जापानमा अन्य विदेशीको संख्या घट्दा नेपालीको जनसंख्या बढ्यो, झन्डै १ लाखको हाराहारीमा

-


     जनहित न्युज    
     चैत्र १६ गते २०७८


कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जापान सरकारले सिमा नियन्त्रण गरि विदेशी नागरिकहरूको प्रवेशमा गरेको कडाइका कारण अघिल्लो वर्षको तुलनामा सन २०२१ मा विदेशी नागरिकको संख्या ४.४ प्रतिशतले कमि हुदापनि नेपालीको संख्या बढेर ९७ हजार १०७ रहेको छ।
अध्यागमन सेवा एजेन्सीले जारी गरेको तथ्याङ्क अनुसार जापानमा बस्ने विदेशीहरूमा नेपालीहरूको संख्या छैठौ स्थान रहेको छ । गत वर्षको तुलनामा यस वर्ष १ हजार १ सय २७ जना नेपालीको संख्या बढेको तथ्यांकमा उल्लेख गरिएको छ ।

जापानमा चीन, भियतनाम, कोरिया, फिलिपिन्स, ब्राजिल पछिको ठुलो जनसख्यामा बसोबास गर्ने बिदेशीहरुमा नेपाली पर्दछन्। नेपालीपछि क्रमशः इन्डोनेसिया, अमेरीका, ताइवान र थाइल्यान्ड पर्दछ। कोरोनाको कारणले जापानमा बसोबास गर्ने माथी उल्लेखित टप १० मुलुकहरु मध्ये नेपाली बाहेक सबैको जनसख्या घटेको छ।
प्राविधिक इन्टर्न र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या क्रमशः २७ प्रतिशत र २६ प्रतिशतले घटेर हाल जापानमा विदेशीको संख्या कुल २७ लाख ६० हजार ६ सय ३५ पुगेको जनाएको छ । यो अघिल्लो बर्षको तुलनामा १ लाख २६ हजार ४८१ ले कम हो।
स्थायी रूपमा नै जापानमा बस्न अनुमति दिइएको विदेशीहरूको संख्या यस वर्ष सबैभन्दा ठूलो अर्थात् २.९ प्रतिशतले बढेर ८ लाख ३१ हजार १ सय ५७ पुगेको एजेन्सीले जनाएको छ।
जापानका ४७ प्रान्त मध्ये टोकियोमा सबैभन्दा ठूलो संख्यामा विदेशीहरू रहेका छन । जानकारी अनुसार टोकियोमा ५ लाख ३१ हजार १३१ विदेशीको बसोबास रहेको छ भने आइची केनमा २ लाख ६५ हजार १९९ ओसाकामा २ लाख ४६ हजार १५७, कानागावामा २ लाख २७ हजार ५११ र साइतामामा १ लाख ९७ हजार ११० विदेशीहरू बस्दै आएको बताईएको छ ।
अन्य प्रान्तमा विदेशीको संख्या गत वर्षको तुलनामा घटेपनि यामानाशी र शिमानेले थोरै वृद्धि भएको छ ।

जापानको अध्यागमन कानून उल्लङ्घन गरेको आरोपमा देश निकाला गरी स्वदेश फिर्ता पठाइने विदेशी नागरिकको सङ्ख्या एक वर्ष अघिको तुलनामा एक हजार ३२८ मा घटेर यस वर्ष ४,१२२ पुगेको छ महामारीको प्रभावका कारण धेरै उडान सेवाहरू बन्द भएका कारण यस्तो भएको बताईएको छ।
आधिकारिक तथ्याङ्कमा कूटनीतिज्ञहरू र विशेष स्थायी बसोबास गर्नेको संख्या समावेश गरिदैन । विशेष स्थायी बासिन्दाहरूको रूपमा कोरियाली र ताइवानीहरू हुन् जसका परिवारहरूले जापानी नागरिकता गुमाएर पनि दोस्रो विश्वयुद्ध पछि जापान मै रहे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?