नेवारलाई नजोडे बागलुङको पहिचान पूर्ण हुँदैन

-


     काजी गाउँले श्रेष्ठ    
     फागुन १५ गते २०७८


विक्रमको अठारौं शताब्दीको अन्त्य र उन्नाइसौं शताब्दीको प्रारम्भतिर उपत्यकाको खास गरी भादगाउँबाट बागलुङमा नेवारहरू आई बसोबास गरेको देखिन्छ । काठमाडौं, पाटन, बनेपालगायत अन्य स्थानबाट पनि नेवारहरू बागलुङमा आई बसोबास गरेको पाइन्छ ।

कोही जागिर खाएर, कोही व्यापार गर्न, कोही तामाखानीको ठेक्का लिएर, कोही जगात (कर) उठाउने ठेकेदार भएर नेवारहरू यहाँ आई बसोबास गरेको देखिन्छ । पर्वत राज्य (बागलुङ) नेपालमा एकीकरण हुनुभन्दा अघिदेखि यहाँ नेवारहरू आएको भेटिन्छ ।

भादगाउँ गोर्खालीले कब्जा गरेको १५ वर्षपछि भादगाउँका राजा रणजित मल्लको भित्रिनीपट्टिका छोरा अवधूत सिंह बागलुङमा आएका थिए । पर्वतका राजा कीर्तिबम मल्लबाट अवधूत सिंहले बागलुङ उपल्लाचौरमा १०० मुरी जग्गा बिर्ता पाएका थिए ।

अवधूत सिंहले उपल्लाचौरमा तेलिया इँटाको गारो र काठको कलात्मक थाम, झ्याल, ढोका भएको भव्य दरबार बनाएका थिए । उनका साथमा कला र प्राविधिक क्षेत्रमा दखल भएका नेवारहरू पनि आएको हुनुपर्छ ।

काठमाडौं उपत्यकामा जस्तै जमिनभित्र गाबको काठको डोंरहरू बनाई सीम भान्सादेखि दरबार रहेको ठाउँ उपल्लाचौरसम्म पानी ल्याइएको थियो । यहाँ आएपछि नेवारहरू व्यापार एवं अन्य पेसाबाट स्थानीयहरूसँग जग्गा–जमिन खरिद गरी रैथाने बने ।

बागलुङ चौरको नाउँमा हतिया शब्द थप भई बागलुङचौर हटिया नामकरण भएको थियो । गल्कोट, बलेवातिर नेवारहरू बसोबास गरेपछि गल्कोट हटिया, बलेया हटिया नामकरण हुन गएको हो ।

काठमाडौं उपत्यकाको कला र संस्कृति एसियामै नामुद भएकोले विश्व सम्पदा सूचीमा स्थान पाएको हो ।

त्यस्तो उच्च सभ्यता र संस्कृति रहेको ठाउँबाट आएका हुँदा नेवारहरू व्यापार गर्न, काँसको भाँडाकुँडा बनाउन, झ्यालढोकामा कलात्मक कारिगरी गर्न, घरबुना कपडा तयार गर्न, जनै बाट्न, टक मार्न (पैसा छाप्न), कपडा रङ्ग्याउन–सिलाउन, काँचो–पाको धागो बनाउन, विभिन्न परिकारहरू बनाएर खान, शास्त्रीय गीत, भजन, वाद्यवादन गाउन–बजाउन, घर बनाउन, औषधीमूलो एवं झारफुक गर्न, लेखापढी गर्न सिपालु थिए ।

दोस्रो विश्वयुद्ध समाप्त हुनुअगाडि नेवारहरूका घरघरमा तान चर्खा थिए । काँचो धागोलाई मकैको पिठोको माडमा उमालेर पाको बनाउने, तानमा धागो चढाउने, कपडा बुन्ने, धागो र कपडा रङ्ग्याउने आदि कार्यमा उनीहरू पोख्त थिए ।

गाउँ–बस्तीमा घरबुना कपडाको राम्रो खपत थियो । त्यति बेला विवाहको लागि केटी माग्दा ‘तान चलाउन, कपडा बुन्न जानेको छ/छैन’ भनी नेवारहरू सोधखोज गर्थे ।

दोस्रो विश्वयुद्धपछि आधुनिक स्वचालित कपडा मिलहरूबाट राम्रो, बलियो र सस्तो मूल्यका कपडाहरू भारतलगायत अन्य मुलुकबाट आयात भएपछि थोरै कपडा व्यापारीहरू मालामाल भए । घरेलु घरबुना कपडा उत्पादनको काम ध्वस्त भयो ।

बागलुङ बजारमा भीमसेन, गणेश, नारायण, राधाकृष्ण, विश्वकर्मा (हाल बुद्ध विहार) जस्ता मन्दिरहरू बनाएका नेवारहरू गुठीको व्यवस्था गरी, राति शास्त्रीयलगायत भजन, दिउँसो व्यापारलगायत काम गर्थे ।

लाखे नाच, माको प्याखँ (हनुमान नाच) रोपाइँ नाच, घोडा नाच, नागानगिनी नाच, ठेट्टर नाच आदि नचाउने, भदौरे जात्रामा तायोमचा, बास्सा, कटुवाल आदि नाच जात्रा निकाल्ने आदि विकसित सांस्कृतिक कार्यहरूको मञ्चन गरी बजार गुल्जार बनाउने, सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्ने कार्य तत्काल बागलुङ, गल्कोट र बलेवाका नेवारहरूले गर्दथे ।

