
टोकियो: जापान सरकारले विदेशी नागरिकहरूका लागि जारी गर्ने भिसा (प्रवेशाज्ञा) शुल्कमा भारी वृद्धि गर्ने तयारी गरेको छ। करिब ५० वर्षदेखि एउटै शुल्क कायम राखेको जापानले अब अमेरिका र युरोपेली मुलुकहरूकै स्तरमा शुल्क पुर्याउने गरी छलफल अघि बढाएको छ।
एनएचके (NHK) मा प्रकाशित समाचार अनुसार, सरकारले आगन्तुक विदेशी र विदेश भ्रमणमा जाने आफ्ना नागरिकहरूका लागि शुल्कमा हेरफेर गर्न लागेको हो।
विदेशीलाई भिसा शुल्क कति पुग्दैछ?
हाल जापान प्रवेशका लागि ‘सिंगल इन्ट्री’ (एकपटक प्रवेश गर्ने) भिसाको शुल्क ३,००० येन रहेकोमा त्यसलाई बढाएर १५,००० येन (करिब ९६ अमेरिकी डलर) पुर्याउने प्रस्ताव गरिएको छ। यो शुल्क वृद्धि हालको तुलनामा ५ गुणा बढी हो।
सरकारले सत्तारुढ दलहरूसँगको छलफलपछि आगामी वर्षको संसद सत्रमा यससम्बन्धी कानुन संशोधन गर्ने र आउँदो जुलाई महिनादेखि नयाँ शुल्क लागू गर्ने लक्ष्य राखेको छ।
जापानी नागरिकलाई पासपोर्टमा भारी छुट
एकातिर विदेशीका लागि भिसा शुल्क बढाउने तयारी भइरहँदा, अर्कोतिर जापान सरकारले आफ्ना नागरिकहरूका लागि पासपोर्ट (राहदानी) बनाउने शुल्क भने उल्लेख्य रूपमा घटाउने भएको छ।
- १० वर्षे पासपोर्ट: हाल करिब १६,००० येन पर्ने १० वर्षे पासपोर्टको शुल्क घटाएर ९,००० येन कायम गर्ने योजना छ।
- ५ वर्षे पासपोर्ट: १८ वर्ष मुनिका बालबालिकाका लागि ५ वर्षे पासपोर्टको शुल्क ४,५०० येन बनाइनेछ।
- नयाँ नियम: १८ वर्षभन्दा माथिका नागरिकका लागि ५ वर्षे पासपोर्टको व्यवस्था खारेज गरी १० वर्षे पासपोर्ट मात्र जारी गर्ने तयारी गरिएको छ।
‘प्रस्थान कर’ (Departure Tax) बढ्ने संकेत
जापान घुम्न आउने विदेशी पर्यटकको संख्या बढिरहेको सन्दर्भमा सरकारले जापान छोड्दा लाग्ने ‘प्रस्थान कर’ (Departure Tax) मा पनि वृद्धि गर्ने बारे सत्तारुढ दलसँग छलफल गरिरहेको छ।
विदेशीबाट लिने शुल्क बढाएर र आफ्ना नागरिकको पासपोर्ट शुल्क घटाएर सरकारले विदेश भ्रमणमा जाने जापानीहरूमाथि पर्ने आर्थिक भार कम गर्न खोजेको विश्लेषण गरिएको छ।



