
तातोपानीमा परि गम्भिर घाइते गलकोट नगरपालिका वडा नम्बर ८ काँडेबासका बालकको उपचारका लागि काँडेबास सेवा समाज जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
गत माघ १२ गते थालेपोखरामा भैंसीलाई खुवाउन तताएको तातोपानीमा परी घाईते भएका ४ वर्षीय बालक सुलभ बिकको उपचारर्थ समाजले सञ्चालन गरेको अभियानबाट संकलित २ लाख रकम बुवा केहरसिंह विकलाई हस्तान्तरण गरिएको कोषाध्यक्ष गोम बुढाथोकीले जानकारी दिए ।
सोमबार कांडेवासमा सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नम्वर ८ मा वडा अध्यक्ष तेजप्रसाद सापकोटाले घाईते बालकको उपचार खर्चमा सहयोग पुग्ने उद्देश्यले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै उक्त रकम सहि ठाउँमा सदुपयोग गर्न बालकका परिवारलाई आग्रह गरेका थिए ।
गम्भिर घाइते बालकको हाल पुष्पलाल मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पतालमा उपचाररत भैरहेको र स्वास्थ्यमा क्रमिक सुधार हुँदै आइरहेको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक अवस्था अत्यन्त नाजुक रहेको र आम्दानीको स्रोत कतैबाट पनि नभएको हुदाँले घाइते बालकको उपचारका लागि आर्थिक अभाव नहोस भनेर समाजले आर्थिक संकलनमा अभियान सञ्चालन गरिएको कोषाध्यक्ष बुढाथोकीले बताए ।
कार्यक्रम काँडेबास सेवा समाज जापानका सल्लहकार तेजेन्द्र बुढाथोकीको अध्यक्षता र समाजसेवी पदम बहादुर सलामीको सञ्चालनमा सम्पन्न भएको थियो ।