मनोरञ्जनका अन्य साधन नभएको पहिलेको समयमा उपत्यकामा विकसित भएको जनस्तरीय भव्य–सभ्य सांस्कृतिक गतिविधिले मनोरञ्जन प्रदान गर्नुका साथै यहाँको रैथाने जात–जातिको सहज सद्भाव प्राप्त गर्न नेवारहरू सफल थिए ।

ववृजमान शाक्यले बनाएको ढलौटको सिंहको मूर्ति कालिका मन्दिरको उत्तर ढोकामा सानसाथ उभिएर रहेको छ । बागलुङका ह्याङु वज्राचार्य र च्वामु शाक्य तथा उनीहरूभन्दा पहिलेका नेवार कलाकारका बुट्टे नलीहरू ५–७ दशकपहिले काठमाडौंका घरानियाँका बैठक कोठा सजाउने कलाकृति थिए ।

बागलुङमा आधुनिक शिक्षाको जग हाल्ने विद्यामन्दिर स्कुल बनाउन ओमप्रसाद गौचन र मेधकुमार वैद्यको योगदान अविस्मरणीय छ । त्यस्तै बलेवा हटियाको स्कुल स्थापना गर्न देवराज श्रेष्ठको योगदान देखिन्छ ।

भक्तपुर नै बागलुङेहरूको मूल उद्गम थलो
संवत् १८४० मा पर्वतका राजा कीर्तिबम मल्लले भक्तपुरका राजा रणजित मल्लकी भित्रिनीपट्टिका छोरा अवधूत सिंहलाई उपल्लाचौरमा जग्गा बिर्ता दिएका र निकासी माफी गरिदिएका थिए । उक्त समयमा पर्वत राज्यका भण्डारे जगतराम प्रधान रहेको देखिन्छ ।

उपल्लाचौरमा अवधूत सिंहले तेलिया इँटाको, झिंगटीको छाना भएको, कलात्मक काठको खाँबा र झ्यालढोका भएको भव्य दरबार बनाएका थिए । पर्वत राज्य नेपालमा गाभिएपछि वि.सं. १८४३ मा अवधूत सिंहको बिर्ता अपहरण भएको थियो, राजा राजेन्द्रको पालामा सो बिर्ता थामिएको थियो । वि.सं. १८९६ सम्म अवधूत सिंहले उपल्लाचौरको खेत बिर्ता भोग गरेको देखिन्छ ।

१९१३ सम्ममा उपल्लाचौरमा नेवार र पर्वतेको कुरिया (घर) रहेको देखिन्छ । अवधूत सिंहलाई बिर्ता दिँदा ‘स्वस्ति श्री श्री’ लेखिएको छ । यसबाट उनको पर्वत राज्यमा पनि राजकीय सम्मान रहेको पुष्टि हुन्छ । उनीसँग उनका सहयोगीहरू पनि आएका थिए ।

उनीभन्दा पहिले बेनी, कुस्मा, बागलुङमा नेवारहरू आइसकेको देखिए तापनि बागलुङबारे उपत्यकाका नेवारहरूले उनकै समयमा जानकारी पाएका र रुचि बढेर गएको देखिन्छ । खास गरी भक्तपुरे नेवारहरू आएर बसोबास गरेपछि नै बागलुङचौरलाई बागलुङचौर हटिया भन्न सुरु गरिएको हो ।

उपत्यकाबाट बागलुङ आइपुगेका नेवारहरूमा प्रायः भादगाउँबाट आएका देखिन्छन् । बनेपाबाट बगाले खलक, भादगाउँ खौमाटोल डोको छेबाट साहू खलकः पसः खलः भादगाउँ खुम्बुबाट, पाण्डौ खलक भादगाउँ इकुछेबाट, सुन्डाँडाका संैय्जु खलक भादगाउँबाट, शाक्यमा कर्मी खलक पाटन र रामलाल शाक्यको पुर्खा काठमाडौं चोभारबाट बागलुङमा आएको पाइन्छ ।

त्यस्तै गरी दोलखा, पनौती, नाला, धुलिखेलबाट पनि आएका भनिएको छ । बागलुङे नेवारहरू धेरैजसो पाल्पाबाट आएको भन्ने पनि छ । गुल्मीको गेवाडी, रूपन्देहीको बेठरी, बन्दीपुर पोखरा हुँदै बागलुङमा नेवारहरू आएका दृष्टान्तहरू पनि छन् ।

बागलुङमा नेवारको आगमन
पर्वत राज्य नेपालमा गाभिएपछि बेनी सहर म्याग्दीबाट, बागलुङ हटिया पर्वत बागलुङको प्रशासनिक केन्द्र बन्यो । वि.सं. १८९७ मा बागलुङमा अड्डा (अदालत), टक्सार, कम्पु (सिपाही) सम्बन्धी कार्यालय रहेको पाइन्छ ।

१९०७ मा मलेपतीहरूको बन्डापत्रमा बागलुङचौर हटिया उल्लेख भएको हुँदा त्यो समयसम्म हालको पुरानो बजारको आधार तयार भइसकेको पाइन्छ ।

