सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ । बजेटको पक्षमा १४७ मत पर्यो भने विपक्षमा १०८ मत मात्रै पर्यो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा मत हालेका थिए।प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको हो ।
संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापाले नेपालको इतिहासमा विनियोनन विधेयकमाथि मतदानको यो पहिलो घटना भएको बताए । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘नेपालको इतिहासमा विनियोजन विधेयकमाथि मतदान भएको नजिर दर्ज भएको छ ।’
जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा.प्रकाश शरण महतले आर्थिक वर्षका लागि १७ खर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट पेश गरेका थिए।
यसअघि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले बजेट संशोधन नभए पास हुन नदिने बताउँदै आएका थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनको माग गरेपछि बजेटमाथि मतदान भएको थियो। सभामुख देवराज घिमिरेले ध्वनी मतका आधारमा पक्षमा रहेका सांसदको बहुमत भएकाले बजेट पारित भएको घोषणा गरिसकेका थिए।
लगतै एमालेका सचेतक महेश बर्तौलाले विपक्षमा बहुमत रहेको भन्दै मत विभाजनको माग गरेपछि सभामुख घिमिरेले मतदानमार्फत छिनोफनो भएको हो। बजेट पास भएसँगै दफावार छलफल शुरु भएको छ।