
प्रवासमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने उद्देश्यसहित गल्कोट समाज जापान, टोकियो क्षेत्रीय समितिले आफ्नो तिज सांगीतिक उत्सवको टिकट तथा दर्शकहरूबाट सङ्कलित सम्पूर्ण रकम रसुवाका बाढीपीडितहरूलाई सहयोग गर्ने घोषणा गरेको छ।
गल्कोट समाज जापान टोकियो क्षेत्रीय समितिका अध्यक्ष तथा तिज सांगीतिक उत्सवका सभापति ईश्वर बस्नेतका अनुसार कार्यक्रममा सहभागी दर्शकहरूबाट स्वेच्छाले प्रदान गरिएको ३०,१११ येन र टिकट बिक्रीबाट उठेको ४८८,००० येन गरी कुल ५,१८,१११ जापानी येन रसुवाका बाढीपीडितका लागि हस्तान्तरण गरिने भएको छ।
देशमा गएको प्राकृतिक विपत्तिका कारण रसुवा जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै सयौँ परिवार प्रभावित बनेको अवस्थामा संस्थाले यस वर्षको तिज विशेष कार्यक्रमलाई थप सामाजिक उत्तरदायित्वसँग जोडेको छ। विपေत्तबाट प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी उक्त राहत रकम पीडित परिवारसम्म पुर्याइने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो।
कार्यक्रम संयोजक गोम बुढाथोकीले प्रवासमा तिज केवल सांस्कृतिक उत्सव र मनोरञ्जनको माध्यम मात्र नभई दुःखमा परेका नेपालीहरूसँग हातेमालो गर्ने ठूलो अवसर पनि भएको बताउनुभयो। कार्यक्रमको टिकट खरिद गरेर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने प्रत्येक दर्शकको योगदानलाई रसुवाका बाढीपीडितको राहतसँग जोडिएको उहाँको भनाइ छ।
त्यसैगरी, संस्थाका सचिव चतुर्भुज सापकोटाले कार्यक्रममा सहभागी दर्शक, कलाकार, सहयोगदाता तथा शुभेच्छुकहरूको योगदानप्रति आभार व्यक्त गर्दै “मनोरञ्जनसँगै मानवता र सामाजिक उत्तरदायित्व”लाई सधैँ प्राथमिकतामा राखिनेबारे प्रष्ट पार्नुभयो। तिजको अवसरमा आयोजित सांगीतिक उत्सवले कला र संस्कृतिको प्रवर्द्धनसँगै मानवीय सेवाको गतिलो सन्देश दिएको र यस प्रकारको सहयोगले प्रवासमा रहेका नेपालीहरूको मातृभूमिप्रतिको जिम्मेवारीलाई थप मजबुत बनाएको विश्वास व्यक्त गरिएको छ।
गल्कोट समाज जापानले आगामी दिनहरूमा पनि सामाजिक तथा मानवीय सेवाका विभिन्न क्षेत्रमा आफ्नो सक्रियतालाई निरन्तर अगाडि बढਾउने प्रतिबद्धता व्यक्त गरेको छ।



