
जापानको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अन्तर्गतको कान्तो क्षेत्रीय समिति (२०२५-२०२७ कार्यकाल) को संयोजक पदका लागि दिपक सुबेदी ‘बिप्लब’ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
‘नवीन सोच, निष्पक्षता र पारदर्शी समाज निर्माण’ भन्ने नाराका साथ उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। बिप्लबले अग्रजहरूलाई सम्मान र नयाँ पुस्तालाई नेतृत्वमा प्रोत्साहन गर्ने मूल उदेश्य राख्दै सहकार्य, समन्वय र सहमति मा आधारित नेतृत्व दिने प्रतिवद्धता व्यक्त गरेका छन्।
लामो समयदेखि सक्रिय सामाजिक सेवाः
बागलुङ, गल्कोटमा जन्मिएका बिप्लब २०१५ सालदेखि जापानलाई कर्मभूमि बनाउँदै आएका छन्। उनले जापानमा निलुवा समाज जापान, गल्कोट स्पोर्ट्स क्लब टोकियो, गल्कोट समाज जापान, तथा खानागावा नेपाली कम्युनिटी लगायतका विभिन्न सामाजिक संस्थामा सदस्य, सचिव, उपाध्यक्ष र केन्द्रीय सदस्यका रूपमा अनुभव बटुलेका छन्।
उनले एनआरएनए जापानमा पनि सन् २०१५ देखि साधारण सदस्य भएर ,सन २०१९-२०२१ कार्यकालमा कान्तोको कार्यसमिति सदस्य, त्यसपछि २०२१-२०२३ मा सचिव, र हाल सन २०२३-२०२५ कार्यकालमा उपसंयोजकको जिम्मेवारी निभाएका छन्।
नेपाल हाउस निर्माण अभियानमा पहलः
जापानभर फैलिएका नेपाली संघसंस्थासँग समन्वय र सहकार्य गर्दै ‘नेपाल हाउस’ निर्माण अभियानलाई सफल बनाउने अठोट समेत सार्वजनिक गरेका छन्। उनले भने, “सबैले आ-आफ्नो ठाउँबाट एक इँटा थप्नुपर्छ, ‘नेपाल हाउस’ सम्पूर्ण जापानवासी नेपालीहरूको गौरव र पहिचान बन्नुपर्छ।”
सकारात्मक सोच र सहकार्यको अपिलः
‘हामी युवा मात्र होइनौं, हामी परिवर्तनको सोच हौं, सम्भावनाको दृष्टि हौं, समाधानको शक्ति हौं’ भन्ने भावनाका साथ बिप्लबले आगामी कार्यकालमा सबल, सरल र समावेशी समाज निर्माणका लागि सबैसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।



