
नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई नै अर्थमन्त्री नियुक्तिका लागि सिफारिस गरेको छ । संसदीय समितिले सफाइ दिएलगत्तै शर्मा पुनः अर्थमन्त्री नियुक्त हुन लागेका स्रोतले बतायो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालका अनुसार नेता शर्मा पुनः अर्थमन्त्री हुनु हुनेछ । नेता शर्माले अर्थमन्त्रीबाट राजीनामा दिने क्रममा पार्टीले उहाँ निर्दाेष ठहर भएमा पुनः मन्त्रीमा पठाउने निर्णयअनुसार नै अब फेरि शर्मा मन्त्री बन्न लागेका हुन ।
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति सहभागी भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेपछि प्रतिनिधि सभाले संसदीय समिति गठन गरेको थियो । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति सहभागी नभेटिएको निष्कर्षसहित समितिले शुक्रवार प्रतिनिधि सभा बैठकमा पेश गरेको थियो ।
‘जुन आरोप लागेर उहाँले राजीनामा गर्नुभएको थियो, संसदीय समितिले सफाइ दिएपछि उहाँलाई नै मन्त्री बनाउनु पर्छ भन्ने पार्टीको निर्णय हो’ प्रचण्ड निकट स्रोतले लोकान्तरसँग भन्यो, ‘जनप्रिय बजेट ल्याएकोले कार्यान्वयनको जिम्मा पनि उहाँलाई नै दिनुपर्छ भनेर सिफारिस गरिएको हो ।’
असार २२ गते राजीनामा गरेका शर्मा २५ दिनपछि पुनः मन्त्रालय फर्किन लागेका हुन् । बालुवाटार स्रोतका अनुसार शर्मालाई आजै शपथ गराउने तयारी छ । अर्थमन्त्री नियुक्तिमा ढिलाइ हुँदा सरकारले चुनावको मिति घोषणा गर्न सकेको छैन ।
वृद्धभत्ताको उमेर घटाउनेदेखि कर्मचारीको तलब बढाउनेसम्म बजेटमा समेटिएका थिए । आर्थिक वर्षको बजेट साउन १ देखि कार्यान्वयनमा आएको छ ।



