
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताएका छन।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको छैटौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले देशका गाउँ–गाउँ र टोलटोलमा रहेर राजनीतिक परिवर्तन र जनचेतना विस्तारका लागि शिक्षकले खेलेको भूमिका अतुलनीय रहेको बताए।

प्रधानमन्त्रीले शिक्षा क्षेत्र र शिक्षक पेसालाई व्यवस्थित बनाउन अझै धेरै काम बाँकी रहेको बताए। उनले नेपालको राजनीतिका उच्च पदमा रहेका धेरैजसो व्यक्ति शिक्षक पृष्ठभूमिबाटै आएको समेत स्मरण गरे।
शिक्षक पेसालाई मर्यादित बनाउनका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिँदै उनले सङ्घीय शिक्षा ऐनलाई छिट्टै सङ्घीय संसद्मा पेस गर्ने तयारी भइरहेको बताए।
मुलुकको निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले अब आर्थिक सामाजिक तथा अन्य महत्वपूर्ण कामलाई अगाडि बढाइने जानकारी दिए ।
प्रधानमन्त्रीले हालैको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरेको र राजपत्रमा प्रकाशित हुने जानकारी दिँदै प्रधानमन्त्रीले सबै आन्दोलनको उचित सम्मान गरिएको बताए ।

जनयुद्ध, जनआन्दोलनको समायोजनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको तथ्य पेस गर्दै प्रधानमन्त्रीले समावेशी, समानुपातिक मूल्य तथा मान्यतालाई खोस्न भइरहेको प्रयत्नलाई असफल बनाउन सबैको सार्थक सहयोग जरुरी रहेको बताए।
प्रतिक्रियावादीको गल्तीबाट नेपाली जनता र जनताका प्रतिनिधिले विगतमा पनि पटक–पटक फाइदा लिएको र यसपटक पनि त्यस्तै हुने स्पष्ट पार्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र यसको मूल्य मान्यतालाई जोगाउन लागिपर्नुपर्ने स्पष्ट पारे ।
शान्ति सम्झौता, त्यसको नेतृत्वकर्ता र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने शक्तिलाई असफल बनाउने र घेरा हाल्ने प्रवृत्तिलाई असफल बनाउन क्रान्तिकारी शक्तिबीचमा साझा मत जरुरी रहेको बताए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग जस्ता महत्वपूर्ण विधेयक सङ्घीय संसद्मा पेस भइसकेको उल्लेख गर्दै प्रधान पछिल्ला दिनमा शान्ति सम्झौता विपरीतका क्रियाकलाप देखिए पनि त्यो क्रमशः पराजित हुने धारणा राखे ।
प्रधानमन्त्रीले जनविरोधी यस्ता कार्यकाविरुद्ध निरन्तर निगरानी र सतर्क हुनु जरुरी रहेको बताए । उनले त्यसका लागि सङ्गठन विस्तार र विचार निर्माणको काम गर्नुपर्ने उल्लेख गरे।
विगतमा घेरा हालेर सखाप पार्नेहरु नै यतिबेला पनि पुनः षड्यन्त्र गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विभिन्न धारामा विभक्त माओवादी शक्तिलाई पुनः एक ठाउँमा आउन त्यसले मद्दत गरेको बताए ।
विगतमा विविध कारणले पार्टी विभाजन हुन जाँदा जनतामा भ्रम पर्न गएकाले कमजोर देखिए पनि एउटै विचारमा केन्द्रित रहेका शक्ति पुनः एक ठाउँमा आएर मिल्नैपर्ने प्रचण्डको भनाइ छ।
विगत केही समय माओवादी शक्ति विभिन्न भङ्गलामा विभक्त भए पनि अब एक हुने समय आएको तर्क गर्दै प्रधानमन्त्रीले निकै ठूलो एकता हुने विश्वास पैदा भएको बताए।
प्रधानमन्त्रीले माओवादी धारका विगतमा सबै तीतामीठा, राम्रा–नराम्रा, अनुभवलाई आफ्नै अनुभवका रुपमा मूल्याङ्कन गरेर जानुपर्नेमा जोड दिए । उनले भने “निषेध गर्ने रुपमा नभई त्यसको समीक्षा गरौं । निष्पक्ष ढङ्गले समीक्षा गरौं । जुनसुकै धारमा लागेर ज्यान गुमाउनेलाई शहीदका रुपमा सम्मान गरौँ ।’
प्रधानमन्त्री प्रचण्डले फेरि एकपटक माओवादी शक्ति एकताबद्ध भएर परिवर्तनलाई सुदृढ बनाउने समाजवादको आधार बनाउने काममा सफल हुने दावी गरे ।
समाजवादको आधार तयार पार्नका लागि शिक्षक मोर्चाको भूमिका महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो । विचार र जनमत निर्माणका लागि शिक्षकको भूमिका असाध्यै महत्वपूर्ण रहेको तथ्य पेस गर्दै प्रधानमन्त्रीले वैज्ञानिक समाजवादका लागि पहल गर्न आग्रह गरे।
धेरै ठूलो सङ्घर्ष र बहसपछि मात्रै संविधानमा समाजवाद उन्मुख लेखिएको र मौलिक अधिकार थप गरिएको, महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम थारूलाई हकअधिकार प्रदान गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसलाई अझ सुदृढ गर्नका लागि सही विचारका आधारमा जनमत निर्माण गर्नुपर्ने बताए।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि प्रसाद सापकोटा, महासचिव देव गुरूङ, नेपाल शिक्षक संघका अध्यक्ष कमला तुलाधर,महासचिव लव किशोर यादव, नेपाल शिक्षक संघका बरिस्ठ उपाध्यक्ष एन पी शर्मा , नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष वि्ष्णु भण्डारी , अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक, अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानु भाइ महर्जन लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीको अध्यक्षता, उपाध्यक्ष नानुमाया पराजुलीको स्वागत र महासचिव निम बहादुर के सी को सञ्चालनमा सम्पन्न भएको थियो । बन्द सत्र मंगलबार र बुधबार हुनेछ।



