
टोकियो, जापान — “”बिकृति बिसंगति निर्मुल पारौ, संस्कृति संरक्षणमा हातेमालो गरौ” भन्ने मुल नाराका साथ, गोसवि मञ्च जापानले आगामी २०२५ मा प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
संस्थाका अध्यक्ष तेजेन्द्र के.सी. का अनुसार, विदेशमा रहेका नेपाली समुदायबीच सामाजिक एकता, खेलप्रतिको रुचि र नेपाली राष्ट्रिय खेल भलिबलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगिताबाट संकलित सहयोग रकमले बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ मा रहेको कोट मैदान आधारभूत विद्यालय र धवलागिरि आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग, साथै गलकोट भगवती मन्दिरको जिर्णोद्धार र मन्दिर परिसरमा स्थानीय ढुङ्गा छाप्ने कार्यलाई मुख्य प्राथमिकता दिइनेछ। अध्यक्ष के.सी. ले भने, “हामी जापानमा रहेर पनि हाम्रो गाउँठाउँको शिक्षा, स्वास्थ्य, खेलकुद, खेलमैदान तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्याउने प्रयासमा छौं। यो प्रतियोगिता त्यही प्रयासको एउटा अङ्ग हो।”
गोसवि मञ्च जापानले पहिलोपटक आयोजना गर्न लागेको यो खुला पुरुष भलिबल प्रतियोगिता जापानभर रहेका नेपाली भलिबल खेलाडी तथा टिमहरूका लागि एक ठूलो अवसर हुने अपेक्षा गरिएको छ। प्रतियोगितालाई सफल बनाउन जापानमा रहेका विभिन्न सामाजिक अभियन्ता, संघ–संस्था तथा सम्पूर्ण जापानवासी नेपालीहरूबाट उत्साहजनक सहभागिता प्राप्त हुने विश्वास आयोजकले व्यक्त गरेको छ।
गोसवि मञ्च जापानका महासचिव के.आर. नविन कुँवरले जानकारी दिँदै भने, “हामी सम्पूर्ण जापानबासी नेपालीहरूलाई हार्दिक निम्तो गर्न चाहन्छौं। यो प्रतियोगिता केवल खेलकुदमा सीमित छैन, यो हाम्रो एकता, सहयोग र नेपालीपनको प्रतिनिधित्व पनि हो। कृपया आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग गर्दै सहभागी भई दिनुहुन सबैमा अनुरोध गर्दछौं।”
आयोजक गोसवि मञ्च जापानका आर्थिक संयोजक नविन कुँवरका अनुसार, प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई नगद ¥300,000 (तीन लाख येन), साथै कप, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ।
दोस्रो स्थान प्राप्त गर्ने समूहले ¥200,000 (दुई लाख येन) सहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ भने, सान्त्वना स्थान हासिल गर्ने दुई टिमलाई जनही ¥50,000 (पचास हजार येन) र प्रमाण–पत्र प्रदान गरिनेछ।
प्रतियोगिता अवधि भर हरेक प्रतियोगितामा उत्कृष्ट खेलाडिलाई म्यानअफ द म्याचको ट्रफीले पुरस्कृत गर्नुका साथै विधागत पुरस्कार तर्फ बेष्ट प्लेयर, बेष्ट स्पाईकर, मिड ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेण्डर, बेष्ट सर्भर र बेष्ट कोचलाई सम्मान गरिने खेल संयोजक प्रदिप खत्री(नेत्र) ले बताए प्रतियोगितामा खेलाडीको संख्यातर्फ अफिसियल १ जना सहित १२ जनाको सहभागिता रहन सक्ने छ भने हरेक सहभागि टिमले नेपालको प्रदेश वा सो सरह भन्दामाथि खेल खेलेका खेलाडी बढिमा २ जना समावेश गर्न पाउनेछन् । खेल प्रचलित नियम अनुसार नक आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने खेल संयोजक खत्रीको भनाई छ ।
निर्वतमान अध्यक्ष डम्मर खत्रीका अनुसार आफ्नो कार्यकालमा कर्मथलो जापानको खेल मैदानमा नेपाली खलाडीको खेल प्रदर्शन गर्ने लक्ष्य अहिले पुरा हुने भएकोमा खुशी लागेको बताए । खेल ०२ सेप्टेम्बर २०२५का दिन चिवा केनको चिवा स्पोर्ट्स सेन्टरमाबिहान ९ बजे देखि संचालनहुने र खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रुपमा प्रति समुह ४० हजार येन तोकिएको छ । खेल प्रतियोगिताको टाईसिट सेप्टेम्बर ०१ तारिक ५ बजे सार्वजनिकगरिने संस्थापक अध्यक्ष झविन्द्र खत्रीले बताए ।