हालको पुरानो बजार बन्नुअघि नेवारहरू उपल्लाचौरमा रहने गरेको कुरा दरबारको भग्नावशेष र इतिहास भइसकेको उपल्लाचौरका कलजी धारा, गैरा धारा र कल्से धाराले पुष्टि गर्छ । हाल ती धारा लोप भइसकेका छन् ।

नेपाल उपत्यकामा गोरखालीहरूको घेराबन्दीपछि नेवारहरूले उपत्यका छोड्न सुरु गरेको भए तापनि भादगाउँका राजा रणजित मल्लको समयमा बिफरको महामारी चल्दा पनि बिफर आएकाहरूलाई भादगाउँबाट निकाला गरिएको थियो ।

नेपाल उपत्यका पृथ्वीनारायण शाहको नियन्त्रणमा आइसकेपछि नेवारहरूले सत्ता, अवसर, स्रोत र पहुँच गुमाए । उनीहरूमाथि विभेद सुरु भयो र उनीहरू उपत्यका छोडेर बाहिरिने क्रम बढेर गयो । रणबहादुर शाहको समयमा १८६२ मा बिफरको महामारीले गर्दा खोप नखोपाएका केटाकेटीलाई उपत्यकाबाहिर निकाला गरियो ।

नेवारहरू धेरै चाडपर्व मान्ने हुँदा सो धान्न नसकी रोजगारीको खोजीमा काठमाडौं उपत्यकाबाट बाहिरिएको पनि देखिन्छ । उक्त कारणहरूबाट उपत्यका छोड्ने नेवारहरू नेपालका अन्य क्षेत्रहरूमा झैं बागलुङचौर आइपुगेका हुन् ।

उनीहरू आउँदा बागलुङचौरको मध्यदेखि दक्षिणतर्फको सबै जग्गा भगवती गुठी, महेन्द्र पथदेखि उत्तर दक्षिणको पन्त, मालिका सिमदेखि ढोडेनीसम्मको जग्गा आचार्यहरूको बिर्ता र पौडेलहरूको नियन्त्रणमा रहेको र केही जग्गा माझकोटको जग्गा माझीको किपटकोे रूपमा रहेको अवस्था थियो ।

मलेपती आएपछि राजभण्डारीहरू उनीहरूको भान्जा भएको हुँदा बागलुङ आएका भन्ने चर्चा पनि सुनिन्छ । पैसामा टक मार्ने कामदेखि लेखापढी, औषधोपचार र अन्य कलाशिल्प तथा व्यापार–व्यवसायमा बागलुङे नेवारहरूले गरेको देखिन्छ ।

वि.सं. १८६२ मा इच्छाराम नेवार र जितराम नेवारलाई टक मार्ने (पैसा छाप्ने–कुँद्ने) आदेश सरकारबाट भएको देखिन्छ । सं. १९०२ को बागलुङ गौँडाको उत्तरपट्टिको भुइँतलाको दलिन–निदालमा लेखिएको अभिलेखमा “बाईस षानि बेनी वामी टक्सारका अड्डा बागलुङचौर गोरषेली पैसा टकसारको तहविल” लेखिएको र त्यसको अख्तियारी नरसिं प्रधानलाई भएको उल्लेख छ ।

बागलुङमा टक मारिएको पैसाका ढ्याकहरू आजभन्दा ५०–६० वर्षपहिले प्रशस्त पाइन्थ्यो । त्यो जमानामा बागलुङका नेवारहरूको घरैपिच्छे हाते तान थियो । २००३ सालसम्म कपडा बनाउने–बुन्ने कार्य जारी थियो ।

प्राणेश्वर राजभण्डारीकी पनि बज्यै जो भक्तपुरबाट बागलुङ बसाइँ सरेकी थिइन्, उनैले हाते तानबाट कपडा बुन्न सिकाएको भनाइ पनि छ ।

तत्काल काँसका भाँडाकुँडासमेत बनाउन बागलुङका नेवारहरू सिपालु रहेको देखिन्छ । जागिर खाने, लेखापढीको काम (अड्डा–मालमा) गर्ने, वैद्यको काम र झारफुकको काम, चौधरी तालुकदारको काम, नलीबुट्टा भर्ने काम, काठको काम र व्यापार–व्यवसाय निकासी–पैठारीको काम पनि नेवारहरूले गर्थे । कृषि–पेसा पनि प्रायले गरिआएका थिए ।

बागलुङ बजारका मठमन्दिरहरूको निर्माण र मरम्मत–सम्भारमा बागलुङे नेवारहरू
वि.सं. १८४० मा उपल्लाचौरमा भीमसेनस्थान स्थापना भइसकेको देखिन्छ । अवधूत सिंहले सो स्थापना गरेको हुनुपर्छ । त्यसैको नेराखेरा छहरा धाराको हनुमान् स्थापना भएको हुनुपर्छ ।

सं. १८८४ अघि लालसुब्बा नेवारले बाङ्गेचौरको उत्तरपूर्वबाट कालीगण्डकी झर्ने बाटोको ओढारमा (भीरगणेश) श्री ७ गजिन्द्र विनायक लम्बोदर गणेशको स्थापना गरेका थिए ।

