‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

-


     डम्मर बुढ़ा मगर     
     असाेज ११ गते २०८२


बागलुङ । निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विक झण्डै २० वर्षदेखि रातोमाटो विक्री गरेर दसैँ खर्च जोहो गर्दै आउनु भएको छ । दसैँका बेला ग्रामीण क्षेत्रमा बनेका मौलिक घरमा रातोमाटो र सेतो कमेरोले पोतिने हुँदा विकले गाउँलेका घरघरमै माटो पु¥याउँदै आउनु भएको छ । तर पछिल्लो पाँच वर्ष यता गाउँका घर पनि आयाति रङले पोतिन थालेपछि विकलाई दसैँ खर्च जोहो गर्न गाह्रो परेको छ ।

दसैँ आउनुभन्दा एक साता अगाडिनै घरका भित्ता, झ्याल र ढोका रङ्ग्याउने प्रचलन अहिले पनि छ । तर पहिले मौलिक रुपमा स्थानीय स्तरमा पाइने माटो, कमेरो र अन्य रङ प्रयोग हुने गरेकोमा अहिले बजारबाट ल्याउन थालेका छन् । एक दशक अगाडिसम्म दसैँका बेला १०० घरमा माटो पु¥याउने गरेको भन्दै अहिले १५ घरमा पु¥याउन पनि गाह्रो हुने बताउनुभयो । हिजोआज घरमा सिमेन्ट लगाएपछि माटो र कमेरो प्रयोगमा आउन छोडेको उहाँ बताउनुहुन्छ ।

“जमाना फेरिए, गाउँका घरमा पनि धेरैले सिमेन्ट लगाए, पहिले कमेरो लगाउने भित्तामा अहिले इनामेल र अरु रङ लगाउन थाले, पहिले एकै दिनमा रु सात सयसम्म पनि हुन्थ्यो, अहिले पाँच दिनमा पनि सात सय हुँदैन, माटो पनि विक्री गर्छन् भनेर गिज्याउँछन्” उहाँले भन्नुभयो – “दसैँका लागि खर्च राम्रो जुट्थ्यो, यसपाली दुई हजार पनि कमाउन मुस्किल पर्ने भयो, पहिले गाउँमा माटो बेच्ने अरु पनि थुप्रै हुन्थे, अहिले त म मात्रै भएँ ।”

स्थानीय कलीकुमारी सुनारले पहिले रातोमाटो र कमेरो निकाल्ने ठाउँ झाडीले ढाकिएको सुनाउनुभयो । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले रातोमाटो र सेतो कमिरोले घर पोत्न छोडेको उहाँको भनाइ छ । माटो बेचेर पहिले दसैँका बेला १० देखि २० हजार कमाउने गरेको स्मरण गर्दै माटो विक्री हुन छोडेपछि आफूले अघिल्लो वर्षदेखि उक्त काम छोडेको सुनारले बताउनुभयो । गाउँमा पछिल्लो समय बसाइँसाइसमेत बढेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – “गाउँमा विकास आयो, सडकले बजारका सबै सामान गाउँमा ल्याउँदा गाउँ पनि अब बजार जस्तो हुन थाल्यो, हाम्रो पालामा बारीबाट रातोमाटो ल्याउन लाइन बस्नु पथ्र्यो, पहिले गाउँमा अहिलेका जस्ता पक्की घर थिएनन्, धेरै रातो माटो र केतो केमेरोले नै लिप्ने गर्थे, अहिले त गाउँमा मोटर गाडी आए, धेरैले पक्की घर बनाउन थालेपछि रातोमाटो र कमेरोले पोत्नै छोडे, रातोमाटो र कमेरो गाउँ पहिचानसँग जोडिएको हुन्छ, तर अब यो पहिचान हराउँदै गयो ।”

रातोमाटो र सेतो कमेरोले घर पोतिनु गाउँको मौलिकता हो । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि माटो कमेरोले घर पोतिन छोडेका हुन् । घर पोत्न थालेपछि गाउँमा दसैँको रौनकनै बेग्लै हुन्यो । तर अहिले त्यो रौनक निकै कम भएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?