
आउँदो अप्रिलबाट नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । जसमा विद्यालयले नयाँ भर्ना आह्वान गर्नेछन् । अहिलेकै ट्रेन्डअनुसार गए नेपालीसँगै विदेशी विद्यार्थी पनि भर्ना हुनेछन् । नेपाली पाठ्यक्रम र मौलिकता पढ्न लालायित देखिनेछन्, त्यो पनि – जापानमा ।
अहिले धमाधम वार्षिक परीक्षामा केन्द्रित भइरहेका विद्यालयले विदेशी भूमिमा नेपाली पाठ्यक्रमको विज्ञापन गर्नेछन् । विद्यार्थीको ध्यान खिच्न बल लगाउनेछन् । जापानमा रहेका नेपाली अभिभावक आफ्ना छोराछोरी नेपाली पाठ्यक्रममा आधारित स्कुलमा भर्ना गर्न चाहन्छन् । पछिल्लो समय बढ्दै गएका स्कुलका संख्याले पनि यसको माग बढिरहेको जनाउ दिन्छ ।
जसको पछिल्लो उदाहरण हो– जापानस्थित एभरेस्ट इन्टरनेसनल स्कुलको शाखा विस्तार ।
जापानमा संचालित यस स्कुलले आफ्नो शैक्षिक सेवा बिस्तार गर्ने क्रममा आराकावामा पनि शाखा बिस्तार गरेको छ । जसमा वैशाखमा सुरु हुने नयाँ शैक्षिक सत्रबाट पठनपाठन सुरु गर्ने प्रशासनको भनाइ छ । यस स्कुलमा नर्सरीदेखि कक्षा पाँचसम्म पढाइ हुन्छ । यो स्कुल स्थापना भएको यस्तो ठाउँ हो, जहाँ बालबालिकका लागि शिक्षामा सबैभन्दा धेरै अनुदान उपलब्ध हुन्छ । जापानको राजधानी टोकियोका २३ वटा वडा(कु) मध्ये आराकावालाई विशेष तरिकाले हेरिन्छ ।
प्रधानाध्यापक बिष्णुप्रसाद भट्टकाअनुसार किन्डर गार्डेन तहका विद्यार्थीलाई ५० प्रतिशत छूट पाउने सम्भावना यहाँ हुन्छ । त्यस्तै, कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीले पनि अवस्था हेरेर छुट पाउँछन् । त्यसबाहेक भर्ना शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था स्कुलको छ ।
पछिल्लो समय विदेशीने नेपालीको आकर्षक देशमध्ये जापान पनि एउटा हो । बढ्दो नेपाली डायस्पोरा र स्वदेशी भाषाप्रति उनीहरूको प्रेमलाई सम्बोधन गर्न एभरेस्ट स्कुलले भूमिका खेलिरहेको प्रधानाध्यापक भट्टले बताए । उनका अनुसार नेपालीहरू दिगोरुपमा जापानमै रहिरहन नसक्ने र पछि नेपाल आउँदा आफ्ना केटाकेटी नेपाली मौलिकताबाट पछाडि पर्ने डर पनि उत्तिकै छ । त्यसैले त्यस्ता अभिभावक र विद्यार्थीका लागि यस्ता स्कुल अपरिहार्य रहेको उनको भनाइ छ ।
यसअघि एभरेस्ट इन्टरनेसनल स्कुलले तीन स्थानबाट यस्तो शैक्षिक सेवा दिइरहेको थियो । हाल जापानकै ओकुबोमा किन्डर गार्डेन (एभरेस्ट किड्स), आशागायामा कक्षा एकदेखि तीनसम्म र ओगिकुबोमा कक्षा ४ देखि १२ सम्म पढाइ भइरहेको छ । र, आराकावामा नेपालीहरूको बाक्लो उपस्थिति हुन थालेको भन्दै स्कुलले त्यहाँ पनि साखा विस्तार गरेको हो ।
यो स्कुलको स्थापना र त्यसपछाडिको संघर्ष बुझ्न सन् दश वर्ष अगाडि फर्कनुपर्छ । सन् २०१२ को अन्त्यतिर तीन नेपाली साथीहरू कफी गफलाई भेट्छन् । कुनै औपचारिक र योजनाविना भएको भूपालमान श्रेष्ठ, भूषण घिमिरे र तिलक मल्लको कफी भेटमा एकाएक व्यवसायको प्रसंग आउँछ । र, आइडिया फुर्छ- नेपाली बालबालिकाका लागि जापानमा स्कुल खोल्ने । अर्थात् नेपालकै पाठ्यक्रमअनुसार पठनपाठन गरेर नेपाली डायस्पोरालाई आफ्नो भाषा र संस्कृतिसँग जाड्ने योजना बन्छ ।
