
सिजुओका, जापान
जापानको मध्य क्षेत्रमा पर्ने सिजुओका प्रिफेक्चरको मिशिमा सहरमा रहेको एक रबर फ्याक्ट्रीमा शुक्रबार दिउँसो भएको आक्रमणमा १५ जना घाइते भएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार, मिशिमामा रहेको ‘योकोहामा रबर’ (Yokohama Rubber) को फ्याक्ट्रीमा अपराह्न ४:३० बजेतिर आपतकालीन फोन आएको थियो, जसमा ५ देखि ६ जना मानिसलाई चक्कु हानिएको जानकारी दिइएको थियो।
ग्यास मास्क र केमिकलको प्रयोग
घटनाको प्रकृति निकै भयानक बताइएको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार आक्रमणकारीले ग्यास मास्क लगाएका थिए र ब्लिच (Bleach) जस्तो देखिने तरल पदार्थ मानिसहरूमाथि छर्केका थिए।
अग्निनियन्त्रक विभागका अनुसार घाइतेमध्ये ८ जनालाई चक्कुको चोट लागेको छ भने अन्य ७ जनालाई उक्त तरल पदार्थका कारण चोट पुगेको हुनसक्ने बताइएको छ। घाइते भएका १५ जना नै योकोहामा रबरका कर्मचारीहरू हुन्, जसको उमेर २० देखि ५० वर्षको बीचमा छ। राहतको कुरा के छ भने, सबै घाइतेहरू होस पूर्ण (conscious) अवस्थामा छन्।
३८ वर्षीय आक्रमणकारी पक्राउ
प्रहरीले हत्या प्रयासको अभियोगमा ३८ वर्षीय मासाकी ओयामालाई घटनास्थलबाटै पक्राउ गरेको छ। ओयामाले दिउँसो करिब ४ बजेतिर फ्याक्ट्रीका २८ वर्षीय एक पुरुष कर्मचारीलाई धारिलो हतियारले प्रहार गरेको आरोप छ।
घटनालगत्तै फ्याक्ट्रीका अन्य कर्मचारीहरूले ओयामालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। अनुसन्धानकर्ताहरूले ओयामाको सोही फ्याक्ट्रीसँग कुनै न कुनै सम्बन्ध रहेको विश्वास गरेका छन्, यद्यपि उनको वास्तविक पेशा भने खुलिसकेको छैन।
गाडीको टायर उत्पादन गर्ने उक्त फ्याक्ट्री मिशिमा सिटी अफिसबाट करिब १ किलोमिटरको दूरीमा रहेको छ। सन् २०२४ को तथ्याङ्क अनुसार त्यहाँ करिब ९८० जना कर्मचारी कार्यरत छन्।



