लेखिका राधिका कल्पितको कथा सङ्ग्रह ‘सम्मोहन’ सार्वजनिक भएको छ। कथाका विषयमा लेखकहरू श्यामल, बिन्दु शर्मा, र हेम भण्डारीले आफ्ना विचार प्रस्तुत गरे। कार्यक्रममा श्यामलले ‘सम्मोहन’लाई सामाजिक र मनोवैज्ञानिक दृष्टिकोणबाट सशक्त र आशलाग्दो कृति भनेका थिए। ‘कथामा राजनीतिक प्रभाव नराखी सामाजिक यथार्थलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ,’ उनले भने, ‘पात्रहरूको मनोविज्ञानलाई मिहिन ढंगले चित्रण गरिएको छ।’
समालोचक बिन्दु शर्माले कथामा यथार्थ र अचेतनका दमित इच्छालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको बताइन्। उनले ‘सम्मोहन’लाई आदर्शको मुकुण्डो लगाएका पात्रहरूको संवेदनामा आधारित, मनोवैज्ञानिक गहिराइ भएको कृति भनेर प्रशंसा गरिन्।
पत्रकार हेम भण्डारीले कथाहरूले नेपाली समाजका पितृसत्तात्मक संरचनाको आलोचना गरेको र लैङ्गिक विभेदलाई उजागर गरेको बताए। उनले भने, ‘कथाहरूमा सामाजिक जटिलता र राज्यको उपस्थितिलाई मिहिन ढंगले प्रश्न गरिएको छ।’
यो कथा सङ्ग्रहमा लेखकले लैङ्गिक विभेद, सामाजिक विघटन, यौन मनोविज्ञान, र पितृसत्तात्मक चेतनालाई प्रमुख विषयवस्तु बनाउँदै कथा निर्माण गरेका छन्। कथाका पात्रहरूको विकास सजीव ढंगले गरिएको र लेखनमा कविता जस्तो भाषाको प्रयोग भएको टिप्पणीकारहरूको भनाइ थियो।
कार्यक्रम गजलकार एवं कवि बाबु त्रिपाठीले सञ्चालन गरेका थिए ।
सङ्ग्रहको प्रकाशन इन्डिगो इन्क प्रालिले गरेको हो, र यसको मूल्य ४९९ रुपैयाँ राखिएको छ।
आफू कुनै रहर र लहडले लेखन क्षेत्रमा नआएको भन्दै केही सामाजिक मुद्दाहरु बोकेरै साहित्यमा होमिएको साहित्यकार कल्पितको भनाई छ ।
तीन दसक भन्दा अगाडि देखि साहित्य साधनमा लागिरहेपनि भौतिक रुपमा साहित्यिक फाँटमा ढिलो उदाएकी राधिका कल्पित कविता क्षेत्रमा छोटो समयमै एउटा बेग्लै पहिचान बनाउन सफल कविका रुपमा चिनिन्छिन् । २०७७ सालमा `बरफका कोइलाहरु´ नामक कविता कृति साहित्यक बृत्तमा रुचाइएको कृति हो ।