
टोकियो । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालका प्राथमिकताका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई आह्वान गर्नुभएको छ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा जापानको राजधानी टोकियोमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक मुद्दाहरू निष्कर्षमा पुगेपछि नेपालको मुख्य प्राथमिकता अब नेपाली जनताको द्रुत सामाजिक–आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नु रहेको स्पष्ट पार्नुभयो।
राष्ट्रपति पौडेलले नेपाल सरकारले व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न तथा नवप्रवर्तन प्रवर्द्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधारहरू गरिसकेको उल्लेख गर्दै उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता क्षेत्रहरूमा जापानी लगानीकर्तालाई लगानीका लागि आमन्त्रण गर्न चाहेको बताउनुभयो। राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, आजको कार्यक्रमले नेपाल–जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गर्नुभएको छ।
उहाँले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रका साथै जनता–जनताबीचको सम्पर्कमा समेत फैलिएको र उच्चस्तरीय भ्रमणको आदान–प्रदान तथा बढ्दो सहकार्यका कारण यो सम्बन्ध थप सुदृढ हुँदै गएको उल्लेख गर्नुभयो।
नेपाल र जापानबीच भगवान् बुद्धको शिक्षामा आधारित संस्कृति, धर्म, मूल्यमान्यता र जीवनपद्धतिमा गहिरो समानता रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले बुद्धको जन्मस्थल लुम्बिनीले दुई देशका जनताबीच सुमधुर सम्बन्ध विकास गर्न महत्वपूर्ण पुलको भूमिका खेलेको बताउनुभयो। विश्व शान्तिको मुहानका रूपमा लुम्बिनीको विकासमा जापानले पुर्याउँदै आएको निरन्तर सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
राष्ट्रपति पौडेलले विकास सहायता, व्यापार, लगानी र पर्यटनलगायत विभिन्न क्षेत्रमा जापान नेपालको प्रमुख साझेदार रहँदै आएको बताउनुभयो। उहाँका अनुसार, नेपाल यस वर्षको अन्त्यसम्ममा अति कम विकसित देशको सूचीबाट स्तरोन्नति हुँदै सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्यतर्फ अघि बढिरहेको छ। यसका लागि राष्ट्रिय प्राथमिकताका क्षेत्रमा थप विदेशी लगानी भित्र्याउने, व्यापार विस्तार गर्ने, अन्तर–आबद्धता विविधीकरण गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र उच्चस्तरीय प्रविधि प्राप्त गर्नेमा नेपाल केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो।
नेपाल जापानी पर्यटकको मनपर्ने गन्तव्य रहँदै आएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले साहसिक पर्यटन, समृद्ध प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक विविधताले जापानी पर्यटकलाई आकर्षित गरिरहेको बताउनुभयो। नेपालले पर्यटन क्षेत्रमा दुई देशबीचको सहकार्य अझ विस्तार गर्न चाहेको उहाँको भनाइ थियो।
जापान नेपाली युवा र विद्यार्थीका लागि आकर्षक गन्तव्य बनेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जापानमा रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गरिएकोमा जापान सरकारप्रति आभार व्यक्त गर्नुभयो। सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र जापानबीच पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा आधारित सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उहाँले स्मरण गराउनुभयो।
जापान नेपाली युवा र विद्यार्थीको रोजाइँमा परेको र यहाँका नेपाली नागरिकको सुरक्षा सुनिश्चितता गरेकामा जापानप्रति उनले आभार व्यक्त गरे। “हाम्रा दुई मुलुकले सौहाद्र्रपूर्ण मित्रताको धेरै लामो इतिहास आत्मसात् गरेका छौँ, सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र जापानबीच पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा आधारित सुमधुर तथा मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ”, राष्ट्रपति पौडेलले भने। सो अवसरमा जापानका विदेश राज्यमन्त्री होरी इवाओले यसप्रकारको भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।



