काममा ‘जाँगर मार्ने’ दिमागको नशा पत्ता लाग्यो: डिप्रेसनको उपचारमा नयाँ आशा

-


     जनहित न्युज    
     पौष २६ गते २०८२


क्योटो (जापान) । काम गर्ने बेला किन अल्छी लाग्छ? वा असफलताको डरले किन हामी कुनै काम सुरु गर्न हिचकिचाउँछौं? क्योटो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यसको जैविक कारण पत्ता लगाएका छन्। उनीहरूले दिमागमा यस्तो एउटा स्नायु प्रणाली (Neural Circuit) फेला पारेका छन्, जसले मानिसको उत्साहलाई रोक्ने ‘ब्रेक’ को काम गर्छ।

यो अनुसन्धान जापानी निहोन बाँदर (Japanese Macaque) मा गरिएको थियो। अमेरिकी वैज्ञानिक जर्नल ‘करेन्ट बायोलोजी’ (Current Biology) को अनलाइन संस्करणमा जापान समय अनुसार १० तारिख (आज) यो अध्ययन प्रकाशित भएको छ।

कसरी काम गर्छ यो ‘ब्रेक’ ले?

मानिसहरू अक्सर काम बिग्रिएला वा हाकिम/अरूबाट गाली खाइिएला भन्ने डरले कुनै काम सुरु गर्न आनाकानी गर्छन्। चिकित्सा विज्ञानमा यसलाई “स्वस्फूर्त इच्छाशक्तिको कमी” (Loss of Spontaneous Volition) भनिन्छ, जुन विशेषगरी डिप्रेसन (Depression) वा पार्किन्सन्स (Parkinson’s) रोग लागेका बिरामीहरूमा धेरै देखिन्छ।

यसअघि वैज्ञानिकहरूलाई दिमागले कामको बोझ आँकलन गर्छ भन्ने त थाहा थियो, तर यसको सूक्ष्म प्रणाली (Mechanism) बारे जानकारी थिएन। क्योटो विश्वविद्यालयको टोलीले पत्ता लगायो कि दिमागको ‘भेन्ट्रल स्ट्रिएटम’ (Ventral Striatum) र ‘भेन्ट्रल प्यालिडम’ (Ventral Pallidum) नामक दुई भागलाई जोड्ने नशाले काम गर्ने इच्छालाई दबाउन भूमिका खेल्छ।

बाँदरमा गरिएको अनौठो प्रयोग

अनुसन्धानकर्ताहरूले बाँदरलाई एउटा काम दिए। काम पूरा गर्दा इनामस्वरूप पानी पाइन्थ्यो भने असफल हुँदा वा गल्ती गर्दा अनुहारमा हावाको झोक्का (Air Puff) हान्ने दण्ड दिइन्थ्यो।

जब दण्डको डर हुन्थ्यो, बाँदरहरू काम सुरु गर्न हिचकिचाउँथे। तर, वैज्ञानिकहरूले जब माथि उल्लेख गरिएको ‘जाँगर मार्ने नशा’ (Neural Circuit) को कामलाई कृत्रिम रूपमा बन्द (Suppress) गरिदिए, तब बाँदरहरूले दण्डको परवाह नगरी तुरुन्तै र बिना कुनै हिचकिचाहट काम सुरु गरे।

डिप्रेसन उपचारमा क्रान्ति आउन सक्ने

अनुसन्धान समूहका अनुसार यो नशाले मानिसको काम गर्ने इच्छाशक्तिलाई नियन्त्रण गर्ने ‘ब्रेक’ को रूपमा काम गर्छ।

यदि भविष्यमा यो नशाको कामलाई सन्तुलित गर्न सकियो भने, कुनै पनि काम गर्न मन नलाग्ने, डिप्रेसनका कारण ओछ्यानबाट उठ्न नसक्ने वा पार्किन्सन्स रोगका कारण सुस्त भएका बिरामीहरूको उपचारमा ठूलो क्रान्ति आउने विश्वास गरिएको छ।


यो वैज्ञानिक खोजले मानिसको अल्छीपना वा डर केवल मनको वहम मात्र नभई दिमागको जैविक प्रक्रियासँग जोडिएको पुष्टि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?