जापानको भिसा रोकियो, अनि गायक बने बब्लू

-


     जनहित न्युज    
     भाद्र १४ गते २०७९


२०७० सालमा बागलुङको धम्जाबाट काठमाडौं टेक्दा कुनै सपना बोकेर आएका थिएनन् देवेन्द्र बब्लु । अनौठो शहरमा के बन्छु, के गर्छु थाहा थिएन उनलाई ।  

केवल थाहा थियो- अब मैले पनि काम गर्नुपर्छ ।  

तर कहाँ ?

दाइ प्रकाश सपूत केही वर्षअघि नै काठमाडौंमा संघर्षरत थिए । सङ्घर्षका क्रममा उनी रेस्टुरेन्टको दोहोरी साँझमा गीत गाउँथे । आफूले काम गर्ने रेस्टुरेन्टमा प्रकाशले भाइलाई पनि जागिर लगाइदिए । देवेन्द्र बिहान प्लस टु पढ्दै साँझ रेस्टुरेन्टमा काम गर्थे ।  

उनी वेटर थिए, तर काम भने भाँडा मस्काउनेदेखि सरफाइसम्म गर्नुपर्ने । स्टेजबाट भाइको काममा प्रकाशको आँखा गइरहन्थ्यो । देवेन्द्रको दु:खले मन कटक्क खान्थ्यो ।  

एक दिन जुत्ता खोलेर स्टेज चढेकी एक महिलाले झर्ने बेलामा देवेन्द्रलाई अह्राइन्- तलबाट मेरो जुत्ता ल्याइदेऊ त । 

देवेन्द्रले टाउको हल्लाउँदै उनको जुत्ता टिपेर माथिसम्म ल्याइदिए । भाइले जुत्ता टिपेको देखेपछि प्रकाशको आँखा टिलपिलायो । राति डेरा फर्कंदा उनी देवेन्द्रसँग अँगालो हाल्दै रोए ।  

वेटर गर्दाको सुरुवाती क्षण सकसलाग्दा थिए । भर्खर गाउँबाट आएका देवेन्द्रलाई मेनुमा राखिएका परिकारबारे थाहा हुन्नथ्यो । रेस्टुरेन्टमा आउने सेवाग्राहीले मेनु देखाउँदै अर्डर गर्थे । तर, देवेन्द्र बुझ्दैनथे । ‘पटकपटक सोध्न पनि गाह्रो । त्यतिबेला दाइले हेरिरहनुहुँदोरहेछ । तल ओर्लेर अर्डरबारे भनिदिनुहुन्थ्यो,’ देवेन्द्र सम्झन्छन् । 

दुई भाइ गोंगबुको साँघुरो कोठामा बस्थे । उनीहरू सुत्ने खाट पनि एउटा मात्र थियो । तैपनि एकअर्काबीच अथाह प्रेम र स्नेहले होला, दाजुभाइले अभावमा पनि खुसी हुन सिके ।  

०००

प्लस टुपछि देवेन्द्र जापान जाने तयारीमा लागे । सात महिना जापानिज भाषा पढेर उनले भिसा अप्लाई गरे । सबै प्रक्रिया पूरा भयो । भिसा आउनेमा विश्वस्त थिए । त्यतिबेला उनको एउटै लक्ष्य बनेको थियो- जापान गएर पैसा कमाउने । 

घरमा आश्वासन पनि दिएका थिए बब्लूले । भिसा आउने दिन उनी प्रतिमिनेट पर्खेर बसे । ‘७ बजे आउँछ भनिएको थियो । अरु साथीहरूको आयो । मेरो आएन । त्यसपछि कुरिरहेँ । १० बजेसम्म पनि नआएपछि इन्स्टिच्युटमा फोन गरेँ । उताबाट सरी जवाफ आयो,’ देवेन्द्र सुनाउँछन् ।

देवेन्द्रको भिसा लागेन । उनका सबै योजना भत्किए । आशाहरू निख्रिए । त्यसपछि बाथरुमभित्र गएर निकै बेर रोए । तर, मन बुझाउनुको विकल्प थिएन । उनले आफूलाई सम्हाल्दै प्रकाशलाई फोन गरे, ‘दाइ, मेरो भिसा लागेन ।’

दाइ दुःखी त भए । तर, देवेन्द्रलाई सम्झाउँदै भने, ‘तिमी दुःख नमान । जे इच्छा लागेको छ, त्यही काम गर ।’ त्यति नै बेला उनले दाइलाई भने, ‘अब म पनि गीत गाउँछु ।’

अचानक गीत गाउने कुरा कसरी आयो ? सम्झँदा दङ्ग पर्छन् देवेन्द्र । तर, उनलाई अब रेस्टुरेन्टमा गएर दाइले जसरी गीत गाउनु नै थियो । 

