क्योटोमा स्थानीय र बाहिरका यात्रुका लागि बस भाडा फरक गर्ने तयारी

-


     जनहित न्युज    
     मंसिर ३ गते २०८३


Kyoto, Japan - 05.09.2024: Many people waiting in line for the bus at Kyoto station

क्योटो, जापान।

जापानको प्रमुख पर्यटकीय सहर क्योटोले स्थानीय बासिन्दा र बाहिरबाट आउने यात्रुका लागि सार्वजनिक बसको भाडा फरक–फरक निर्धारण गर्ने तयारी गरेको छ। पर्यटकको अत्यधिक चापका कारण स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएपछि क्योटो नगर सरकारले नयाँ भाडा प्रणालीसम्बन्धी अध्यादेशको मस्यौदा सार्वजनिक गरेको हो।

प्रस्तावित व्यवस्थाअनुसार हाल प्रतिव्यक्ति २३० येन रहेको वयस्क यात्रुको एकसमान बस भाडा क्योटो सहरका बासिन्दाका लागि घटाएर २०० येन बनाइनेछ। तर सहरबाहिर बसोबास गर्ने यात्रुले भने ३६० येन तिर्नुपर्नेछ।

यो व्यवस्था कार्यान्वयन भएमा अत्यधिक पर्यटनको समस्या समाधान गर्न सार्वजनिक यातायातमा स्थानीय र गैरस्थानीय यात्रुका लागि फरक भाडा लागू गर्ने जापानकै पहिलो उदाहरण हुने नगर सरकारको दाबी छ ।

क्योटो जापानको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो। पछिल्ला वर्षहरूमा पर्यटकको संख्या बढेसँगै सहरका केही बस रुटहरूमा अत्यधिक भीड हुने गरेको छ । यसका कारण स्थानीय बासिन्दालाई दैनिक काम, विद्यालय तथा अन्य आवश्यक यात्रामा समस्या भइरहेको छ ।

क्योटोका मेयर कोजी मात्सुईले स्थानीय बासिन्दाले भाडा कटौतीको लाभ पाउँदै पर्यटकलाई पनि सकारात्मक रूपमा स्वागत गर्न सक्ने वातावरण निर्माण गर्नु नयाँ व्यवस्थाको उद्देश्य रहेको बताएका छन् ।

प्रस्तावित व्यवस्थाअनुसार स्थानीय भाडाको सुविधा लिन यात्रुले आफ्नो माइ नम्बर कार्डलाई यातायातका स्मार्ट कार्डजस्ता भुक्तानी माध्यमसँग जोडेर अग्रिम दर्ता गर्नुपर्नेछ ।

नगद भुक्तानी गर्ने स्थानीय बासिन्दाले भने २०० येनको छुट भाडा प्राप्त गर्न सक्ने छैनन् ।

त्यस्तै, क्योटो सहरबाहिर बसोबास गरे पनि काम वा अध्ययनका लागि नियमित बस प्रयोग गर्ने यात्रुहरूलाई राहत दिन यात्राको संख्याका आधारमा अंक फिर्ता गर्ने प्रणाली ल्याउने योजना पनि नगर सरकारले अघि सारेको छ ।

नयाँ प्रस्तावमाथि आगामी नोभेम्बर २४ देखि सुरु हुने नगरसभाको बैठकमा छलफल हुनेछ। नगर सरकारले आर्थिक वर्ष २०२७ भित्र नयाँ भाडा प्रणाली लागू गर्ने लक्ष्य राखेको छ।

यसैबीच, क्योटो नगर सरकारले युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक निजो क्यासलमा पनि स्थानीय र बाहिरी पर्यटकका लागि फरक प्रवेश शुल्क लागू गर्ने प्रस्ताव सार्वजनिक गरेको छ ।

हाल क्यासल परिसर र निनोमारु दरबार प्रवेशका लागि लाग्दै आएको १,३०० येन शुल्कलाई स्थानीय बासिन्दाका लागि घटाएर १,००० येन र बाहिरी आगन्तुकका लागि बढाएर २,००० येन बनाउने प्रस्ताव गरिएको छ । यो व्यवस्था सन् २०२७ जुनदेखि लागू गर्ने योजना रहेको छ ।

पर्यटनका कारण सार्वजनिक यातायात र स्थानीय सेवामा बढ्दै गएको दबाब कम गर्नुका साथै स्थानीय बासिन्दालाई प्रत्यक्ष सुविधा उपलब्ध गराउनु दुवै प्रस्तावको मुख्य उद्देश्य रहेको नगर सरकारले जनाएको छ।

स्रोत: क्योदो न्युज 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?