नेपालमा सबैभन्दा बढी एक तले घर, १० तलेभन्दा बढी कति ?

-


     जनहित न्युज    
     कार्तिक १३ गते २०८०


नेपालमा बनाइएका घरहरूमध्ये सबैभन्दा बढी एकतले रहेका पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकानुसार नेपालभरका कुल ७५ लाख ५२ हजार ६६ घरमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एकतले रहेका पाइएको हो ।

दोस्रो धेरैमा दुईतले २८.७८ प्रतिशत, तेस्रोमा तीनतले ९.१७ प्रतिशत, चौथोमा चारतले १.३ प्रतिशत, पाँचौँमा पाँचदेखि साततले ०.६४ प्रतिशत, छैटौँमा आठदेखि नौतले ०.०१ प्रतिशत र १० भन्दा बढी तले घरहरू ०.००३ प्रतिशत रहेका देखिएको छ ।

तथ्यांकानुसार मधेश प्रदेशमा एक तला भएका घर सबैभन्दा बढी (८४.४२ प्रतिशत) छन् । पाँच वा सोभन्दा बढी तला भएका घर वाग्मती प्रदेशमा सबैभन्दा बढी (२.३४ प्रतिशत) छन् ।

तथ्यांकानुसार कुल घरहरूमध्ये सबैभन्दा बढी (२७.९५ प्रतिशत) चार वर्षसम्म पुराना छन् । सबैभन्दा कम १०० भन्दा बढी वर्षका घरहरू ०.५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले बताए ।

देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १०.२७ प्रतिशतले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ । उक्त संख्या सबैभन्दा बढी वाग्मती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८४१ मध्ये ४१ लाख २२ हजार ६९० (६१.८९ प्रतिशत) परिवारका कम्तीमा एक सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ । कुल दुई करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख नौ हजार १८१ जना अर्थात् २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको पाइएको हो ।

कुल एक करोड ४२ लाख ५३ हजार ५५१ पुरुषमध्ये २६.४२ प्रतिशत र कुल एक करोड ४९ लाख ११ हजार २७ महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा खाता छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८४१ मध्ये आठ लाख ३६ हजार १२७ (१२.५५ प्रतिशत) परिवारका कम्तीमा एक व्यक्तिले प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएको देखिएको छ । कुल १० लाख ८१ हजार ६४६ (५.६७ प्रतिशत) व्यक्तिले सो तालिम लिएको जनाइएको छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८४१ मध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएको तथ्यांक छ ।

उपप्रमुख तथ्यांक अधिकारी रेग्मीले करिब ६ लाखभन्दा बढी घरहरू रित्तो अवस्थामा रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?