‘उच्च पदस्थ र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ’-प्रधानमन्त्री प्रचण्ड

-


     जनहित न्युज    
     असार १३ गते २०८०


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ६ महिनाको रिपोर्ट कार्ड संसद्‌मा प्रस्तुत गरेका छन्। बुधबार प्रतिनिधिसभाका बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको ६ महिने रिपोर्ट कार्ड सदनमा प्रस्तुत गरेका हुन्। 

प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका कार्यालयको लागि विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले लोकतन्त्रलाई छायामा पार्ने गरी देखिएका विकृतिविरुद्ध सुशासनको पक्षमा लड्ने भन्दै प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू हिजोदेखि पक्राउ पर्न थालेको बताएका हुन् । 

त्यस्तै उनले विकृतिविरुद्धको लडाइमा लागेको बताउँदै त्यसका लागि कुनै पनि मूल्य चुकाउन आफू तयार रहेको बताएका छन् । सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले सुशासनको पक्षमा लड्दा संसद् र जनताको साथ रहने विश्वास व्यक्त गरेका थिए । ‘वर्षौंदेखि विकृतिको डंगुर सफा गर्ने यो लडाइमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता रहेको महसुस गरेको छु,’ उनले भने, ‘यो लडाइँमा मलाई सदनको पनि र आम जनताको पनि अझ ठूलो हौसला र समर्थन प्राप्त हुने विश्वास गरेको छु । कुनै पनि मूल्यमा विकृतिका विरुद्धको यो लडाइँ अगाडि बढाइनेछ ।’

प्रधानमन्त्री दाहालले लोकतन्त्रसँग विकृति सच्याउने सामर्थ्य रहन्छ भन्ने कुराको विश्वास जनतालाई दिनुपर्ने बताए । उनले त्यसमा सरकार दृढ भएर अगाडि बढ्ने बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले सफल अनुसन्धान गरेको बताएका छन् । उनले उच्च पदस्थहरू कानुनभन्दा माथि हुन्छन् भन्ने कुराको अन्त्य गर्न लागिरहेको बताए । ‘नक्कली भुटानी शरणार्थी प्रकरण सरकारले गरेको सबैभन्दा ठूलो अनुसन्धान हो । यो सफल अनुसन्धानबाट कानुनको सर्वोच्चता मात्रै कायम गरेको छैन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ,’ उनले भने, ‘लोकतन्त्रभित्र देखा पर्ने समस्याको समाधान पनि लोकतन्त्रमा नै हुन्छ भन्ने यसपटक राम्रोसँग स्थापित भएको छ । उच्च पदस्थ र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ ।’

पूर्णपाठ

Sarkarka-6-mahina-bare-sambodhan-080-03-13

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?