लेनिनले घाइते अवस्थामा पनि क्रान्तिलाई यसरी नेतृत्व गरे

-


     जनहित न्युज    
     फागुन ८ गते २०७८


क्रेमलिन ल्याइँदा लेनिन गम्भीर घाइते हुनुहुन्थ्यो । तर उनी हिँडेरै पहिलो तलासम्म पुग्नुभयो । स्ट्रेचरमा जान ड्रात्र गिलले दिएको सुझाव मान्नुभएन ।

लेनिन घाइते अवस्थामा क्रेमलिन फर्किएको उक्त घटनालाई मरिया इल्यिनिच्नाले यसरी वर्णन गरेकी छन्, ‘घण्टा बित्यो, दुई घण्टा बिते । म झ्यालछेउ उभिएर चिन्तित हुँदै कार फर्किने प्रतीक्षा गरिरहेकी थिएँ, जसलाई म टाढैबाट ठम्याउन सक्थेँ ।

अन्ततः त्यो असाधारण रफ्तारमा आइरहेको देखेँ । तर, ड्रात्र उफ्रिएर बाहिर निस्के र पछाडिको ढोका खोले । यस्तो पहिले कहिल्यै भएको थिएन ।

केही अन्जान व्यक्तिहरूले लेनिनलाई बाहिर निस्कन मद्दत गरिरहेका थिए । उहाँले ओभरकोट वा कोट केही पनि पहिरिनुभएको थिएन । उहाँ साथीहरूको सहाराले हिँडिरहनुभएको थियो ।

उहाँ माथि चढ्न लाग्दै गर्दा म फटाफट सिँढी ओर्लेर तल पुगँे । इल्यीच बिल्कुल पहेँलो हुनुभएको थियो । तर, उहाँ दुवैतर्फबाट साथीहरूको सहायताले आफै हिँडिरहनुभएको थियो । हाम्रा पछाडि ड्रात्र गिल थिए ।

के भयो भनेर सोधेँ, तर दाइले आश्वासन दिँदै हातमा मात्र केही चोट लागेको जवाफ दिनुभयो । म ढोका खोल्न र उहाँको ओछ्यान मिलाउन अगाडि दौडिएँ, जहाँ केही मिनेटपछि उहाँलाई सुताइयो ।’

डाक्टर भिनोकुरोभ, बेलिच्किना, भेइसब्रोद, ओबुख र मिंंत्स लेनिनको वरपर जम्मा भए, जसका साथमा पछि डाक्टर रोजानोभ र मामोनोभ पनि मिसिए । उनीहरू प्रत्यक्षतः चिन्तित थिए ।

रक्तस्राव फोक्सोसम्म फैलिने डर थियो र यस्तो हालतमा तुरुन्त मृत्यु हुन सक्थ्यो । हामी चिन्ता र दुःखको असहनीय यातनासहित कोठामा निष्प्रयोजन यताउता गरिरहेका थियौँ ।

लेनिन सुत्नुभएको बाहेक त्यहाँ तीनवटा कोठा थिए, भान्सा कोठा, नदेज्दा कोन्स्तान्तिनोभ्नाको सानो अध्यक्ष–कक्ष र मरिया इल्यिनिच्नाको कोठा । नदेज्दा कोन्स्तान्तिनोभ्ना बाहिर जानुभएको थियो ।

एक जना साथीले अरूलाई सुझाव दिए कि नदेज्दालाई यो घटनाबाट आहत नहुने माहोल बनाइनुपर्छ । जनकमिसार परिषद्का एक सदस्य उहाँलाई लिन गए र छिट्टै लिएर फर्किए । सधैँ जस्तै संकटको घडीमा पनि क्रुप्सकाया शान्त हुनुहुन्थ्यो ।

उहाँले खतरा कति ठूलो छ भनी सोध्नुभयो । लेनिन जोड–जोडले कराइरहनुभएको थियो । उहाँको कोठाको ढोका खुला थियो । असह्य पीडामा पनि लेनिनले सधैँजस्तै आफ्नो साथीहरूको चिन्तालाई ख्यालमा राखी भन्नुभयो, ‘कुनै कुरा छैन, मात्र मेरो पाखुरामा पीडा भएको छ ।’

असहनीय व्यथापूर्ण समय बितिरहेको थिएन । लाग्थ्यो समय रोकिएको छ । अन्ततः हामीलाई खतरा टरेको छ भनी बताइयो । हाम्रो मनमा आशा तरंगित हुन लाग्यो तर डाक्टरहरूले तीन–चार दिनको अवस्था हेरेर मात्र ढुक्क हुन सक्ने बताए ।

नजिकका साथीहरू रातमा लेनिनलाई रेखदेख गर्न बसेर अरू निस्किए । कोही लेनिनकै घरमा र कोही जनकमिसार परिषद्को कोठामा बसे । लेनिनको घाउबाट नराम्ररी रगत निस्किरहेको थियो ।