राजनसिंह रा.भ.ले देउरालीमा १९१९ मा र १९८४ मा भीरगणेशमा घण्ट चढाएका थिए । १९४९ मा जुजुमानले नारायणचोकको सूर्यविनायक मन्दिर बनाई त्यसैताक त्यहाँको नागथानको स्थापना गरेको देखिन्छ । १९४९ मा भोला साहुले नारायण चोकको गणेशस्थानमा घण्ट चढाएको पाइन्छ ।

१९८३ सालमा मानबहादुर, टेकनारायण, अम्मरबहादुर, चित्रलाल श्रेष्ठ भारी खलकले लक्ष्मीनारायणको मन्दिर कम्पुटोलमा स्थापना गरेको देखिन्छ । च्वामुका बाजे हर्कमानले नौबिसे टोलको सिद्धिविनायक स्थापना गरेका थिए ।

पछि त्यहाँ श्यामप्रसाद ओझाले सानो मन्दिर बनाए । सं. १९९१ मा बमबहादुर श्रेष्ठले (आप्mनो पिता सन्तलाल र माता चन्द्रकुमारी श्रेष्ठको स्मृितमा) हाडेपाखामा माइकुटी स्थापना गरेको, त्यसभन्दा पहिले मलेपतीहरूले नारायणचोकको भीमसेन मन्दिर र त्यसपछि बुद्धिलाल चौधरीले उपल्लो भीमसेन मन्दिर बनाएको देखिन्छ । १९९४ मा नन्दकुमार श्रेष्ठले राधाकृष्ण मन्दिर बनाएको देखिन्छ ।

माझकोट टोलमा डहरभित्र स्थानीयले गणेश बनाएको देखिन्छ । डम्मरबहादुर श्रेष्ठ (ठूले साहु) ले मालिका गाउँमा सत्तल बनाएका र रातमाटामा हरिबहादुर श्रेष्ठ (बेठरी साहु) ले सरस्वतीको मन्दिर बनाएको भेटिन्छ । २००९ सालतिर बुद्धचोकमा बुद्धका प्रतिमा प्रतिस्थापित भएको पाइन्छ, त्यसभन्दा पहिले त्यहाँ विश्वकर्मा देउता टकसाल सञ्चालनार्थ स्थापना गरिएको थियो ।

सुल्डाँडाको भीमसेन न्यायाधीश कुलबहादुर श्रेष्ठका पुर्खाले स्थापना गरेको रहेछ । सं. १९१८ मा सुब्बा भवानीसिंह प्रधानले भगवती मन्दिरमा ठूलो घण्ट चढाएका थिए ।

कालिका भगवती मन्दिरको उक्त ढोकाअगाडिका आकर्षक पित्तलका सिंहमूर्तिहरू नयाँ बजारनिवासी हीराकाजी शाक्यका पिता वृजमान शाक्यले निर्माण गरेको यथार्थले नेवार अथवा शाक्यहरूमा मूर्तिकलासम्बन्धी विशेष ज्ञान भएको र त्यसको जगेर्ना गर्नमा यहाँका तत्कालीन नेवारहरूको उल्लेखनीय योगदान रहेको स्पष्ट हुन्छ ।

बजार नेराखेराको बाटोघाटो निर्माण र मरम्मत–सम्भारमा बागलुङे नेवारहरू

नारायणचोकका चौतारी भक्तिलालले नारायणचोकबाट कैलामपोखरीसम्म जाने बाटो र चौपारी एवं कैलाम पोखरी जुजुमानले बनाएका थिए । कालीगण्डकीको निरहेघाटमा नन्दकुमारका पत्नीहरूले २०१३ सालतिर झोलुङ्गे पुल बनाएका थिए ।

निरहे जाने बाटो बागलुङका राजभण्डारीहरूले, गौंडाकोटदेखि तित्याङ जाने बाटो अम्मरबहादुर (ग्वाली साहिँला) ले, काठेखोलाको पुल टीकाबहादुर राजभण्डारीले, चर्के ढाँडमाथिको साँघु अश्विनी कुमारले, आनन्द धारा र चौतारी डी. टेकनारायणले, लालीगुँरास चोकदेखि मरेपीपल जाने बाटो शेरजंग राजभण्डारीले, श्रीनगर टोलको बाटो भक्तिलालले, लोकतान्त्रिक चोकदेखि पुरानो सिनेमाहल चोकसम्मको बाटो हरिशंकर श्रेष्ठले बनाएका थिए भने सुल्डाँडाको पुरानो बाटोको मर्मत सिंहजंग राजभण्डारीले गरेका थिए ।

काठे खोला लुगा धुने जाने बाटोको वरपीपलका दुई चौतारी हीराकाजी शाक्य र भक्तिलाल शाक्यले र निरहेको सत्तल टोपबहादुरका पिता देवबहादुर विजुक्छेले बनाएका थिए ।

चिप्लेटीमुनि भकुन्डे जाने बाटोको वरपीपल पिता श्यामप्रसाद वझान्थाछेले बनाए भने मरेपिपल निवासी चिरञ्जीवीकुमार श्रेष्ठ तथा सहनशीला श्रेष्ठले छहरा पँधेरामा रहेको हनुमान् पौवालाई जगैदेखि पुनर्निर्माण गरी पक्की भवनका रूपमा पहिलो तला निर्माण गर्नमा योगदान गरेको देखिन्छ ।

