मेयरका धेरै आकांक्षीलाई पछि पार्दै डा. शेखर कोइराला पक्षधर नागेशले कांग्रेसका तर्फबाट मेयरको टिकट पाएका हुन् । नेकपा एमालेले विराटनगरको मेयरका लागि सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई अगाडि सारेको छ । विराटनगरमा गठबन्धनका तर्फबाट जसपाले उपमेयर पाएको छ । २०७४ सालको निर्वाचनमा विराटनगर कांग्रेसले जितेको थियो ।
वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेले जसपा परित्याग गरेर आएका वर्तमान मेयर विजय सरावगीलाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट वीरगञ्जमा जसपाले राजेशमान सिंहलाई उम्मेदवार बनाएको छ । २०७४ सालको निर्वाचनमा तोस्रो भएका सिंहलाई उपेन्द्र यादवले पार्टी प्रवेश गराएका थिए ।
चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट वर्तमान मेयर रहेकी माओवादीकी रेनु दाहाल उम्मेदवार बनेकी छिन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला र निर्वाचन क्षेत्र रहेको भरतपुरमा रेणु दोहोरिएर उम्मेदवार बनेकी हुन् । नेकपा एमालेले स्थानीय नेता विजय सुवेदीलाई उम्मेदवार बनाएको छ । भरतपुरमा एमालेले राप्रपासँग तालमेल गरेर उपमेयर राप्रपालाई दिने सहमति गरेको छ ।
वैशाख ३० गते हुने निर्वाचनमा एकातिर सत्ता गठबन्धन र अर्कातिर साना दलहरूको समर्थनमा एमाले उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।



