
Screenshot
टोकियो: नयाँ वर्षको बिदा (Year-end and New Year holidays) नजिकिँदै गर्दा जापानमा घर फर्किने र घुम्न जाने यात्रुहरूको संख्या ह्वात्तै बढेको छ। ठूला झोला र सामान लिएर यात्रा गर्दा धेरैलाई लाग्न सक्छ— “सामान राख्नका लागि आफ्नै छेउको अर्को सिट पनि बुक गर्छु।” तर, के जापानमा एकै व्यक्तिले दुईवटा सिट बुक गर्न पाउँछ?
यस विषयमा JR वेस्ट (JR West) ले आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ।
एक व्यक्ति, एक सिट: JR को नियम
JR वेस्टका अनुसार, कुनै पनि यात्रुले सामान राख्ने प्रयोजनका लागि वा आरामका लागि एक्लैले दुईवटा सिटको टिकट काट्न पाउँदैनन्। कम्पनीले यसलाई “अनुमति नभएको कार्य” (NG) को रूपमा व्याख्या गरेको छ।
JR वेस्टका एक अधिकारीले भनेका छन्: “हामी एक व्यक्तिका लागि दुईवटा सिटको बुकिङ स्वीकार गर्दैनौं। आधारभूत नियम भनेकै एक व्यक्तिले एउटा मात्र सिट प्रयोग गर्ने हो। हामी चाहन्छौं कि धेरै भन्दा धेरै यात्रुहरूले सिटको सुविधा पाउन्।”
यो नियम रेलमा भीड नभएको समयमा पनि उत्तिकै लागू हुने कम्पनीले स्पष्ट पारेको छ।
ठूला सामान कहाँ राख्ने?
यदि तपाईंसँग ठूला सामान छन् भने JR ले निम्न उपायहरू अपनाउन सुझाव दिएको छ:
- सानो सामान: आफ्नै काखमा वा सिटमाथि रहेको सामान राख्ने ठाउँ (Overhead rack) मा राख्नुहोस्।
- अति ठूला सामान (Oversized Baggage): यदि सामानको तीनै तर्फको कुल लम्बाइ १६० देखि २५० सेन्टिमिटरको बीचमा छ भने, टिकट बुकिङ गर्दा नै “विशेष सामान राख्ने ठाउँसहितको सिट” (Seats with oversized baggage space) बुक गर्नुपर्नेछ।
नयाँ वर्षको रश: कहिले हुन्छ धेरै भीड?
JR वेस्टले सार्वजनिक गरेको २०२५ डिसेम्बर २६ देखि २०२६ जनवरी ४ सम्मको तथ्याङ्क अनुसार:
- जाने समय (Down-bound): डिसेम्बर ३० तारिखमा सबैभन्दा धेरै भीड हुनेछ।
- फर्किने समय (Up-bound): जनवरी ३ तारिखमा यात्रुहरूको चाप उच्च रहनेछ।
सान्यो सिन्कानसेन (Sanyo Shinkansen) मा हालसम्म ४३ प्रतिशत सिटहरू बुक भइसकेका छन्।



