
जापानमा कुटपिटको आरोपमा पक्राउ परेका एक विदेशी नागरिकलाई अभियोजन पक्ष (प्रोसिक्युटर्स) को नियन्त्रणमा रहँदा करिब १० घण्टासम्म खाना नदिइएको घटना सार्वजनिक भएको छ।
कानुन व्यवसायीले यसलाई गम्भीर मानव अधिकार उल्लङ्घनको संज्ञा दिँदै कडा विरोध जनाएपछि यो विषय अहिले चर्चामा आएको छ।
घटना विवरण अनुसार, गत महिना ४० वर्ष उमेर समूहका ती विदेशी नागरिकलाई जनवरी ३१ मा प्रहरी हिरासतबाट अभियोजन कार्यालयमा लगिएको थियो। उनका वकिल काजुया सुकामोतोका अनुसार, ती व्यक्तिले दिउँसो करिब १२ बजे खाना खाएका थिए। तर, त्यसपछि उनलाई लामो समयसम्म भोकै राखियो र राति १०:३० बजे प्रहरी चौकीको हिरासतमा फिर्ता ल्याएपछि मात्र अर्को छाक खान दिइयो। जापानी कानुन अनुसार थुनुवाहरूलाई निश्चित समयमा (साँझ ४:३० देखि ७:०० बजेभित्र) बेलुकाको खाना उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था छ।
अभियोजन पक्षले भने त्यस दिन ४० भन्दा बढी संदिग्धहरूको अनुसन्धान गर्नुपर्ने भएकोले कार्यव्यस्तताका कारण परिस्थिति “अपरिहार्य” बनेको दाबी गरेको छ। यद्यपि, वकिल सुकामोतोले यसलाई “अत्यन्त अन्यायपूर्ण व्यवहार” भन्दै भोकले संदिग्धको मानसिक अवस्थामा असर पार्ने र खानाको आशमा गलत बयानमा हस्ताक्षर गर्न बाध्य हुन सक्ने जोखिम औंल्याएका छन्। उनले यस विषयमा मानव अधिकार निवारणका लागि बार एसोसिएसनमा उजुरी दिने तयारी समेत गरेका छन्।
पीडित पक्षसँगको अदालती मिलापत्रपछि ती विदेशी नागरिक फेब्रुअरी ५ मा रिहा भइसकेका छन्। यता टोकियो जिल्ला सरकारी वकिलको कार्यालयले घटनाबारे विस्तृत टिप्पणी गर्न अस्वीकार गरे पनि मुद्दाको चाप र प्रकृति अनुसार थुनुवाको पर्खने समय फरक पर्न सक्ने प्रतिक्रिया दिएको छ।



