
काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन बाहिर गएर तालमेल गर्न नपाउने निर्णय गरेको छ । यस्तो निर्णय गर्ने नेताहरुलाई कारबाही गर्ने निर्णय पनि गठबन्धनले गरेको छ ।
आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले सोमबार मनोनयन दर्ता गर्नु अघि पार्टी अध्यक्षहरूको बैठक बसी भागबण्डा मिलाउन अधिकतम कोशिस गर्ने निर्णय गरेको बैठक पछि माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।
केन्द्रले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति तल्लो तहका कार्यान्वयन नभएपछि बसेको गठबन्धनले मनोनयनसम्म सिट बाँडफाँट मिलाउन अधिकतम कोसिस गर्ने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालय सहमतिको थप प्रयास गर्न शीर्ष नेताहरुको बैठक भोली पनि बस्ने जानकारी दिएको छ ।
प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले भने, ‘आजको निर्णयः १.पाँच दल बाहिर तालमेल नगर्ने २.भोली मनोनयन अघिसम्म बाँडफाड मिलाउन अधिक्तम कोशिस गर्ने ३.भोली बिहान ८बजे अध्यक्षहरू बसेर बाँकी मिलाउने, ४.बिगत समझदारीलाई सबै पक्षले इमान्दारी साथ पालना गर्ने ।’ निर्वाचन आयोगले आज र भोलिका लागि स्थानीय तह निर्वाचनको मनोनयनका लागि मिति तोकेको छ।
सत्तारुढ गठबन्धनभित्र भागवण्डाको विषय पेचिलो बन्दै गएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी उपेन्द्र यादव र नेता बाबुराम भट्टराई सहभागी थिए ।