गाउँमा सानैदेखि गीत गाउन हुरुक्क हुन्थे देवेन्द्र । उनी मादल बजाउँथे । भाका हालेर गीत गाउँथे । आवाजले साथीभाइ पनि मोहित हुन्थे ।

जापान जाने रहर टुटेपछि उनले दोहोरी साँझ रोजे । एक जना दाइमार्फत एउटा रेस्टुरेन्टमा गए । उनी दुई दिन स्टेजमा गएर उभिए । तर, गीत गाउँदा टुक्का फर्काउन जानेनन् । गीतको भाका पनि बिग्रियो । रेस्टुरेन्टका सञ्चालकले झपार्दै भने, ‘कसले ल्याएको यसलाई । यस्तो भएन ।’ 

सञ्चालकको गालीले उनलाई नमीठो लाग्यो । 

भोलिपल्टदेखि उनले सबै कुरा नियाल्न थाले । गीत कसरी गाइन्छ ? मादल कसरी टाइमिङमा बजाइन्छ ? अरु बाजाहरू कसरी बजाइन्छ ? मसिनो गरी नियाले । नभन्दै एक हप्तामै उनले बाजाहरू बजाउन सिके, गाउन सिके । 

केही दिनपछि उनी पुनः स्टेजमा उभिएर गाउन थाले । उनले गीत गाउन थालेको केही दिनमै गेस्टहरू झुम्मिन थाले । उनको क्रेज बढ्न थाल्यो । 

साँझमा राष्ट्रियस्तरका कलाकार पनि आउँथे पाहुनाका रूपमा । उनीहरूलाई सम्मान गरिएको देवेन्द्र देख्थे । त्यतिबेला उनलाई लाग्थ्यो- म पनि यत्तिको चाहिँ हुनुपर्छ । 

उनी पप र आधुनिक गीत गाउँथे । ‘रेस्टुरेन्टमा गीत गाउँदा पैसा फालिदिए भने ठूलो कुरा लाग्थ्यो । मलाई एक जनाले २० हजार फालिदिनुभयो । त्यसपछि त मेरो चहलपहल नै छुट्टै,’ देवेन्द्र सुनाउँछन् । 

‘देवेन्द्रले गाएपछि पैसा झर्छ,’ रेस्टुरेन्टमा साथीहरूले भन्थे । 

साँझमा दोहोरी र दिउँसो रेडियो सगरमाथामा काम गर्थे देवेन्द्र । दुवैबाट राम्रो कमाइ हुने भएपछि उनलाई धान्न सजिलो हुँदै गयो । त्यतिबेला उनले थिएटरबारे सुनेका थिए । देवेन्द्रलाई थिएटरमा पुगेर नाटक सिक्ने रहर जाग्यो । त्यसपछि बिहान बिहान शैली थिएटर जान थाले । 

तीनतिर दौडनुपरेपछि धपेडी बढ्दै गयो देवेन्द्रको । उनलाई साँझको कामले थकित बनाउँथ्यो । उनले साँझ गीत गाउन छाडेर रेडियोमा मात्र काम गर्न थाले । थिएटरले यस्तो बनाइदियो कि उनको पूरा लगाव नै त्यसैमा बस्यो । गाउन, नाच्न, पढ्न, नाटक गर्नदेखि हर कुरा थिएटरमै गर्न पाइने । 

उनले निर्णय गरे- अब रेडियो पनि छाड्ने । 

रेडियो छाडेपछि फेरि आर्थिक सङ्कट आइलाग्नेवाला थियो । धन्न, त्यतिबेला दोहोरी ब्याटल गाएर चर्चित बनेका दाजु प्रकाशको सांगीतिक यात्रा उकालो लाग्न थालेको थियो । दाइको कमाइले उनलाई जागिर नगरी बस्दा पनि गाह्रोचाहिँ भएन । 

थिएटरबाट धेरै थोक सिके देवेन्द्रले । नयाँ नाटक शैलीले मञ्चन गर्दै थियो । मुख्य अभिनय देवेन्द्रकै थियो । नाटकमा एउटा गीत देवेन्द्रले लेखे । त्यो गीत यति रुचाइयो कि दर्शकहरू नाटक हेरेर फर्किंदै गर्दा गुनगुनाइरहेको पाउँथेँ । 

त्यतिबेला पहिलोपटक देवेन्द्रले आफ्नो रुचिबारे थाहा पाए । ‘म संगीतसँग सबैभन्दा नजिक रहेछु । मलाई संगीतको कीराले पहिल्यैदेखि टोकिरहेको रहेछ,’ देवेन्द्र सम्झन्छन् । 

