
जापानको टोकियोमा आयोजित विशेष समारोहका बीच एनआरएनए उपाध्यक्ष रोबिन शेरचनले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले आगामी सन् २०२५–२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न एक भव्य समारोहमा शेरचनले ‘सुदृढ संगठन, दरिलो एकता : हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व सम्मेलनलाई लक्षित गर्दै उनले संस्थाभित्रको गुटबन्दी अन्त्य गरी ‘एक मन, एक संगठन’ को अवधारणा मार्फत सबैलाई एउटै छातामुनि ल्याउने संकल्प गरेका छन्।
विगत १५ वर्षदेखि जापानमा रहेर संघमा सक्रिय शेरचनले आफ्नो १५ बुँदे प्रतिबद्धता पत्रमा गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र प्रवासबाटै मतदान गर्न पाउने अधिकारलाई उच्च प्राथमिकतामा राखेका छन्। सर्वोच्च अदालतको परमादेश बमोजिम मतदानको अधिकार सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग प्रभावकारी समन्वय गर्ने उनले बताए।
साथै, भूतपूर्व गोर्खाहरूको समान पेन्सनको मुद्दामा बेलायत सरकारसँग भइरहेको वार्तालाई निष्कर्षमा पुर्याउन संस्थागत दबाब दिने र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सुरक्षाका लागि ‘श्रम डेस्क’ लाई सक्रिय बनाउने योजना उनले अघि सारेका छन्।
• नागरिकता र मताधिकार: संविधान प्रदत्त गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयन र सर्वोच्चको परमादेश अनुसार विदेशबाटै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न निर्णायक पहल गर्ने।
• गोर्खा मुद्दा: २०० वर्षदेखि अन्यायमा परेका भूतपूर्व गोर्खाहरूको समान पेन्सनका लागि बेलायत सरकारसँगको जीटूजी वार्तामा दबाबमूलक भूमिका खेल्ने।
• श्रमिक हित: वैदेशिक रोजगारीमा रहेकाहरूको सामाजिक सुरक्षा र हकहितका लागि ‘श्रम डेस्क’ लाई प्रभावकारी बनाउने।
• आर्थिक समृद्धि: ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ लाई २५ अर्ब रुपैयाँको बनाउने, साना लगानीकर्तालाई समेट्ने र श्रमिकलाई आईपीओमार्फत जोड्ने।
• संगठन सुधार: निर्वाचित भएको ६ महिनाभित्र विधान अधिवेशन गरी सदस्यता र निर्वाचन प्रणालीमा सुधार गर्ने तथा थाइल्याण्ड, म्यानमार लगायतका नेपाली मूलका समुदायलाई एनआरएन कार्ड उपलब्ध गराउने।
समर्थन र प्रतिक्रिया
कार्यक्रममा एनआरएनएका वर्तमान अध्यक्ष महेश श्रेष्ठले शेरचनलाई विवादरहित र समन्वयकारी व्यक्तित्वको रूपमा चित्रण गरे। उनले शेरचनको नेतृत्वले संस्थाको एकतालाई दिगो बनाउने विश्वास व्यक्त गरे। श्रेष्ठले १० लाख नेपालीले मासिक २० हजार बचत गर्दा वार्षिक २ खर्ब पुँजी जम्मा हुने तथ्यांक प्रस्तुत गर्दै अब ठूला परियोजनामा लगानी गर्नुपर्ने बताए।
त्यस्तै, पूर्वअध्यक्ष भवन भट्टले लिखित सन्देशमार्फत शुभकामना दिए भने हिक्मत थापा, सोम लामा, राजेन्द्र कुमार शर्मा, यास्मिन बेगम, टीका गुरुङ लगायतका प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति थियो। एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले स्वागत गरेको कार्यक्रममा विभिन्न देशका एनसीसी पदाधिकारी र राजनीतिक दलका प्रवास संगठनका प्रतिनिधिहरूले शेरचनको जित सुनिश्चित रहेको भन्दै समर्थन जनाएका थिए।



