गलकोट समाज जापान कान्तो–टोकियो क्षेत्रीय समितिको आठौ अधिवेशन आगामी जुन ३०मा हुने

-


     जनहित न्युज    
     असार २ गते २०८३


“हाम्रो गाउँ, हाम्रो ठाउँ; हातेमालो गरी समृद्ध बनाऔं” भन्ने मूल नाराका साथ जापानमा क्रियाशील गलकोट समाज जापान अन्तर्गतको कान्तो–टोकियो क्षेत्रीय समितिको आठौ अधिवेशन आगामी २०२६ जुन ३० तारिखका दिन आयोजना हुने भएको छ।

टोकियोको सिनओकुबोस्थित ‘सोलमारी मुरा हल’ मा सम्पन्न हुने यस अधिवेशनले आगामी कार्यकाल (२०२६–२८) का लागि नयाँ नेतृत्व चयन गर्नेछ। क्षेत्रीय समितिका अध्यक्ष दिनेश थापाका अनुसार अधिवेशनमा गलकोट नगरपालिका तथा ताराखोला गाउँपालिकाका सबै वडाबाट व्यापक सहभागिता सुनिश्चित गर्दै अपनत्व र एकताको भावनासहित समाजलाई थप सशक्त बनाउने लक्ष्य राखिएको छ। अधिवेशनलाई सफल बनाउन आवश्यक सम्पूर्ण तयारी तीव्र रूपमा अगाडि बढाइएको जानकारी समेत अध्यक्ष थापाले दिएका छन्।

अधिवेशनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित ढङ्गले सम्पन्न गर्न गलकोट समाज जापानका संरक्षक नरबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। समितिको सदस्यहरूमा केन्द्रीय उपाध्यक्ष लक्ष्मण कार्की, डिलाराम निउरे, केन्द्रीय सदस्य राजु बस्नेत र क्षेत्रीय सल्लाहकार दुर्गा बहादुर खत्री रहनुभएको जानकारी क्षेत्रीय समितिका सचिव पवन बोहोरा क्षेत्रीले दिनुभएको छ।

निर्वाचन समितिका संयोजक थापाका अनुसार समितिले आवश्यक गृहकार्य सुरु गरिसकेको छ। आगामी केही दिनभित्र निर्वाचन आचारसंहिता, उम्मेदवारको योग्यता, उम्मेदवारी शुल्क, दर्ताको अन्तिम मिति, दाबी–विरोध तथा निर्वाचनको सम्पूर्ण कार्यतालिका संस्थाको आधिकारिक माध्यममार्फत सार्वजनिक गरिने तयारी छ। समितिले कान्तो क्षेत्रमा रहेका सम्पूर्ण गलकोटे दाजुभाइ तथा दिदीबहिनीहरूलाई अधिवेशनमा सक्रिय सहभागिता जनाई संस्थाको आगामी यात्रालाई थप प्रभावकारी बनाउन हार्दिक आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?