नेपाली मौलिकता र शिक्षालाई विस्तारबारे योजना सुनाउँदा प्रायः सबैबाट प्रोत्साहन पाउँछन् । त्यतिबेला जापानमा नेपालीको संख्या बढ्दै थियो । तर, जापानी शिक्षा लिन विदेशी बालबालिकाका लागि कठिन हुन्छ । जसको विकल्पमा रहेका बेलायती वा अमेरिकी स्कुल तुलानात्मक रुपमा महँगा थिए । र, कमाउन विदेशीनुपर्ने नेपालीको बाध्यता र बालबालिकालाई शिक्षा दिनुपर्ने नैतिक दायित्वको चेपुवामा फसेका अभिभावकका लागि भरपर्दो मौलिक नेपाली स्कुल भरपर्दो विकल्प बन्नसक्ने सम्भावना थियो । र, यसैको पृष्ठभूमिमा स्थापना हुन्छ – एभरेस्ट इन्टरनेसनल स्कुल, जापान ।
सुरुवातमा त्यति विद्यार्थी यसमा थिएनन् । सन् २०१३ मा नर्सरीदेखि कक्षा ३ सम्म कक्षा संचालन गर्दा जम्मा १३ जना विद्यार्थी थिए । यद्यपि, यसका संस्थापकले निरन्तरता दिन छोडेनन् । स्कुल स्थापनाको पछाडि रहेको ‘सामाजिक उद्देश्य’ले हरेश खाने छुट दिएन । फलस्वरुप, विस्तारै कक्षा थपिँदै गए । विद्यार्थी बढ्दै गए । माथि उल्लेख गरेझैँ स्कुल अहिले आफ्नो चौथो साखा खोल्न सफल भइसकेको छ ।
आजको दिनसम्म आइपुग्दा नेपालीबाहेक साना कक्षामा अध्ययन गर्न आउनेमा जापानीका साथै केही अन्य देशका विद्यार्थीसमेत रहेको भट्टले सुनाए । ९५ प्रतिशत नेपाली विद्यार्थी हुँदा बाँकी जापानी/विदेशी विद्यार्थी छन् । अहिले कुल मिलाएर ४६० विद्यार्थी एभरेस्टअन्तरगत अध्ययनरत छन् ।
यसरी यो अवस्थासम्म आइपुगेको नेपाली विद्यालय जापानमा बस्ने हरेक नेपालीमा नेपालीपन ब्युँताउने एउटा अभियान थियो । व्यवसायिक पाटो त भइ नै हाल्यो, त्योभन्दा धेरै सामाजिक कारणले स्कुल स्थापनामा ऊर्जा दिएको भट्ट बताउँछन् ।
आफ्नो भाषा, संस्कृति र परम्परालाई नबिर्सिउन् भनेर नेपाली समुदायले बनाएको यो विद्यालय जापानमा रहेका नेपालीबीच लोकप्रिय छ । नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले बनाएको पाठ्यक्रममै आधारित रहेको नर्सरीदेखि कक्षा १२ सम्म एभरेस्टमा पढाइ हुन्छ । अंग्रेजी माध्यमबाट पढाइ हुने भएकाले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्न मद्दत पुग्ने विश्वास स्कुलको छ । तर, पाठ्यक्रमअनुसार नेपाली भाषा पनि पढाइ हुन्छ, जसले गर्दा विद्यार्थी आफ्नो भाषा र पहिचानसँग सदैब जोडिइरहन्छन् ।
यसका अलावा जापानी समुदायमा घुलमिल हुनुपर्ने नेपाली डायस्पोराको अर्को बाध्यता छ । जसलाई मध्यनजर गर्दै स्कुलले जापानी भाषा पनि अध्यापन गराउँछ । जसले विद्यार्थीलाई जापानी रहनसहनसँग पनि परिचित गराउन सहज बनाउँछ ।
यसरी विदेशमा नेपाली पाठ्यक्रम पढाउन नेपाल सरकारबाट अनुमति लिइसकेको हो त ? स्कुलका प्राधानाध्यापक भट्ट भन्छन्, ‘हामीले नेपाल सरकारको शिक्षा मन्त्रालयबाट आधिकारिक अनुमति पाएका छौँ । साथै, यो विद्यालय क्याम्ब्रिज इन्टरनेसनल स्कुलको रूपमा क्याम्ब्रिज एसेस्मेन्ट इन्टरनेसनल एजुकेसन(सी.ए.आई.ई) बाट पनि मान्यता प्राप्त छ ।’
सबैभन्दा महत्वपूर्ण कुरा त के भने, जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयले यस विद्यालयलाई ‘डेजीग्नेटेड इन्टरनेसनल स्कुलको रुपमा मान्यता दिएको छ । जसलाई अर्थ्याउँदै भट्ट थप भन्छन्– हामी’कहाँ अध्ययन गरेका विद्यार्थीहरू पछि नेपाल, जापान वा अन्य कुनै देशमा गएर सहजै आफ्नो पढाइ अगाडि बढाउन सक्छन् ।
