
टोकियो: जापान सरकारले विदेशी नागरिकहरूका लागि ‘स्थायी बसोबास’ (Permanent Residency) को अनुमति दिनुअघि जापानी भाषाको दक्षता (Japanese Language Proficiency) अनिवार्य गर्ने विषयमा गम्भीर छलफल अघि बढाएको छ।
भविष्यमा पीआर (PR) का लागि आवेदन दिनेहरूको संख्या बढ्ने अनुमान गर्दै सरकारले मापदण्डहरूमा परिवर्तन गर्न लागेको स्रोतलाई उद्धृत गर्दै जापानी सञ्चार माध्यमहरूले जनाएका छन्।
नयाँ व्यवस्था कहिलेदेखि?
सत्तारुढ ‘लिबरल डेमोक्रेटिक पार्टी’ (LDP) को एक समितिले सन् २०२७ को अप्रिलसम्ममा नयाँ मापदण्डसहितको प्रस्ताव तयार पार्ने अपेक्षा गरिएको छ। सोही समयमा जापानको ‘अध्यागमन नियन्त्रण तथा शरणार्थी मान्यता ऐन’ (Immigration Control and Refugee Recognition Act) को संशोधन पनि लागू हुनेछ।
प्रस्तावित मुख्य परिवर्तनहरू:
जापानमा विदेशीहरूको संख्या बढ्दै जाँदा सरकारले पीआर वितरणलाई व्यवस्थित र मर्यादित बनाउन निम्न विषयहरूमा छलफल गरिरहेको छ:
- भाषा अनिवार्य: अब पीआर पाउनका लागि निश्चित स्तरको जापानी भाषा जानेको हुनुपर्ने व्यवस्था हुन सक्छ।
- सामुदायिक तालिम: जापानी समाजका नियमहरू सिकाउने कार्यक्रमहरूमा सहभागिता जनाउनुपर्ने।
- आम्दानीको सीमा: पीआरका लागि आवश्यक न्यूनतम वार्षिक आम्दानीको सीमा बढाउन सकिने।
- पीआर रद्द हुन सक्ने: संशोधित कानुन अनुसार, यदि पीआर वाहकले जानाजान कर नतिरेको वा सार्वजनिक दायित्वहरू पूरा नगरेको खण्डमा उनीहरूको स्थायी बसोबासको अनुमति रद्द गर्न सकिने व्यवस्था गरिँदैछ।
विद्यार्थी र कामदारका लागि पनि कडाइ
सरकारले पीआर मात्र नभई विद्यार्थी र अन्य भिसामा रहेकाहरूका लागि पनि नियम कडा बनाउने संकेत गरेको छ:
- विद्यार्थीलाई काममा कडाइ: विदेशी विद्यार्थीहरूले हप्तामा २8 घण्टाभन्दा बढी काम (Part-time job) गर्न नपाउने नियमलाई थप कडाइका साथ लागू गरिनेछ। साथै, जापान आउनेबित्तिकै कामको अनुमति (Work Permit) दिनुको सट्टा, विद्यार्थीको शैक्षिक प्रदर्शन (Academic Performance) हेरेर मात्र कामको अनुमति दिने प्रक्रियाबारे विचार भइरहेको छ।
- वर्किङ भिसाको दुरुपयोग रोक्ने: ‘इन्जिनियर’ वा ‘ह्युम्यानिटिज’ (Specialists in Humanities) भिसामा रहेका कामदारहरूलाई उनीहरूको योग्यता बाहेकको ‘अदक्ष श्रम’ (Unskilled labor) मा लगाउने कम्पनी र एजेन्सीहरूमाथि निगरानी बढाइनेछ।
तथ्यांक के भन्छ?
अध्यागमन सेवा एजेन्सीका अनुसार, गत जुन महिनाको अन्त्यसम्ममा जापानमा विदेशी बासिन्दाको संख्या कीर्तिमानी ३९ लाख ६० हजार पुगेको छ। यसमध्ये सबैभन्दा ठूलो हिस्सा अर्थात करिब ९ लाख ३० हजार (कुल संख्याको २३.६ प्रतिशत) स्थायी बासिन्दा (PR होल्डर) रहेका छन्।
हाल जापानमा पीआर पाउनका लागि सामान्यतया १० वर्ष लगातार बसोबास गरेको हुनुपर्ने र आफूलाई पाल्न सक्ने आर्थिक क्षमता भएको प्रमाण पेश गर्नुपर्ने नियम छ।



