‘टोकियो सप्ताह–२०२५’ को उद्घाटन सम्पन्न, भक्तजनहरुको उल्लेख्य उपस्थिति

-


     जनहित न्युज    
     कार्तिक २३ गते २०८२


टोकियो ।
जापानमा एकिकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद(एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुसँगको सहकार्यमा आजदेखि नोभेम्बर १५ तारिखसम्म टोकियोमा संचालित हुने श्रीमद्भागवत ज्ञान महायज्ञ टोकियो सप्ताह- २०२५ को आजदेखि शुभारम्भ भएको छ।

जापानवासी नेपालीहरुले दाजुभाइ दिदीबहिनीको उल्लेख्य उपस्थितीमा वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल र महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले बिहान वैदिक विधिद्वारा महायज्ञको सुरुवात गर्नु भएको हो । विधिवत् रुपमा महायज्ञको शुभारम्भ पश्चात सनातन र बौद्ध धर्म अनुसार वैदिक विधिले तोकिएका पूजा गरि मण्डपमा कलशद्वारा परिक्रमा गरिएको थियो।

वैदिक विधिद्वारा महायज्ञको शुभारम्भ पश्चात औपचारिक कार्यक्रममा दुई धार्मिक गुरुहरु, जापानका लागि नेपाली दुतावासको कार्यवाहक राजदूत हरिहर पौडेल, गैर आवासीय नेपाली संघ अ्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रोविन शेरचन, एनआरएनएको उच्च स्तरीय समितिको महाधिवेशनद्वारा निर्वाचित अध्यक्ष महेश श्रेष्ठ, एनआरएनए एशिया प्यासिफिकका उप संयोजक दिपक कँडेल लगायतले नेपाली घर बनाएर नेपाली पनलाई प्रवासमा निरन्तरता दिने पवित्र उद्देश्य र प्रवासमा नेपाली कला संस्कृति सनातन धर्म, बुद्ध धर्मका बारेमा आगामी पुस्तामा हस्तान्तरण गर्न गराउन यस महायज्ञ कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै यस महायज्ञलाई सबैले आफु सक्दो सहयोग गर्न सम्पूर्णमा अनुरोध गरेका थिए।
धार्मिक गुरुहरुले आध्यात्मिकता, सेवा, सकारात्मक कर्म र समुदायबीच आपसी एकताको सन्देश दिँदै सप्ताहलाई सफल बनाउन सबैलाई आग्रह गरेका थिए।

औपचारिक कार्यक्रमको अध्यक्षता एनआरएनए अध्यक्ष सुभास लामिछाने, स्वागत वरिष्ठ उपाध्यक्ष टिकाराम खरेल र सञ्चालन महासचिव श्याम शितलले गरेका थिए ।
पहिलो दिन देखिएको हजारौँको सहभागिता कार्यक्रमको भव्यता र समुदायको संयुक्त शक्तिको प्रतीक बनेको उपस्थिति श्रद्धालु भक्तजनहरुको भनाइ रहेको थियो। उपस्थित भक्तालुजनहरुले प्रवासमा यस्तो महायज्ञ गरेर घरदेशको झल्को मेटिएको र आफूहरु धार्मिक कार्यमा सरिक हुँदा मनमा आनन्द मिलेको बताउँदै सबैलाई उपस्थिति र सक्दो सहयोगको आग्रह गरेका थिए।भक्तजनहरू भजनमा मंत्रमुग्ध भै झुमेका थिए।

नोभेम्बर ९ तारिख टुल्कु सोनाम गर्वाङ रिम्पोछेद्वारा बुद्ध अमिताभको अभिषेक,वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलको विशेष आध्यात्मिक प्रवचन र सत्सङ्ग भजन सत्र र झाँकी कार्यक्रम गरिने छ।
कार्यक्रमको पहिलो दिन एकिकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक नैतिक भौतिक लगायत हरेक कोणबाट उल्लेख्य योगदान पुर्याउनु हुने एनआरएनए आइसीसीका उपाध्यक्ष समेत रहेका जापानमा रहेका नेपाली मध्य प्रतिष्ठित व्यवसायी तथा समाजसेवी रोबिन शेरचनलाई दुवै धार्मिक गुरुहरुले विशेष सम्मान गरिएको थियो।

दोस्रो दिनदेखि दानवीरहरुलाई भव्य रुपमा नियमित रुपमा सम्मान गरिने समेत कार्यक्रम रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?