हामीसँग पट्टीको कमी थियो किनकि त्यस समयसम्म क्रेमलिनमा कुनै प्राथमिक सहायता–केन्द्र थिएन । यस कारण भ्लादिमिर इल्यिचकी एक सेक्रेटरीले रातभरि रक्ताम्य पट्टीहरू धोइरहिन् ।

बिस्तारै–बिस्तारै भ्लादिमिर इल्यिच स्वस्थ हुन थाल्नुभयो । डाक्टरहरूलाई घाइते हात अर्को हातभन्दा छोटो हुन्छ कि भन्ने डर थियो । यस कारण हातलाई ठीक दिशामा फैलाउन त्यसमा घिर्नी र अर्कातर्फ कुनै वजन बाँधियो ।

त्यो कष्टप्रद र अरुचिकर दुवै थियो । भ्लादिमिर इल्यिचले त्यसै भनेर त्यस उपचारमा आपत्ति जनाउनुभयो । आफ्नो हात लामो–छोटो जे भए पनि खुसीसाथ सम्झौता गर्ने बताउनुभयो ।

तर, डाक्टरहरूले उचित उपचार जारी राख्न आग्रह गरे ।स्वस्थ भएपछि पनि धेरै लामो समयसम्म उहाँको हातले ठीकसँग काम गर्दैनथ्यो । उहाँलाई व्यायाम गर्न बताइएको थियो ।

उहाँ हर उपयुक्त अवसरको उपयोग गर्दै निश्चयपूर्वक ती व्यायामहरू गर्नुहुन्थ्यो । जनकमिसार परिषद्का बैठकहरूमा प्रायः लेनिन आफ्नो घाइते हात पछाडि लगेर उभिनुहुन्थ्यो ९बस्दाबस्दा थाकेर उहाँ कहिलेकाहीँ बैठकमा उभिन मन पराउनुहुन्थ्यो० ।

त्यसरी नाडी तथा औँलाहरूको व्यायाम गरिरहनुहुन्थ्यो । अन्त्यमा उहाँले आफ्नो चोटग्रस्त हातको उपयोग स्वभाविक ढंगले गर्न थाल्नुभयो । ३० अगस्टको साँझ अखिल रूसी केन्द्रीय कार्यकारिणी समितिले ‘सबै मजदुर, किसान र सैनिकका प्रतिनिधिका सोभियतहरू, सबै फौजहरू’ सबैका नाममा अपिल जारी ग¥यो ।

त्यसमा लेखिएको थियो– ‘केही घण्टापहिले साथी लेनिनको हत्याको नीचतापूर्ण कोसिस गरिएको थियो, मजदुर वर्गले आफ्नो शक्तिलाई अझै संगठित गरेर क्रान्तिका सबै दुस्मनहरूको विरुद्ध निर्मम सार्वजनिक आतंक फैलाएर आफ्ना नेताहरूको हत्या र हत्या प्रयत्नहरूको जवाफ दिनेछन् ।’

त्यसै रात यो अपिल रेडियोद्वारा प्रसारित गरियो । अखिल रूसी केन्द्रीय कार्यकारिणी समितिको एक विज्ञप्तिद्वारा २ सेप्टेम्बरमा सोभियत जनतन्त्रलाई सशस्त्र शिविर घोषित गरियो ।

लेनिन बिरामी छँदा पनि उहाँलाई मजदुर र किसानहरूका असंख्य तार र पत्रहरू आए । तिनमा हत्यारा प्रयास गर्नेहरूप्रति क्रोध र घृणा प्रकट गरिएका थिए ।

आफ्ना नेताको शीघ्र स्वास्थ्य लाभको कामना साथै कतिपय माग गरिएको थियो ।

छाला कारखाना मजदुर–संघका सदस्यहरूले लेखेका थिए, ‘हजुर पक्कै जिउनुहुन्छ, यस्तो छ सर्वहाराको इच्छा १’ कामदार जनताबाट आएका हजारौँ तार र पत्रहरूका निष्कर्ष प्रस्तुत गर्दै ‘प्राभ्दा’ ले लेखेको थियो–‘लेनिन आफ्नो बिमारीविरुद्ध लडिरहनुभएको छ ।

उहाँले त्यसमाथि विजय प्राप्त गर्नुहुनेछ १ सर्वहारा वर्ग यही चाहन्छ, यही इच्छा गर्छ र यसरी उसले भाग्यलाई आदेश दिन्छ ।’ कामदार जनताले लडाइँका मोर्चा तथा घरेलु मोर्चामा वीरतापूर्ण कार्य सम्पन्न गरी लेनिनप्रतिको आफ्नो प्रेम जनाउँथे ।

