अनेसास जापानको ८४औँ शृङ्खला सम्पन्न: अग्रज साहित्यकार सुष्मा ओमातालाई ‘दीर्घ साहित्य साधना सम्मान’ अर्पण

-


     जनहित न्युज    
     भाद्र ८ गते २०८३


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले टोकियोमा एक विशेष कार्यक्रमको आयोजना गरी आफ्नो ८४औँ नियमित साहित्य शृङ्खला भव्य रूपमा सम्पन्न गरेको छ। अनेसासकी बोर्ड अफ ट्रस्टी सदस्य, अग्रज साहित्यकार एवं सितार वादक सुष्मा शाह ओमाताको ८४औँ वर्ष प्रवेश र संस्थाको ८४औँ शृङ्खलाको दुर्लभ संयोग पारेर उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा सुष्मा ओमातालाई नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास तथा विस्तारमा पुर्‍याउनुभएको अनवरत योगदानको उच्च कदर गर्दै ‘अनेसास जापान दीर्घ साहित्य साधना सम्मान २०८३’ अर्पण गरिएको छ।

संस्थाका सदस्य विश्वबन्धु भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पानसमा बत्ती बालेर र राष्ट्रिय गान बजाएर उद्घाटन गरिएको थियो। माधव पौडेलले सुष्मा ओमाताको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै स्वस्तिवाचन गर्नुभएको थियो। संस्थाका अध्यक्ष आनन्द अधिकारीको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष डा. कुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास टोकियोका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले विशिष्ट अतिथिका रूपमा शुभकामना मन्तव्य राख्दै सुष्मा ओमातालाई ‘जिउँदो इतिहास’ को संज्ञा दिनुभयो।

त्यस्तै, एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले यो सम्मान सम्पूर्ण जापानवासी नेपालीहरूकोतर्फबाट रहेको बताउनुभयो भने प्रमुख वक्ता यशोदा बस्नेतले विविध आयाममाथि विचार व्यक्त गर्नुभयो। कार्यक्रममा समाजसेवी सालिकराम भण्डारी, पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग र इन्दिरा सुजुकीले ओमातासँगका अनुभव साट्नुभएको थियो। शरद पोख्रेलले ‘सुष्मा शाह ओमाता : कला र साहित्यको शताब्दीनजिकको यात्रा’ शीर्षकमा उहाँको जीवनी प्रस्तुत गर्नुभएको थियो भने सचिव विनिशा सापकोटाको स्वरमा तयार पारिएको श्रव्य–दृश्य सामग्रीसमेत प्रदर्शन गरिएको थियो।

जापानमा ५ दशकभन्दा लामो समय बिताउनुभएकी ओमाताले आफ्ना सङ्घर्ष र सफलताका रमाइला प्रसङ्गहरू सुनाउँदै संस्थाप्रतिको प्रेम र सम्मानका लागि धन्यवाद ज्ञापन गर्नुभयो। करिब १२० जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा दुई दर्जनभन्दा बढी स्रष्टाहरूले रचना वाचन तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको पहिलो सत्रको सहजीकरण महासचिव मनोज मौसम केसी र दोस्रो सत्रको सहजीकरण सचिव यमलाल कँडेलले गर्नुभएको थियो। कार्यक्रम संयोजक दीपा घिमिरेले सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सभापति आनन्द अधिकारीको मन्तव्यसँगै औपचरिक रूपमा कार्यक्रम समापन भएको थियो। कार्यक्रमको अन्त्यमा धौलागिरी भजन समूहले भजन–कीर्तन प्रस्तुत गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?