त्यस्तै निरहे ओर्लने लाम्पाटामा नेवारहरूको दसौं र एघारौ दिनमा सम्पन्न गर्नुपर्ने “जाबो खाय्गु” कार्यका लागि हरिकुमार प्रधान र उज्यालुजङ्ग राजभण्डारीबाट संयुक्त रूपमा पानी ‘ट्याङ्की निर्माण गरेका थिए । त्यस्तै माईस्थान प्रवेश गर्ने मूल द्वारमा दिलप्रसाद प्रधानले पानी–ट्याङ्की बनाएका छन् ।

बागलुङको शैक्षिक गतिविधिमा नेवारहरूको योगदान
शिक्षाक्षेत्रमा पनि नेवारहरूको योगदान रहेको पाइन्छ । रामलालका बाजे, जनकलालका पिता बागलुङ तामाखानीका राइटार थिए । उनले आफ्नो समयमा नयाँ पिढीलाई साक्षर एवं शिक्षित बनाएको देखिन्छ ।

लक्ष्मीप्रसाद र उनका छोरा गणेश (बाङ्गे) गुरु पनि घरमै साक्षर बनाउने कार्यमा लागिपरेको देखिन्छ । कौ मास्टर (प्युठान) ले बागलुङमा अंग्रेजी शिक्षाको प्रारम्भ गरेको देखिन्छ ।

विद्यामन्दिर स्कुल र विद्यामन्दिर पुस्तकालय स्थापना गर्न ओमप्रसाद गौचन र सहकर्मी मेघकुमार वैद्यको अहम् भूमिका रहेको पाइन्छ । वीरेन्द्र रात्रि स्कुल बनाउन शास्त्रदत्त पन्त, बालकृष्ण नेभा र हरिहर श्रेष्ठको महत्त्वपूर्ण योगदान रहेको देखिन्छ ।

बिहुँमा शिक्षाको ज्योति छर्न भीमसेनप्रसाद श्रेष्ठ र चन्द्रकुमार शाक्यको योगदान रहेको छ । २०१० सालमा शाक्यहरूको पहलमा ज्ञानोदय पुस्तकालय स्थापना भएको पाइन्छ । चन्द्रकुमारी श्रेष्ठ र हरिबहादुर श्रेष्ठको पहलमा कालिका कन्यामन्दिर स्कुल बनेको हो ।

माथि उल्लिखित मन्दिरहरू, शिक्षालयहरूको बाटो, साँघु, पुल, चौतारी, पोखरी एवम् सत्तलहरूले बागलुङे नेवारहरूको सभ्यता र संस्कृतिको पहिचान दिन्छ ।

त्यो समयमा बागलुङे नेवारहरू कमाउन मात्र हैन, बजार गुल्जार तुल्याउन, समाजसेवा र चेतनाको ज्योति बाल्न पनि लागिपरेको देखिन्छ । उनीहरूको कार्यले बागलुङचौरलाई हटिया, बजारको रूप दिई हालको नगरका आधारहरू तयार भएको हो ।

संस्कृति र मनोरञ्जनको क्षेत्रमा नेवार
राधाकृष्ण, लक्ष्मीनारायण र बुद्धविहार आदि मन्दिरका सत्तलहरूमा बेलुका शास्त्रीय भजनहरू हुन्थे ।

माको प्याखँ (हनुमान नाच), जोगी नाच, रोपाइँ नाच, लाखे नाच, ठेट्टर नाच, नागानागिनी, घोडा नाच, सिकारी नाच, ताय्मचा, बास्सा नाच आदि भदौरे जात्राको आयोजना गरी यहाँका नेवारहरूले गाउँ–समाज रसपूर्ण बनाएका थिए । माफा, हल्ली, लुकामारी आदि खेल केटाहरू खेल्थे, केटीहरू पुतली खेल, ढुकुमुकु–ढुकुमुकु कसको हातजस्ता खेलहरू खेल्थे ।

प्रत्येक मन्दिरमा चाडपर्वमा पूजा गर्ने, बत्ती बाल्ने कार्यहरू केटीहरूले नै गर्थे । केही पाकाहरू पासा खेल खेलेको पनि देखिन्थ्यो । माको प्याखँ भक्तपुरमा रचना भएको अपेरा हो ।

यसको ताल, अखडा, नाच पोसाक, द्योल्हाय्, कम्पन, भजन, चोखो निस्ता आदि प्रस्तुतिले शारीरिक सुगठन र मानसिक शान्ति, एकाग्रता र शक्ति एवम् अनुशासन प्रदान गर्दछ ।

साधन–स्रोतका बाबजुद सयौं स्वयंसेवकहरूको समर्पण–भावबिना यो अपेरा नाच मञ्चन गर्न सकिँदैन । यसको प्रयोजन र संवर्धन स्थानीयले गरिआएकोमा हाल हनुमान् नाच संरक्षण परिषद्ले यसको परम्परा धान्ने कार्य गर्दै आएको छ । यो एसियामा नै नेपालले पस्कन सक्ने सांस्कृतिक सम्पदा हो ।