तुला गुबेर्नियामा नोभोसिल्य जिल्लाका पांकोभो गाउँका किसानहरूले लेनिनलाई लेखे, ‘हामीलाई आनन्दित गर्न र साम्राज्यवादीहरूलाई निमिट्यान्न पार्नका लागि निको हुनुहोस् । हामीले सामाजिक क्रान्ति सम्पन्न गर्ने तपाईंका कार्यभारहरूलाई बुझ्छौँ ।

क्रान्तिलाई भोकै मर्न नदिने उद्देश्यबाट हामीले कुलकहरूबाट स्टेसनलाई रोटी दिलाएका छौँ र भोलि हामीले ४ हजार पूड जौ पठाउनेछौँ ।’

चोटले असह्य पीडा भए पनि लेनिनको सारा ध्यान राजनीतिक कार्य तथा देशको स्थितिमा थियो ।

जब उहाँ घाइते अवस्थापछि ६ सेप्टेम्बरमा पहिलोचोटि लेख्न सक्ने हुनुभयो, तब ओरेल गुबेर्नियाका येलेत्स जिल्लामा अन्नको असन्तोषप्रद लगानीबारे कृषिका जनकमिसार सेरेदालाई कामिरहेको हातद्वारा पेन्सिलले एउटा नोट लेख्नुभयो, ‘साथी सेरेदा १ तपाईं भेट्न नआएकोमा दुःख लाग्यो ।

हजुरले ‘अति–उत्साही डाक्टरहरू’को कुरामा ध्यान दिन हुन्थेन । एलेत्स जिल्लामा राम्रो नतिजा किन आइरहेको छैन रु यसबाट म धेरै चिन्तित छु, राम्रो नतिजा नआएको कुरा त साँचो हो ।

१९ गाउँहरूबाट, जहाँ गरिब किसानहरूका समितिहरू छन्, एउटा पनि निश्चित उत्तर आएको छैन । काम एकदम राम्रोसँग चलिरहेको छ भन्ने रिपोर्ट मैले सम्पर्क राख्ने कतैबाट पनि पाएको छैन ।’

१७ सेप्टेम्बरमा एलेत्स जिल्लाका सबै गरिब किसानका समितिहरूबाट लेनिनलाई तार आयो । तर, तिनीहरूमा सन्तोषजनक सूचना नभएपछि उहाँले जवाफमा निम्नलिखित गस्ती तार पठाउनुभयो– ‘हजुरले आफूलाई साधारण, अस्पष्ट वक्तव्यहरूमा सीमित राख्न सक्नुहुन्न ।

त्यसले प्रायजसो कामको पूर्ण असफलतामाथि पर्दा हाल्छ । ठीक–ठीक साप्ताहिक आँकडाहरू आवश्यक छन् । यस्ता तथ्यहरूबिना सबै कुरा शब्दजाल हुन् । ठीक–ठीक जवाफ पठाउनुहोस् ।’

स्वास्थ्य–लाभ गर्दै गर्दा लेनिन लडाइँका मोर्चाहरूबाट आउने खबरमा जोसपूर्वक ध्यान दिनुहुन्थ्यो र लालसेनाका सफलताहरू उल्लेख गर्नुहुन्थ्यो ।

त्यस बखतका उहाँका पत्र र तारहरू सोभियत सत्ताको अजयतामा अडिग विश्वास तथा लालफौजको बहादुरीको प्रशंसाबाट ओत–प्रोत छन् । लेनिनले कजानको मुक्तिका सम्बन्धमा ११ सेप्टेम्बरमा लेख्नुभएको थियो, ‘मैले लालफौजको सानदार जितलाई उत्साहपूर्वक स्वागत गर्दछु ।’

लालफौजले १२ सेप्टेम्बरमा सिम्बिस्र्क प्रतिक्रान्तिकारीलाई लखेटी स्वतन्त्र बनायो । फौजका योद्धाहरूले निम्नलिखित तार पठाए, ‘प्रिय भ्लादिमिर इल्यिच १

तपाईंको जन्म नगरमाथिको कब्जा– यो हो तपाईंको एउटा घाउको जवाफ र दोस्रो घाउको जवाफ हुनेछ समारा १’ उत्तरमा लेनिनले लेख्नुभयो, ‘मेरो जन्मनगर सिम्बीस्र्कमाथिको कब्जा मेरा घाउहरूका लागि सर्वोत्तम उपचार, सर्वोत्तम पट्टी हो ।

मैले जीवन र शक्तिको असाधारण ज्वार महसुस गरिरहेको छु । मैले लालसेनाका सैनिकहरूलाई उनीहरूको विजयमा बधाई दिन चाहन्छु । सम्पूर्ण कामदार जनताका तर्फबाट उनीहरूको योगदानका लागि धन्यवाद दिन चाहन्छु ।’ लेनिनको जिजीविषा प्रचण्ड थियो ।

