
स्थानीय तहबीच भएका र गरेका राम्रो कामको अनुभवलाई एक अर्कामा आपसी सिकाइ गर्ने उद्देश्यसाथ गण्डकी र लुम्बिनी प्रदेशका स्थानीय तह, बन्दिपुर गाउँपालिका तनहुँ, ताराखोला गाउँपालिका बागलुङ र धुर्कोट गाउँपालिका गुल्मीबीच २०७६ कार्तिक २७ गते अर्गल भुसपोल्ने पर्वको अवसर पारेर भगिनी सम्बन्ध कायम भयो ।
यसले स्थानीय सरकार सञ्चालनमा आत्मविश्वास पैदा गरी स्थानीय सरकारका साझा हित र सरोकारको विषयमा समन्वय, परामर्श र सहयोगको सूचना आदानप्रदानका साथै भविष्यमा हुने विकासको गतिलाई प्रवर्द्धन गर्नेछ । वर्तमान अवस्थामा जनअपेक्षा असीमित छ्न् तर विकास गर्नका लागि राज्यको स्रोत र साधन सिमित मात्रामा छन् ।
यिनै अन्तरबिरोधकाबीच विकासको जनआकांक्षा पूरा गर्नुपर्ने अवसर चुनौती स्थानीय सरकार सामु उभिएको छ । यस सन्दर्भमा, ‘इच्छाशक्ति भए परिवर्तन हाम्रै पालामा सम्भव छ’ भन्ने कुराको साझा अनुभुतिमा अन्तरपालिका स्तरीय कार्यक्रम र कार्ययोजना निर्माणका लागि धुर्कोट, ताराखोला र बन्दिपुर गापाबाट सुरुवात गरिएको छ ।
अन्तरपालिकाबीच भएको पारस्परिक भगिनी सम्बन्धले स्थानीय तहबीचको अन्तरसम्बन्ध समाज रुपान्तरणका लागि गरिएका प्रयासमा सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ ।
सामाजिक आर्थिक राजनैतिक तथा भौगोलिक रुपमा फरक–फरक रहेपनि मुलत विकासको ऊर्जा, उत्प्रेरणा र गन्तव्य उस्तै उस्तै रहेकोले हामी एक अर्काको सामर्थ्य आकर्षित नबनिरहन सक्दैनौं । यसकारण पनि आपसी सहकार्य र सिकाइ गर्नुपर्ने परिस्थिति भाबिपिढिका लागि पनि मार्गदर्शन हो ।
तीन वटा पालिकाबीच मुख्य गरी कृषि प्रबर्द्धन र उत्पादनमा जोड गरी बजारीकरण गर्नमा सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । कोही मान्छे पूर्ण हँुदैन पूर्ण हुनको लागि अनिवार्य एक अर्काको सहयोग र सहकार्य चाहिन्छ ।
यसकारण नयाँ ज्ञान, क्षमता र सीप आदानप्रदान गर्नुको अर्थ पनि यही हो । पर्यटनको प्रचारप्रसार एवम् प्रचलित सास्कृतिक परम्परा रितिरिवाजलाई आदानप्रदान कार्य गरी आन्तरिक पर्यटकको माध्यमबाट आर्थिक क्रियाकलापमा वृद्धि गरी मानिसको जीवनस्तर उठाउन पूर्वाधार क्षेत्रमा संग्रालय, स्मारक पार्क, पर्यटन पूर्वाधार निर्माणको लक्ष्यहरु राखिएको छ ।
२०७६ माघ १ गते तनहुँ बन्दिपुर र २०७८ माघ ३ गते गुल्मीको धुर्कोट गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी र सम्बन्धित सरोकारवालासँगको बैठक बस्यो । बैठकले विभिन्न कार्यक्रम तथा रणनीति बनाएको छ ।
अनौपचारिक र औपचारिक भेटघाट निरन्तर भएका छन् । विशेष गरी शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा भएका प्रगति, आगामी दिनमा गर्न सक्ने कामको विषयमा छलफल भएका छन् ।
चीनका राष्ट्रपतिको भनाइ छ– ‘मानिसलाई उसको अन्वेषण र सृजनशिलता वृद्धिका लागि सबैभन्दा उत्तम उपाय भनेको फरकफरक सभ्यतामा सम्पर्क राख्नु र उनीहरूको सामर्थ्य थाहा पाउन सक्नुपर्छ र त्यसप्रति आकर्षक हुन सक्नुपर्छ ।’ यसले मात्र समाजको विकासलाई गति र शक्ति प्रदान गर्न सक्छ ।
आजको परिवेशमा हाम्रा सामाजिक सम्बन्ध सामूहिक ठाउँमा एकलपना जसलाई जे समस्या परेको छ, उहीँ मात्र पात्रको रुपमा उभिनुपर्ने सहयोगीको भावना हराउँदै जानुले सार्वजनिक सम्पत्तिको संरक्षण हुन नसक्नुले समाजलाई उतारचढावमा पारिरहेको छ ।
नातागोता, पारिवारिक तथा सामाजिक सम्बन्धका बारेमा युवाशक्तिका लागि जानकारी नहुने वा हुन नचाहने प्रबृत्ति र मनोविज्ञानले सामाजिक विचलन ल्याउने सम्भावना बढिरहेको छ । यसबाट समाज रुपान्तरण चुनौतीपूर्ण छ ।
