
अष्ट्रेलियाले झण्डै दुई वर्षपछि आफ्नो अन्तर्राष्ट्रिय सीमा खोलेको छ। छुट्टिएका परिवारको पुनर्मिलन र पर्यटन विस्तारको लागि भन्दै अष्ट्रेलियाले सीमा खोल्ने निर्णय गरेको हो।
अष्ट्रेलियाले भ्रमणमा विश्वको सबैभन्दा कडमा प्रतिबन्ध लगाएको थियो। सन् २०२० को मार्चदेखि अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बन्द रहँदै आएको थियो।
गत वर्ष अष्ट्रेलियाका नागरिक र अन्य केही मानिसलाई मुलुकमा फर्किन अनुमति दिइएको भए पनि अधिकांश विदेशी नागरिकले भने अष्ट्रेलिया जान पाएका थिएनन्।
पर्यटकको लागि पनि सीमा खुला गरिएसँगै सोमबार अष्ट्रेलियाको सिड्नी एयरपोर्टमा अष्ट्रेलिया फर्किनेको ठूलो भिड देखिएको छ।
अष्ट्रेलियाले पूरा डोज कोरोना खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा बस्नु नपर्ने बताएको छ। यद्यपि खोप नलगाएका पर्यटकले भने १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। क्वारेन्टिनको खर्च पर्यटक स्वयंले बेहोर्नुपर्नेछ।
सोमबार अष्ट्रेलियामा ५० जहाज अष्ट्रेलियामा अवतरण हुनेछन्। अष्ट्रेलियाका पर्यटन, व्यापार तथा लगानीमन्त्री डान टेहानले मुलुकको पर्यटन उद्योगको लागि सीमा खोल्ने निर्णय खुसीको कुरा रहेको बताए।
अष्ट्रेलियाको पर्यटन उद्योगले ६ लाख ६० हजार मानिसलाई रोजगारी दिएको उनको भनाइ छ। सन् २०१९ मा ९५ लाख मानिसले अष्ट्रेलिया भ्रमण गरेका थिए।
टेहानले यस वर्ष अष्ट्रेलियाको पर्यटन उद्योगमा उल्लेख्य सुधार आउन सक्ने विश्वास व्यक्त गरेका छन्।