जनताको इच्छामा समर्पित उहाँको जिजीविषाले उहाँको सबल शारीरिक गठनसँग मिलेर बिमारीमाथि विजय प्राप्त ग¥यो । उहाँले छिट्टै स्वास्थ्य लाभ गर्न थाल्नुभयो र जति सक्दो चाँडो काममा फर्किनुभयो ।

त्सरित्सिनको मोर्चाको स्थितिका सम्बन्धमा लेनिनले १५ सेप्टेम्बरमा स्वेर्दलोभ र स्टालिनसँग विचारविमर्श गर्नुभयो । १६ सेप्टेम्बरमा लेनिनले रूसी कम्युनिस्ट पार्टी ९बोल्सेभिक० को केन्द्रीय समितिको बैठकमा भाग लिनुभयो ।

१७ सेप्टेम्बरमा जनकमिसार परिषद्को अधिवेशनको अध्यक्षता गर्नुभयो र सर्वहारा वर्गीय सांस्कृतिक तथा शैक्षिक संगठनहरूका सम्मेलनका अध्यक्ष मण्डललाई एउटा पत्र लेख्नुभयो ।

त्यसमा उहाँले यो कुरामा जोड दिनुभयो कि हाम्रा सम्पूर्ण सफलताहरू मजदुरहरूद्वारा आफ्नो सोभियतहरूका माध्यमबाट राज्य–प्रबन्धमाथि गरेको कब्जाको कारणले प्राप्त भएको हो ।

तर, अझै पनि उनीहरू ‘राज्य–प्रबन्धका लागि मजदुरहरूलाई अगाडि बढाउने काममा कम संकोचशील छन् ।

यसका लागि प्रयास गर्नुहोस् साथीहरू १’ अन्तिम डाक्टरी बुलेटिन १८ सेप्टेम्बरमा जारी गरिएको थियो । त्यसमा लेनिन स्वस्थ भएको र उहाँलाई काममा फर्किने अनुमति दिइएको भनी लेखिएको थियो ।

लेनिनले बुलेटिनमा लेख्नुभएको थियो, ‘यस बुलेटिन र आफू स्वस्थ भएको कुरालाई ध्यानमा राख्दै डाक्टरहरूलाई अब टेलिफोन गरेर अरू प्रश्नहरूद्वारा हैरान नगरियोस् भनी एउटा निजी र अत्यन्त हार्दिक निवेदन गर्न चाहन्छु ।’

लेनिनको निवेदनसहित १९ सेप्टेम्बर १९१८ को ‘प्राभ्दा’ मा बुलेटिन प्रकाशित गरियो । त्यसै दिन पेत्रोग्रादका ४ सय मजदुरहरूलाई जसले लालफौजका कमान्डरहरूको पहिलो कार्स पास गरेका थिए, बधाई दिँदै लेनिनले

भन्नुभएको थियो, ‘रूस र संसारको समाजवादी क्रान्तिको सफलता यस कुरामा निर्भर गर्दछ कि मजदुर कस्तो जोसका साथ राज्य–प्रबन्धमा प्रवेश गर्छन् र कसरी पुँजीपतिहरूको सेखी झार्न लडिरहेका कामदार र पीडितहरूको फौजका कमान सम्हाल्छन् ।’

यी दस्तावेजहरूले लेनिनले आफ्नो बिमारीको अवधिमा क्षणभरका लागि पनि कामदार जनतासँग आफ्नो सम्पर्क टुट्न दिनुभएको थिएन भन्ने प्रस्ट हुन्छ ।

तर त्यो गम्भीर चोटपछि उहाँको स्वास्थ्य पूर्णरूपमा ठीक भएन । सेप्टेम्बरको अन्त्यमा उहाँलाई डाक्टरहरूको सल्लाहमा मस्को नजिकैको गाउँमा आराम गर्न पठाइयो ।

भ्लादिमिर इल्यिच २४ सेप्टेम्बरमा आफ्ना डाक्टरसँगै गोर्कीका लागि हिँड्नुभयो । डाक्टर भेइसब्रोद एक जना कम्युनिस्ट प्रोफेसर हुनुहुन्थ्यो । उहाँ त्यहाँको उत्तरी खण्डमा तीन हप्ता बस्नुभयो ।

केही समयका लागि आफ्ना दैनिक कामको तनावबाट मुक्त भएर लेनिनले आफूलाई सैद्धान्तिक कार्यमा लगाउनुभयो । उहाँले आफ्नो अमर कृति ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ लेख्नुभयो । यसले माक्र्सवाद–लेनिनवादको मूल्यवान् निधि कोषमा वृद्धि ग¥यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?