आपत्‌ परेका बेला सजिलै गुहार माग्न सकिने मोबाइलको यो फिचरबारे तपाईंलाई थाहा छ ? 

-


     जनहित न्युज    
     जेठ १३ गते २०७९


०७१ मा आयोजना भएको सौन्दर्य प्रतियोगितामा सहभागी भएकी एक युवतीले आयोजकले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् । आफूलाई पेय पदार्थमा केही मिसाएर दिएकाले आफू अर्धबेहोस भएको र सोही अवस्थामा आफू बलात्कृत भएको उनले बताएकी छन् । 

जोकोहीलाई यस्तो स्थिति निम्तिन सक्छ । त्यस्तो अवस्थामा के गर्ने ? बलात्कारजस्तो घटना नभए पनि अपहरण, कुटपिट वा लुट्ने नियतमा फस्नुभएमा के गर्ने ? अथवा होसमै रहे पनि यस्तो समस्याबाट के गरी बच्ने ? कसलाई पहिला सम्पर्क गर्ने ? कसरी छिटो र धेरैलाई खबर गर्ने ? 

हामी अधिकांशसँग मोबाइल फोन छ । यस्तो समयमा आफूसँग भएको मोबाइलको सही प्रयोग कसरी गर्ने भन्ने जान्न अत्यावश्यक छ । मोबाइल अन गरेर कसैलाई फोन गर्ने अवस्थामा हुनुहुन्न भने पनि तपाईंले फोनमार्फत समस्याको जानकारी दिन सक्नुहुन्छ । धेरै जनालाई एकै पटक सम्पर्क पनि गर्न सकिन्छ । मोबाइल फोनहरूमा यस्तो खास फिचर हुन्छ, जसबाट कसैलाई जानकारी गर्न मोबाइलको बाहिरी स्क्रिन अन गर्न आवश्यक पनि पर्दैन । 

एन्ड्रोइड वा आइफोनको यस्तो फिचरलाई ‘इमर्जेन्सी एसओएस’ फिचर भनिन्छ । इमर्जेन्सी एसओएस फिचर भनेको आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने फिचर हो । यो फिचर प्रयोग गरेर तपाईंले आफ्नो नजिकको जोकोहीलाई पनि आफू समस्यामा परेको जानकारी दिन सक्नुहुन्छ । यो प्रयोग गर्न तपाईंले पहिल्यै आफ्नो फोनमा फिचर एक्टिभेट गर्नुपर्ने हुन्छ । 

फिचर एक्टिभेट गर्ने तरिका

एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने आफ्नो फोनको सेटिङमा जानुहोस् । सेटिङभित्र ‘एड्भान्स फिचर’ भन्ने अप्सन देख्न सक्नुहुन्छ । त्यस अप्सनमा थिचेपछि तपाईंले कतै इमर्जेन्सी एसओएस अप्सन भेट्न सक्नुहुन्छ । त्यस अप्सनमा थिचेर अप्सन एक्टिभेट गर्न सकिन्छ । यदि सेटिङभित्र एड्भान्स फिचर भन्ने अप्सन भेट्नुभएन भने इमर्जेन्सी एसओएस लेखेर खोज्न पनि सक्नुहुन्छ । सुरुमा यो अप्सन सबै मोबाइलमा अफ नै हुन्छ । 

अन गरेपछि तपाईंको स्क्रिनमा तपाईंले सम्पर्क गर्न चाहने केही नम्बरको सूची राख्ने रिक्वेस्ट आउँछ । नम्बरहरू राखेपछि ती नम्बरमा तपाईंले इमर्जेन्सी एसओएस राख्नुभएको सूचनाको म्यासेज पनि जान्छ । 

आइफोन प्रयोगकर्ताले पनि सेटिङभित्र सिधै इमर्जेन्सी एसओएस अप्सन भेट्न सक्नुहुन्छ । जुन अप्सनमा गएर फिचर अन गर्न र सम्पर्क नम्बर राख्न सकिन्छ । 

कसरी गर्छ काम ?

एन्ड्रोइड फोनमा फोनको ‘पावर बटन’मा लगातार तीनपटक थिच्नुभयो भने यो फिचरले काम गर्छ । कुनै फोनमा चार अथवा पाँचपटक थिच्ने अप्सन पनि हुन सक्छ । आइफोनमा भने पावर बटन र ‘भोल्युम बटन’सँगै थिच्नुपर्ने हुन्छ । 

फिचर अन भएपछि अन्य प्रक्रियाका लागि तपाईंको फोनमा ब्यालेन्स भने अनिवार्य हुनुपर्छ । त्यसैले फोनमा ब्यालेन्स कहिल्यै खाली नराख्नुहोला । 

त्यसपछि तपाईंको फोनको वाइफाइ, डाटा र लोकेसन अन नभए पनि आफैँ अन हुन्छ । यसरी पहिला फिचरले तपाईंको एसओएस सम्पर्क सूचीमा भएको नम्बरमा सूचना पठाउँछ । त्यसपछि मोबाइलको लोकेसनको लिङ्क पनि नम्बरमा जान्छ । फिचरले फोनको अगाडि र पछाडि भएका दुवै क्यामेराले फोटो खिचेर नम्बरमा पठाउँछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?