नाटक मञ्चनको क्षेत्रमा पनि यो जातिको पहल भएको देखिन्छ । वि.सं. १९७३ सालमा जन्मेजय, १९८६ तिर ध्रुवचरित्र, २००० तिर इन्द्रसभा आदि नाटक मञ्चन भएको पाइन्छ । पछिल्लो समय वैकुण्ठप्रसाद विजुक्छेले नाटक मञ्चनतर्फ गरेको योगदान विशेष देखिन्छ ।

आजभन्दा ५०–६० वर्षजति पहिले दलबहादुर शाक्यको लाखे, बुद्धिमानको कटुवाले घोक बेजोडको थियो । बुट्टेनली पछिसम्म बागलुङको विशेष पहिचान रहेको थियो ।

मोहनी नखाको अस्टमीमा राँगोको पहिलो बलि टक्सार (हालको बुद्धचोक) मा, त्यसपछि सूर्यविनायक नारायणचोक, त्यसपछि उपल्लो भीमचोकको भीमसेनस्थान, त्यसपछि तल्लो र सुल्डाँडाको भीमसेनस्थानमा दिइन्थ्यो ।

ती सबै ठाउँमा मन्दिरअगाडि मौला थिए । पन्नालाल शाक्य, हीराकाजी शाक्य, राधेश्याम राजभण्डारी (बङ्गारे) आफ्नो जमानामा राँगो मार हान्ने नामुद व्यक्तिहरू थिए । अस्टमीको सबेरैदेखि उनीहरू ठूलो खुकुरी लिई मार हान्न हिँड्थे ।

उनीहरूको पछि–पछि सयौंको कोलाहलपूर्ण भीडले माहोल निकैै उत्तेजित तुल्याउँथ्थो । सायद मोहनी नखाको रौनकको प्रारम्भ थियो त्यो, जो अहिले हराइसकेको छ ।

विविध क्षेत्रमा बागलुङे नेवारहरू
नारायणचोकको ओमप्रसादको घर विद्यामन्दिर स्कुल र कालिका भगवती मन्दिरको प्रारूप तयार गर्ने मेघकुमार वैद्य आप्mनो समयका प्राविधिक, शिक्षाप्रेमी र समाजविकासमा योगदान पु¥याउने व्यक्ति हुन् ।

हिरण्यबहादुर श्रेष्ठ र हेमलाल राजभण्डारी आप्mनो जमानाका कानुनची भएको देखिन्छ । बुद्धिलाल, सत्यलाल, डम्मरबहादुर आप्mनो जमानाका नाम चलेका व्यापारीहरू थिए ।

जुजुमान, नन्दकुमार र तिलकप्रसाद मलेपती आप्mनो जमानामा साहुकार थिए । त्यसैले होला, आजभन्दा ४०–५० वर्षअगाडिसम्म बागलुङे नेवारहरूलाई जो–कोहीले साहू भनी सम्बोधन गर्थे । नमिठो बोलीमा खिज्याउँदा भने नेवारहरूलाई कोदे, पाडा भनिन्थ्यो ।

बागलुङचौरलाई हटिया, हटियालाई बजार बनाउने क्रममा नेवारहरूले नारायणचोक, भीमचोक, राधाकृष्ण टोल, भक्तिलाल मार्ग, भोला टोल, देउराली चोक, नयाँबजार, कुनाबजार, कम्पुटोल, माझकोट टोल, किनारा टोल, सेरजङ्गरोड, सिंहजङ मार्ग आदि बनाएका थिए । वि.सं. १९५३ को एउटा कागजमा किनारा भन्सार उल्लेख छ । यसबाट त्यो समयमा किनारा टोल र माझकोट टोल बनिसकेको प्रमाण मिल्छ ।

नेपालभाषा (नेवारी) एसियाको प्राचीन भाषाहरूमध्ये एक भाषा हो । यहाँको नेपालभाषा भक्तपुरको भाषासँग बढी मिल्छ ।

बागलुङको नेपालभाषामा स्थानीय प्रवृत्ति बढी पाइन्छ । जस्तै जुगु (अर्थ भएको) लाई जु, ज्वेना (हुन्छ) लाई जेना, धुङ्का (सिद्ध्याई÷सकी) लाई धुङकालिङ्÷ धुङ्कानि,ं दुःनुगलय् (हार्दिक) लाई दुन्ने नुवलाङ्, इत्यादि । यहाँ नेपालभाषा लोप हुँदै छ ।

नयाँ पिढीकाले नेपाल (नेवार) भाषा बुझ्दैनन् । परिवारमा यो भाषा बोल्न कम हुँदै छ । भाषा जातिको पहिचान हो, यो हराए जाति हराउँछ । यसप्रति बागलुङको पहिचान बचाउन चाहनेहरूको ध्यान जान जरुरी छ ।

नेवारहरू उपत्यकाको कुन ठाउँबाट आएका हुन् भन्ने कुराको झल्को उनीहरूले मनाउने गरेको मुख्य चाडले दिन्छ । भादगाउँलेहरू बिस्केट नखा मनाउँछन्, पाटनकाहरू अक्षय तृतीया मनाउँछन् ।

बनेपालीहरू चासपुन्हि चण्डी पूर्णिमा मनाउँछन् भने काठमाडौंकाले इन्द्रजात्रा । चाडपर्वहरूसँग नेवारहरूको नङ र मासुको झैं सम्बन्ध छ ।

