बागलुङ समाज जापान तेस्रो रनिङ कप आयोजना गर्दै

-


     जनहित न्युज    
     असाेज ११ गते २०८०


बागलुङ समाज जापानले तेश्रो पुरुष रनिङ कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आगामी नोभेम्बर १ तारिख बुधवारका दिनमा समाजले आफ्नो तेस्रो रनिङ कप पुरुष भलिवल प्रतियोगिता गर्ने भएको हो ।

टोकियो नजिकै रहेको साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा गर्न लागिएको तेस्रो रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी थालिएको समाजका अध्यक्ष यमकान्त कँडेलले जानकारी दिए ।

सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको समाजले नेपालको राष्ट्रिय खेल भलिवलको प्रवासमा पनि प्रवर्द्धन र संरक्षण गर्दै जापानमा रहेका खेलाडीहरुलाई क्रियाशिल बनाई राख्ने उद्धेश्यका साथ प्रतियोगिता गर्न लागिएको अध्यक्ष कँडेलले बताए ।

समाजले खेल मार्फत युवाहरुमा अनुशासन कायम राख्न खेलकुदको संरक्षण र संवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य राखेको र यसका लागि खेलाडीको हौसला अभिवृद्धि गर्नु अत्यावश्यक देखिएकोले प्रतियोगिता आयोजना गर्न लागिएको समाजमा उपाध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतियोगितामा जापानमा रहेका विभिन्न सामाजिक संघसंस्थाबाट उत्सावपूर्वक रुपमा प्रतियोगि टिम सहभागी रहनेमा विश्वस्त रहँदै प्रवासमा रहेर पनि भलिबल खेललाई निरन्तरता दिन भलिबल प्रतियोगिता आयोजना गरिएको समाजका प्रवक्ता राम खत्रीले जानकारी दिए ।

अघिल्ला वर्षहरुमा संचालन गरिएको रनिङ कप प्रतियोगिताहरुलाई मध्यनजर राख्दै यस बर्ष हुन गइरहेको तेस्रो रनिङकप प्रतियोगिता विगतका वर्षहरुमा भन्दा थप उत्कृष्ट बनाइने प्रतिबद्धता समाजका महासचिव सचिन शर्माले व्यक्त गरे ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख येन, रनिङ कप, प्रमाणपत्र र मेडल यसैगरि द्धितिय हुने टिमलाई नगद २ लाख येन,कप, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ भने तेस्रो स्थान बनाउने टिमलाई नगद १ लाख येन, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाईएको छ ।

खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ४० हजार येन तोकिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बिभिन्न ६ बिधाका खेलाडीहरुलाई विशेष सम्मान गरिने प्रतियोगिताका संयोजक बसन्त थापाले जानकारी दिनुभयो ।
खेल संचालनका लागि नेपाल भलिबल संघ जापान शाखासँग प्राबिधिक समन्वय गरिने पनि समाजले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?