देवेन्द्रले थिएटरका लागि तयार पारिएको ‘कसरी’ गीत रेकर्ड गरे । 

गीत रिलिज गर्दासम्म २ लाख खर्च भएको थियो । तर, गीतले पैसा उठाउन भने सकेन । ‘बल्लबल्ल खर्चको जोहो गरेर रेकर्ड गरेँ । तर, घाटा व्यहोरेपछि चिन्तित हुनुपर्‍यो,’ उनी सुनाउँछन् । 

यद्यपि, उनले गीतमाथि साधना भने गर्न छाडेनन् । 

०००

अचानक कोभिड महामारीका कारण देशभर लकडाउन सुरु भयो । लकडाउनले धेरैलाई शहरबाट गाउँ पुर्‍यायो । देवेन्द्र पनि लकडाउनमा गाउँ गए । कोभिडअघि देवेन्द्रले म्युजिक भिडियोको निर्देशन र फिल्महरूको असिस्टेन्ट डाइरेक्टरको काम गर्थे ।

लकडाउनले सबै कुरा ठप्प पारिदियो । गाउँमा ३ महिना बसिरहँदा उनले ‘म हाँसे हाँस्छ्यौ र’ गीत लेखे । यो गीतपछि निकै लोकप्रिय बन्यो । उनका सम्भावनाका बाटाहरू खुले । 

‘त्यही गीत रिलिजपछि मलाई निकै फोन र म्यासेज आउन थाले । कार्यक्रममा बोलाउन थाले,’ उनी सम्झन्छन् । लकडाउनकै बेला लेखेको गीत थियो- भेटै हुन्न कि !

गाउँका छिमेकी आन्टीले विदेशमा बस्ने अङ्कलसँग चिन्तित मुद्रामा भनिरहेकी थिइन्- ‘यस्तै लकडाउन भयो भने हाम्रो भेट हुन्न होला ।’

त्यो कुराले देवेन्द्रको मन चसक्क भयो । तत्कालै उनले गीत लेखे । गीतलाई उनले कम्पोज गर्न पठाए । 

उनी एउटा गीतको सुटिङ गर्न  गाउँ गएका थिए । त्यो सुटिङका क्रममा आधा घण्टा समय खाली भयो । बब्लूले त्यतिबेला भने, ‘मेरो गीतको डमी छ । लिप्सिङ गरौँ ।’

१५ मिनेटमा त्यो गीतमाथि सुटिङ गरेर युट्युबमा हाले । त्यसको प्रतिक्रिया अनपेक्षित रूपमा आयो । धेरै दर्शक/स्रोताले मन पराए गीत र भिडियो । ‘एकै ठाउँमा बसेर पनि सामान्य ढङ्गबाट राम्रो भिडियो बनाउन सकिने रहेछ भनेर प्रतिक्रिया आयो,’ देवेन्द्र सुनाउँछन् । 

त्यसपछि देवेन्द्रले निकै चर्चा कमाएको गीत हो ‘म त पर्खेको पर्ख्यै छु ।’ यो गीतबाट बब्लुका प्रशंसक बढेका छन् । लोकपप स्वादका गीतलाई रुचाउनेहरू बढेका छन् । 

०००

देवेन्द्रमा नयाँ काम गर्ने हुटहुटी बढ्दो छ । उनी हरेक गीतमा पृथकता दिने प्रयास गरिरहन्छन् ।

करिअरको सुरुवाती दिनमा दाइ प्रकाश सपूतको नामले उनमा चुनौती पनि थपिएको थियो । प्रकाशले दोहोरी ब्याटलपश्चात्, ‘बोल माया’, ‘गलबन्दी’ हुँदै लगातार संगीतमा फरक स्वाद दिइरहे । 

एकाएक उनी सेलेब्रिटी बने । देवेन्द्रलाई प्रकाश सपूतको भाइ भनेर चिनिनुमा गर्व त थियो नै । तर, आफूले अलग पहिचान बनाउनुपर्ने चुनौती पनि उत्तिकै थियो । 

आफूभित्र के रहेछ ?

देवेन्द्रले चिनिसकेका छन् । आफूले बनाएको बाटोमा हिँड्नुमा छुट्टै आनन्द पनि छ उनलाई । हिजो जापानको भिसा नलाग्दा भक्कानिएर रोएका थिए देवेन्द्र । त्यतिबेला उनले वरिपरि अन्धकार देखेका थिए । सायद, त्यही अन्धकारमा उनले संगीतको झिल्को भेटे । जसलाई बालेर बाटो पछ्याएका छन् ।

‘मभित्र कलाकारिताको कीरा रै’छ । त्यतिबेला खिल बस्ने गरी टोकेछ र आज त्यो बाटोमा हिँड्न पाएको छु,’ देवेन्द्र खुसी सुनिन्छन् । याे समाचार समर्पण श्री ले शिलापत्रका लागि लेखेकाे समाचार जस्ताकाे तस्तै साभार गरिएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?