लक्ष्मीनारायण, भीमसेन (उपल्लो), सिद्धिविनायक (डहर गणेश), राधाकृष्ण र बुद्धको रथयात्रा शोभायात्रा आजसम्म बागलुङमा चलाउँदै आएका छन् । साथै कालिका भगवतीको रथयात्रामा शास्त्रीय भजन पनि शाक्यहरूले गाउने गर्दथे ।

कन्याहरूको इहीँ, बा¥हा र मृत्यु संस्कारमा न्हेनुमा, ङानुमा, जाबो खाय्उ र ताय्मचा जस्ता संस्कारले नेवारहरूलाई अन्य समुदायबाट छुट्याउन सकिन्छ । बागलुङे नेवारमा पर्वते खस संस्कृतिको गहिरो प्रभाव पनि छ ।

९० सालअघि नेवारहर ठुट्टे भोटो, कछाड, इस्टकोट र टोपी लगाउँथे रे ! त्यसपछि कमेज, सुर्वाल र टोपी लगाएको पाइन्छ । अचेल सर्ट, पाइन्ट, सुट, टाई आदि सबै प्रकारका कपडा लगाउँछन् ।

नेवार्नीहरूले चोलो, फरिया र पटुकी, हाकु पतासी (पर्सी) लगाउँथे, चुल्ठो बाट्थे । अचेल भने ब्लाउज, साडी, सुरुवाल कुर्था, जामा, सुरुवाल लगाउँछन् । नेवार र नेवार्नीका मौलिक पहिरन अचेल जात्रा–पर्वमा देखाउने कुरा भइसकेको छ ।

खानपानमा नेवारहरू धेरै परिकार बनाएर खान जान्ने समुदायभित्र पर्छन् । मासुको छ्वाय्ला, काँचिला, भुटुवा, तखा, बेला, सुकुला, ख्वाला, सेकुवा गरी दसौं प्रकारका परिकार बनाई खान्छन् ।

रोटीको कुरा गर्ने हो भने सिन्का मरी, चटा मरी, योमरी, वःमरी, फिनी मरी, चाकु मरी, चिनी मरी (अनर्सा), घ्यो झर्, अर्सा, जुम्ली अर्सा, सेल मरी, भोटा मरी, दुसी मरी, लाउजा मरी, छो मरी, सयगुली, रोट, लाखा मरी, कौडा मरीजस्ता बीसौं प्रकारका रोटी बनाई खाने गर्दछन् ।

रक्सीलाई वाःस भन्दै सगुनको रूपमा लिन्छन् । कसैले दही–अण्डालाई सगुन भन्दछन् । अचेल नेवारको मौलिक भोज–परम्परालाई बफे सिस्टमको भोजले पाखा लगाइदिएको छ । झ्वः भ्वय् कसरी सम्पन्न गर्ने, यहाँका नेवारले बिर्सिसकेका छन् ।

बागलुडका नेवार ढुङ्गाको गारो, फुसको छानो भएको दुईतले घरमा बस्ने गर्दथे । १९९० सालतिर माझकोट टोलमा फुसको छानो भएको घर आगलागीमा परेपछि पालीढुङ्गाको छानो राखी घर बनाउने प्रचलन बसेको हो ।

‘काठको मानो, ढुङ्गाको छानो’ भन्ने बागलुङको पहिचान त्यसपछि रहेको हुनुपर्दछ । त्यसपछि बार्दलीसहितको कर्नाललाई टेकोले अड्याउने गरेको तीनतले घर बागलुङ बजारमा प्रचलनमा रहेको देखिन्छ । राजा महेन्द्र माझकोट टोल हुँदै बिहुँ, गल्कोट पश्चिमतिर जाँदा १६ घरे पुतलीबजार भन्ने यही हो भनी परिचय गराइएको थियो रे ।

कुनै समयमा बागलुङलाई पुतली बजार भनेर पनि चिनिएको रहेछ । मेघकुमार वैद्यले टेको नराखी पाली छाउने र चौकोससहितको झ्याल ढोकाको प्रचलन ल्याएको भन्ने भनाइ छ । माझकोट, किनारा, नौबिसे, भोला, नयाँबजार, कम्पूटोल, राधाकृष्ण टोल, देउरालीचोक, नारायणचोक २०२९ सालअघिको बागलुङ बजार हो ।

त्यतिखेर रामरेखा (हालको २ नं. वडा, नं. ३ को गुठी) पातलो गाउँका रूपमा थियो । त्यो समयसम्म बागलुङ बजारको ९९% बस्ती नेवारको थियो । कालिका गाविस बन्दा त्यहाँ ३०% नेवारको बस्ती भएको पाइन्छ ।

बागलुङ नगरपालिका भएपछि २०६४ सालको एक सर्वेक्षणले ११ वटा वडामध्ये ६/७/८ र १० का वडामा नेवारहरू नभएको, एउटा वडामा मात्र दोस्रो स्थानमा रहेको, नगरपालिकाको कुल २४४३६ जनसङ्ख्यामध्ये ५% जति मात्र नेवारहरू रहेको देखाइएको छ ।