नेपाली मौलिकतालाई जोड्ने सपना बोकेको एभरेस्टले त्यसमा केन्द्रित गरेर विभिन्न कार्यक्रम पनि गर्ने गर्दछ । नेपाली नयाँ वर्ष, दशैं, तिहार, ल्होसार जस्ता पर्वहरू धुमधामले मनाइन्छन् । साथै नेवारी परिकार बनाउने कार्यशालामा भाग लिएर आफ्नै परम्परागत खानाका बारेमा जान्ने मौका पाउँछन् । विद्यालय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः०० बजे देखि बेलुकी ५ः०० बजेसम्म सञ्चालन हुन्छ ।
अहिले नयाँ शैक्षिक सत्रलाई केन्द्रमा राखेर विद्यालयले किन्डर गार्डेनदेखि कक्षा ११ सम्मका विद्यार्थीका लागि प्री–भर्ना खुला गरिसकेको छ । यसरी नेपाली शैक्षिक सत्र बमोजिम नै भर्ना गर्ने यसले एसईई पनि नेपाल सरकारकै मातहतमा रहेर गराउँछ ।
भट्टका अनुसार यसबाट एसईई दिएका विद्यार्थीका उत्तरपुस्तिका जापानस्थित नेपाली दूतावासले उठाउँछ र परीक्षा बोर्डको प्रक्रियाअनुसार नै जाँच गरेर नतिजा निकालिन्छ । अन्य समयमा कस्तो पढाइ भइरहेको छ भनेर पनि दूतावासबाटै नियमित अनुगमन हुने गर्छ । ‘२५/३० जनाको दरमा विद्यार्थी हुने हुनाले अहिलेसम्म एसईईको नतिजा राम्रो आइरहेको छ । थोरै संख्या रहेकोले हरेक विद्यार्थी प्रत्यक्ष निगरानीमा रहेर पढाइन्छ । त्यसैले यहाँको नतिजा अहिलेसम्म उत्कृष्ट नै छ,’ उनले भने, ‘नेपाली पाठ्यक्रम पढाए पनि अन्य अन्तराष्ट्रिय अभ्यासलाई ब्लेन्ड गरेर हामीले व्यवहारिक शिक्षा प्रदान गरिरहेका छौँ । यसले थप आकर्षण थप्छ ।’
त्यस्तै, एभरेस्ट इन्टरनेसनलका व्यवस्थापन समिति अध्यक्ष भबन भट्टका अनुसार सो क्षेत्रमा नेपाली समुदायको संख्या बढेसँगै स्कुलको साखा विस्तार गरिएको हो । करिब ६५ जना प्रोमोटर्स रहेका यस विद्यालयमा विभिन्न मुलुकका शिक्षक र विद्यार्थी रहेका छन् ।
विद्यालयलाई बहुसांस्कृतिक बनाउन एभरेस्टले नेपाल तथा जापानका थुप्रै विद्यालयसँग पनि सम्झौता (एमओयू) गरेको छ । यसरी जापानजस्तो अति विकसित देशमा बहुसांस्कृतिक वातावरण बनाउन आफूहरूले महत्वपूर्ण भूमिका खेल्न सकेकोमा खुसी लागेको विद्यालयका नेपाली भाषा शिक्षक अर्जुन प्रसाद सडौलाले बताए ।
त्यस्तै, विद्यालयका संस्थापक अध्यक्ष डा. भूपालमान श्रेष्ठ जापानलगायतका नेपाली बाहुल्यता रहेको देशमा यस्ता विद्यालयको आवश्यकता बढ्दै गएको बताउँछन् । हाल जापानको टोकियो बाहिरका प्रदेश सरकारले समेत यस्ता अन्तर्राष्ट्रिय विद्यालय खोली बहुसंस्कृतिक वातावरण बनाउन एभरेस्ट स्कूललाई अनुरोध गर्न थालेका छन् । त्यसैले यस्ता स्कुलको आवश्यकता झन महसुस भइरहेको बुझाइ विद्यालय व्यवस्थापन समितिको रहेको छ ।
यसरी विदेशी भूमिमा स्वदेशी पाठ्यक्रम र कलासंस्कृति सिकाउने विद्यालयहरू बढ्नुलाई गौरव ठान्छन्, जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी । साथै यसले नेपाली भाषा र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउ पुर्याएको उनको बुझाइ छ । जसमा सही थप्दै विद्यालयका सह–प्रधानाध्यापक राजेन्द्र तामाङ भन्छन्, ‘अब हामी यसलाई थप अगाडि बढाउने सोचमा छौँ । विद्यालयलाई बहुभाषिक र बहुसांस्कृतिक बनाउन मानवस्रोत अझै थप्ने हाम्रो योजना छौँ ।’