एमाले नेता वामदेव गौतमले गिरिजाप्रसाद कोइराला, पुपष्कमल दाहाल प्रचण्ड र माधव नेपाल गणतन्त्र स्थापनाका महानायक भएको घोषणा गरेका छन् ।
१४ औं गणतन्त्र दिवसका अवसरमा शनिबार एक सन्देश जारी गर्दै गौतमले कोइराला, प्रचण्ड र नेपाल गणतन्त्रको नायक भएको घोषणा गरेका हुन् । ‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याइपुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेसका पार्टी सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो’, गौतमले लेखेका छन्, ‘उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न । अरु दुई जना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ ।’
गौतमले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्रविरोधीको संज्ञा दएिका छन् । तर, उनले ओलीको नाम भने लिएका छैनन् । ‘विडम्बना नै भन्नुपर्छ, नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा हुनुहुन्थ्यो’, गौतमले भने, ‘त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’
एमालेले गणतन्त्रको पक्षमा उभिने निर्णय गर्दा वर्तमान प्रधानमन्त्री केपी ओलीले निर्णयमा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । गौतमले गणतन्त्र स्थापनामा योगदान गरेका शहीदको सपना साकार पार्न दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेका छन् ।