वि.सं.२००७ अघि एक–दुई परिवारले बागलुङ छाडी अन्यत्र बसाइँ सरी गएको देखिन्छ भने २००७ सालपछि त्यो सङ्ख्या क्रमिक रूपले बढेको छ । मेघकुमार वैद्यकै कुरा गर्दा फराकिलो कार्यथलोको खोजीमा बागलुङ छोडी पोखरा सर्नुभएको सुनिन्छ ।

राणाशासनको अन्त्यपछि केही फराकिलो वातावरण र अवसरहरूको सुलभता भयो । स्व. युक्तप्रसाद प्रधान, प्रेमलाल शाक्य, अग्निकुमार वझा, भरतकुमार प्रधानहरू उद्योग र व्यापारका क्रममा बुटवलतिर बसाइँ सरी गएको पाइन्छ । यी त प्रतिनिधि नाउँ मात्र हुन् । बागलुङे युक्तप्रसाद पश्चिम नेपालकै स्थापित उद्योगपति हुन सकेको देखिन्छ ।

औलो उन्मूलनपछि चितवनलगायत तराईका विभिन्न ठाउँमा जग्गा र जीविकाका लागि नेवारहरू पुगेको देखिन्छ । खास गरी पञ्यायतकालमा जागिर, शिक्षा, व्यापारका क्रममा बागलुङेहरू काठमाडौं बसाइँ सरी गएका छन् ।

कसैकसैले आफ्नो सुरक्षा र अपमानको कारण पनि यो थलोलाई छोडेको देखिन्छ । पढाइ, जागिर र व्यापार–उद्योगको अवसर खोजीकै क्रममा बागलुङेहरू पोखरामा बसाइँ–सराइ गरेको पनि पाइन्छ । वीरगन्ज, नेपालगन्ज, दाड, जाजरकोट, परासी, कपिलवस्तु, सुर्खेत, पर्वत, म्याग्दी, हेटौंडा, बनेपामा थोरै सङ्ख्यामा भए पनि यहाँका नेवार गई बसोबास गरेको पाइन्छ ।

आजको कुरा गर्ने हो भने भारतका विभिन्न ठाउँ, अमेरिकाका विभिन्न राज्य, स्पेन, बेल्जियमलगायत युरोप, जापानसम्म यहाँका नेवारहरू रोजगार र बसोबास गर्न पुगेको पाइन्छ ।

जहाँ गए पनि काठेखोलामा पौडी खेलेको, माईस्थान, खुन्द्रुके र निरहेमा धार्मिक एवं सांस्कृृतिक कार्यका लागि गएको, चैते दसैं र ठूलो एकादशीको मेलामा व्यापार गरेको–रमाएको, विद्यामन्दिर र कन्यामन्दिर, बाङ्गे गुरुकोमा पढेको, हनुमान् नाचमा उफ्रेको, विभिन्न जात्रा–चाडपर्वमा रमाएको, रातमाटा र तत्काल चौरको खेतमा चङ्गा उडाएको, माफा, हल्ली र लुकामारी खेलेको, आप्mना बालसुलभ क्षणको याद बागलुङे नेवारलाई आएकै हुन्छ ।

बागलुङबाट बाहिरिएका नेवारहरू प्रशासनमा श्यामसुन्दर र गोविन्दलाल, स्वास्थ्यमा डा. रामकुमार, डा. कृष्णचन्द्र राजभण्डारी, डा. पुकारचन्द्र श्रेष्ठ र डा. सरोेज वझा, शिक्षामा श्रीप्रकाश श्रेष्ठ, उद्योगमा युक्तप्रसाद र पुष्पमान श्रेष्ठ, न्यायक्षेत्रमा कल्याण श्रेष्ठ एवं रमनकुमार श्रेष्ठ, विज्ञान–प्रविधिमा डा. तेजकुमार र राममनोहर, स्वयमप्रकाश, त्यस्तै कृषिविशेषज्ञ श्यामप्रसाद राजभण्डारी, भरत शाक्य, बैंकिङ एवं फाइन्नान्स क्षेत्रमा श्यामप्रसाद श्रेष्ठ, गणेशशंकर, डा. रवीन्द्र एवं श्रवण कुमारको योगदान पनि अविस्मरणीय छ ।

केदारनारायण भारी, टोपबहादुर विजुक्छेजस्ता समाजका लागि योगदान गर्ने सयौं बागलुङे नेवारहरूको योगदानका कारणबाट पनि बागलुङको विकासमा योगदान रहेको देखिन्छ ।

बागलुङेको पहिचान बागलुङे नेवारहरूलाई अलग गरेर पूर्ण हुन सक्दैन । बागलुङे नेवारको मुलुकमा छुट्टै पहिचान कायम भएको छ । काडमाडौं, पोखरा र रूपन्देहीको बुटवल–भैरहवामा बागलुङ समाज बागलुङे हुनुको अनुभूति पनि हो ।

हामी बागलुङे नेवारहरू नेवा देय् दबूका संस्थापक मध्येका हौं । आज जातीय एवं पहिचानको भौगोलिक आँधी चलिरहेको समयमा हाम्रो बागलुङे पहिचानले मुलुकलाई सघाउ पुगोस् ।

भरोसा, सुरक्षा, शान्ति र प्रगतिको यात्रामा हाम्रो पहिचान सहायक सिद्ध होओस् । हाम्रो पहिचानलाई अझ खँदिलो बनाउनेतर्फ हाम्रो मति लागोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?