ऐतिहासिक समाज विकासक्रमलाई नियाल्दा समाज समुदाय अनुसार ज्ञान र दृष्टि फरक हुने भएकाले अर्काको लागि सिक्न जान्न बुझ्नका लागि ‘मितसैना’ गाँस्ने प्रचलन छ । यसबाट एकले अर्कोलाई चिन्ने, चिनाउने र भावना आदानप्रदान हुने गर्छ । समस्याको पहिचान गरी समाधानको उपायबारे सहयोगी भूमिका खेल्न भगिनी सम्बन्धको अर्थ रहने भएकोले जनस्तरमा व्यापक बनाई विविधतामा एकताको बल खोज्ने प्रयास गरिनुपर्छ ।
विकासको मोडेल र मौलिकता आ–आफ्नै विषेशतामा आधारित छन् । धुर्कोट गाउँपालिका भौगोलिक रुपमा सुगम भएकोले विकास गर्न सहज छ । साथै बन्दिपुर गाउँपालिका पुरानो सदरमुकाम हो । ताराखोला गाउँपालिका विकास कार्य भर्खर सुरुवात भएको छ । भौगोलिक विकटता रहेकोले यहाँको विकास असाध्यै खर्चिलो छ ।
शिक्षा, स्वास्थ्य, राजनीतिक र प्रशासनिक क्षेत्रमा पहुँच पूर्वाधार निर्माणलगायत स्रोतसाधन परिचालन सहज धुर्कोट र बन्दिपुर गाउँपालिकामा छ भने ताराखोला गाउँपालिका व्यापक यस कार्यमा निरन्तर लागि पर्नुपर्ने देखिन्छ ।
पर्यटन प्रबर्द्धन एवम् व्यावसायिक योजनामा सहजै आकर्षण हुन सक्ने पर्यटनका गन्तव्य स्थल सूचीकरण बन्दिपुर गाउँपालिकामा भइसकेको छ । श्रम, सामूहिकतामा कला, संस्कृति, जैविक उत्पादन, कृषि प्रणाली र पानीको स्रोतमा धनी ताराखोला गाउँपालिका देखिए पनि पूर्वाधार निर्माणका कामहरुले पूर्णता पाउन बाँकी छ ।
पानीको स्रोतमा अपुगता भए जस्तो देखिए पनि ‘एक घर, एक धारा’ सबै बस्तीमा जाँदै छ । कृषि र पशुपालन, व्यवसायिक रुपमा विश्वसनियता आत्मविश्वास धुर्कोट गाउँपालिकामा देखिन्छ । अन्ततः जे जस्तोसुकै अवस्था भए पछिल्लो पटकको राजनीतिक परिवर्तनपछि नयाँ संविधानले परिकल्पना गरेको राज्यको पुनःसंरचनाअनुसार स्थानीय तहका जनप्रतिनिधि हुनु अगाडि र भइसकेपछि शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, सडक, भवन सङ्गग्रालय निर्माण, पैदलमार्ग कृषि तथा पशुपालन क्षेत्रहरू साथै सुशासन प्रबर्द्धनमा गुणात्मक सफलता हासिल भएको छ ।
यसलाई हामीले भगिनी सम्बन्धको एक सिकाइको उपलब्धिको रूपमा लिएका छौं । यसबाट नेपाल सरकारले लिएको दिगो विकास लक्ष्य प्राप्तिको आधार निर्माण हुने आशा गरिएको छ । कुनै क्षेत्रको विकासमा अगाडि र पछाडि भए पनि पछिल्लो राजनीतिक परिवर्तनले स्थापित गरेको नागरिकका अधिकारहरुलाई संविधानको मुलमन्त्रमा स्थापित गरी समानतामुलक समाजवाद उन्मुख अर्थतन्त्रको आधार सृजना गरी स्थानीय सरकारको अभिभारा पूरा गर्ने अहिलेको आवश्यकता हो ।
आम नागरिकलाई सबल र सक्षम बनाउन स्रोत साधनको पहिचान गरी सीप विकास जनशक्ति परिचालनमा जोड दिँदै समृद्धि, विकास र सुशासन प्रबर्द्धनमा आपसी सहकार्य र सिकाइको हिसाबले निकट मितेरी सम्बन्धमा रहने अपेक्षा गरिएको छ । स्थानीय सरकार भनेको जनताको चाहानालाई यथार्थमा परिणत गर्ने निकाय हो ।
जहाँ गए पनि जुन सुकै कुरामा प्रतिस्पर्धा गर्ने सक्षम सबल जनशक्ति निर्माण गर्न वातावरण सृजना गरिनु आज समयको माग हो । त्यसको लागि प्रत्यक्ष देखेर, भोगेर, सुनेर, पढेर, अनुभुति गरेर जीवन उपयोगी बनाउन सकिन्छ । यही नै हो मितेरी पालिकाको सबैभन्दा चासो र सरोकारको विषय । किनभने नेपाल गाउँ नै गाउँले घेरिएको देश हो ।
समाजवादमा आधारित ग्रामीण अर्थतन्त्रको विकास र शुद्धीकरण नगरी नेपालले समृद्धि हासिल गर्न सक्दैन भन्ने कुरामा दृढता छौं । आज बसाइसराइको नाममा अव्यवस्थित सहरीकरण र प्रदुषण हुँदै जाने र गाउँका बस्तीहरु रित्तिदै जाने, जग्गा बाँझो पल्टने, उत्पादन नहुने सबै आयातित वस्तुमा निर्भर रहने परिस्थितिले अबको पुस्तालाई कता लैजाने हो भन्ने कुराको बहस गर्न आवश्यक छ ।
( घर्तीमगर ताराखोला गाउँपालिकाका अध्यक्ष हुन् ।)



